काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी र तराईका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ । पहाडी र तराईका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । पहाडी क्षेत्र, कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र र डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology