काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माध्यमिक विद्यालय, बेतहा भवानीपुर मा माध्यमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत गुञ्जेश्वर मण्डलले पेस गरेका उच्च शिक्षा र स्नातक तहका शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीपछि अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा मण्डलले शिक्षक नियुक्तिका बेला भारतस्थित बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट विज्ञान विषयमा उच्च माध्यमिक तह (आई.एस्सी.) तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भन्दै झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको खुलेको अख्तियारले जनाएको छ ।
ती नक्कली प्रमाणपत्रका आधारमा उनले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिई सरकारी ओहदा, तलब, भत्ता तथा अन्य सुविधा प्राप्त गरेको अनुसन्धानबाट देखिएको आयोगको भनाइ छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही व्यवस्थाअनुसार कैद र जरिवानाको माग गर्दै अख्तियारले बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology