देवदह । देवदह नगर कार्यपालिकाको 'विशेष' प्रथम बैठक बुधबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने २ करोड समपुरक बजेटको लागि योजना तर्जुमा गरि पठाउनुपर्ने र त्यसको लागि समय नभएको हुनाले कार्यपालिका पूर्ण नहुँदै प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको विशेष बैठक बसि निर्णय लिईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराज बेल्बासेले जानकारी दिए ।
प्रमुख प्रशासकिय अधिकृत बेल्बासेका अनुसार बैठकले शीत भण्डारको लागि एक करोड पचास लाख, नगरपालिकाको भवनमाथि ट्रस निर्माण गर्न १ करोड, खैरेनी बजारबाट नगरपालिका कार्यालय जाने बाटो बिस्तारका लागि ५० लाख, भलुहीबाट चरङ्गे जाने भित्री बाटोको नाली सहित कालोपत्रे गर्न ५० लाख र वडा नं. ११ मा बाटो पिच गर्न ५० लाख गरि ४ करोड बराबरको योजनाका लागि प्रदेश सरकारबाट २ करोड रकम माग गरेको छ । जसमा लाग्ने अर्को २ करोड नगरपालिकाले आफ्नो कोषबाट खर्च गर्नेछ ।
यद्यपि प्रथम कार्यपालिका बैठकको उक्त निर्णयहरू यो समाचार तयार गर्दासम्म पनि नगरपालिकाले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । नगरपालिकाको आधिकारिक फेसबूक पेजमा केहिदिन अघिको रक्तदान कार्यक्रमको सूचना अन्तिम सूचनाको रुपमा रहेको छ । नगरपालिकाको वेबसाईट ३ दिनदेखि खुलेको छैन । वेबसाइटमा "यस वेबसाइटको मर्मत कार्य जारी छ । हामी एकछिन पछि फर्किने छौँ" भन्ने सूचना देख्न सकिन्छ । उक्त सूचना ३ दिनदेखि देखिएको भएपनि त्यसबारे नगरपालिका नै बेखबर भएको बुझिएको छ । वेबसाइट बारे बुझ्दा प्रमुख प्रशासकीय अधिकृत बेल्बासेले आफुले वेबसाइट नहेरेको र सो बारे जानकारी नभएको बताए ।
यसरी औपचारिक जानकारी दिने माध्यमहरूमा कार्यपालिकाका निर्णयहरू अपडेट नभएपनि केहि वडाध्यक्ष लगायतले सामाजिक संजालमा कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरेपछि त्यस विषयमा देवदहका राजनीतिक दलका नेता तथा अन्य सरोकारवालाहरूले प्रश्न गरेका छन् ।
मुख्यतः नगरपालिकाको भवनमा १ करोड रकम खर्चिएर ट्रस बनाउँने निर्णयमाथि स्थानीयले प्रश्न उठाएका छन् । ट्रसको आवश्यकता र त्यसको निर्माणको लागि १ करोड रुपैया खर्चिनु सहि भएको र नभएको भन्दै सामाजिक संजालमा छलफल भएको छ ।
सामाजिक संजालमा लेख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानु तिवारीले नवनिर्मित नगरपालिका भवनको माथि एक करोडको ट्रस निर्माण गर्नुपर्ने बाध्यता के हो ? आम नागरिकलाई जानकारी होस् भनेका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी कै अर्का युवा नेता तोयानाथ लम्सालले नवनिर्मित नगरपालिका भवनको माथि एक करोडको ट्रस निर्माण गर्नुपर्ने निर्णय शंकास्पद भएको हुँदा नगरपालिकाबाट सत्यतथ्य केहो नगरवासीलाई जानकारी गराइयोस भनेका छन् ।
यता नगरपालिकाको निर्णयको समर्थन गर्दै नगरपालिकाकै कर्मचारी समेत रहेका एफ पि बगालेले सामाजिक संजाल फेसबूकमा आफ्नो भनाइ राखेका छन् । आत्तिएर नकारात्मक टिप्पणी नगर्न अनुरोध गर्दै उनले नगरपालिकाको भवनलाई चुहिनबाट बचाउँन र होटेलमा कार्यक्रम गर्दा हुने खर्च कम गरि नगरपालिकाको आफ्नै सभाहल बनाउन ट्रस आवश्यक रहेको धारणा राखेका छन् ।
सोही विषयमा हामीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बेल्बासेसंग बुझ्दा उनको भनाई पनि भवन चुहिने समस्याको अन्त्य गर्न र व्यवस्थित सभाहल निर्माणको लागि ट्रस अनिवार्य भएको बताए । उनको भनाइमा हामीले नगरपालिकाको भवन पुरानो होइन, यति छिट्टै नयाँ भवन चुहिने अवस्था कसरी आयो भन्ने प्रश्न गर्दा उनले चुहिने भन्दा पनि पुरानो मोडेलमा भवन बनेको हुनाले हावा सहितको पानी पर्दा बाछिटो कोठाभित्र पस्ने समस्याको समाधान खोज्नैपर्ने अवस्था आएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology