Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

एआई चिपको उच्च मागले सामसङको नाफामा १९ गुणा वृद्धि हुने अनुमान

एआई चिपको उच्च मागले सामसङको नाफामा १९ गुणा वृद्धि हुने अनुमान

images
  • एआई चिपको उच्च मागले सामसङको नाफामा १९ गुणा वृद्धि हुने अनुमान
    images
    images

    काठमाडौं । दक्षिण कोरियाको प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले कृत्रिम बुद्धिमत्ता (एआई) का लागि प्रयोग हुने स्मृति चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा आफ्नो सञ्चालन नाफा करिब १९ गुणाले बढ्ने अनुमान सार्वजनिक गरेको छ ।

    images
    images
    images

    कम्पनीले अप्रिलदेखि जुनसम्मको अवधिमा करिब ८९.४ ट्रिलियन वन (करिब ५८ अर्ब ४० करोड अमेरिकी डलर) सञ्चालन नाफा हुने प्रक्षेपण गरेको छ । यो लगातार तेस्रो पटक कम्पनीले रेकर्ड त्रैमासिक सञ्चालन नाफा हासिल गर्ने अनुमान हो ।

    images
    images
    images

    पूर्ण वित्तीय विवरण सार्वजनिक गर्नुअघि लगानीकर्तालाई कम्पनीको अवस्थाबारे जानकारी दिन दक्षिण कोरियाका प्रमुख कम्पनीहरूले प्रारम्भिक आय प्रक्षेपण सार्वजनिक गर्ने परम्परा छ । सामसङले मंगलबार सार्वजनिक गरेको यही प्रारम्भिक विवरणअनुसार सो अवधिमा कम्पनीको बिक्री १७१ ट्रिलियन वन पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो ।

    images
    images
    images

    बजार विश्लेषकहरूको भनाइमा कृत्रिम बुद्धिमत्ताको तीव्र विस्तारसँगै स्मृति चिपको माग ऐतिहासिक रूपमा बढेको छ । आपूर्ति मागअनुसार हुन नसक्दा चिपको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ । यही कारण सामसङले आफ्ना स्मृति चिपको मूल्य पनि बढाएको छ ।

    अनुसन्धान संस्था आईडीसीका अनुसार डाटा केन्द्र र कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारका लागि आवश्यक अर्धचालकको माग विगतको तुलनामा असाधारण रूपमा बढेको छ । यसले मोबाइल फोन, कम्प्युटरलगायत दैनिक प्रयोगका विद्युतीय उपकरणमा प्रयोग हुने चिपको आपूर्तिसमेत प्रभावित बनाएको छ । संस्थाले आगामी वर्षभर पनि चिपको आपूर्ति दबाबमा रहने अनुमान गरेको छ ।

    सामसङ विश्वकै ठूलो अर्धचालक उत्पादकमध्ये एक हो । कम्पनीले एनभिडिया र गुगल जस्ता विश्वव्यापी प्रविधि कम्पनीका लागि पनि चिप उत्पादन गर्दै आएको छ । यद्यपि अपेक्षाभन्दा अझ बढी नाफा हुने अनुमान गरेका केही लगानीकर्ताको निराशाका कारण मंगलबार सियोल शेयर बजारमा सामसङको शेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ ।

    यस वर्षको सुरुदेखि सामसङको बजार मूल्य दोब्बरभन्दा बढी बढिसकेको छ भने दक्षिण कोरियाकै प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सको बजार मूल्य २०० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । यी दुई कम्पनीको मजबुत प्रदर्शनका कारण दक्षिण कोरियाको प्रमुख शेयर परिसूचक कोस्पी पनि यस वर्ष ८० प्रतिशतभन्दा बढी उकालो लागेको छ ।

    यसैबीच, दक्षिण कोरिया सरकारले जुन महिनामा सामसङ र एसके हाइनिक्सको नेतृत्वमा आगामी वर्षहरूमा चिप उद्योग विस्तार गर्न ८८० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको थियो । उता जापान, चीन र ताइवानका कम्पनीहरूले पनि कृत्रिम बुद्धिमत्तासम्बन्धी चिपको बढ्दो माग पूरा गर्न नयाँ उत्पादन केन्द्रमा ठूलो लगानी गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एआई चिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।