Logo

२०८३, आश्विन ९गते


images
images

फिफा विश्वकप

रातो कार्ड पाएका अमेरिकी फरवार्ड बालोगुनमाथि प्रतिबन्ध नलाग्ने, ट्रम्पले हस्तक्षेप गरेको आरोप

रातो कार्ड पाएका अमेरिकी फरवार्ड बालोगुनमाथि प्रतिबन्ध नलाग्ने, ट्रम्पले हस्तक्षेप गरेको आरोप

images
  • रातो कार्ड पाएका अमेरिकी फरवार्ड बालोगुनमाथि प्रतिबन्ध नलाग्ने, ट्रम्पले हस्तक्षेप गरेको आरोप
    images
    images

    काठमाडौँ । अमेरिकाका फरवार्ड फ्लोरिन बालोगुनमाथि लगाइएको निलम्बन फिफाले एकाएक स्थगित गरेपछि विश्व फुटबलमा विवाद चर्किएको छ ।

    images
    images
    images

    फिफाको अनुशासन संहिताअनुसार गम्भीर फाउलका लागि रातो कार्ड पाउने खेलाडीलाई कम्तीमा दुई खेलको प्रतिबन्ध लाग्नुपर्ने व्यवस्था छ । विश्वकपका नियमअनुसार रातो कार्डविरुद्ध अपिल गर्ने अधिकारसमेत टोलीलाई हुँदैन ।

    images
    images
    images

    यद्यपि फिफाले बालोगुनको प्रतिबन्ध स्थगित गर्ने निर्णय सार्वजनिक गर्दा कुनै कारण वा विस्तृत व्याख्या दिएको छैन । उसले केवल अनुशासन संहिताको धारा २७ उल्लेख गर्दै उक्त धाराअन्तर्गत अनुशासनात्मक कारबाही पूर्ण वा आंशिक रूपमा स्थगित गर्न सकिने जनाएको थियो ।

    images
    images
    images

    यो व्यवस्था निकै फराकिलो भएकाले फिफालाई विशेष परिस्थिति देखाएर निर्णय गर्ने अधिकार दिन्छ । तर विश्वकपको अनुशासन प्रणालीको आधारभूत सिद्धान्त नै रातो कार्डमा अपिल गर्न नपाइने भएकाले आयोजक राष्ट्रका प्रमुख खेलाडीका लागि किन विशेष व्यवस्था गरियो भन्ने प्रश्न उठेको छ ।

    बालोगुनमाथिको रातो कार्ड र त्यसपछि लागेको प्रतिबन्धले अमेरिकामा ठूलो विवाद निम्त्याएको थियो । अमेरिकी सञ्चारमाध्यमले उनले बोस्नियाविरुद्धको खेलको अन्तिम २७ मिनेट गुमाउनुका साथै बेल्जियमविरुद्धको खेल पनि गुमाउनुपर्ने भएकाले दोहोरो सजाय भएको टिप्पणी गरेका थिए ।

    अमेरिकी प्रशासनबाट समेत दबाब परेको दाबी गरिएको छ। विदेशमन्त्री मार्को रुबियोले रातो कार्डको निर्णय अन्यायपूर्ण भएको बताउँदै अपिलको व्यवस्था हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए । त्यसबेला पनि फिफाले अचानक प्रतिबन्ध हटाउने निर्णय गर्ला भन्ने अपेक्षा धेरैले गरेका थिएनन् ।

    प्रतिबन्ध स्थगित भएपछि बालोगुन बोस्नियाविरुद्ध केही समय मैदानबाहिर बसेपछि पुनः खेल्न योग्य बनेका छन् ।

    अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोस्नियाविरुद्धको खेलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर बालोगुनको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेको दाबी गरेका छन् । यद्यपि यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

    ट्रम्पले सामाजिक सञ्जालमार्फत फिफाले ठूलो अन्याय सच्याएको भन्दै धन्यवादसमेत दिएका छन् । यदि ती दाबी सत्य ठहरिए राजनीतिक हस्तक्षेपबारे थप प्रश्न उठ्ने निश्चित देखिन्छ । फिफाको विधानले फुटबलमा राजनीतिक हस्तक्षेपलाई स्पष्ट रूपमा निषेध गरेको छ ।

    यसअघि पनि फिफाको आचार समितिसमक्ष इन्फान्टिनोविरुद्ध राजनीतिक तटस्थता उल्लङ्घन गरेको आरोपमा अनुसन्धानको माग गरिएको थियो । त्यसैले अमेरिकी प्रशासनको प्रभाव परेको प्रमाणित भए फिफामाथि थप दबाब पर्ने सम्भावना छ ।

    फिफाले बालोगुनको निर्णयबारे कुनै स्पष्ट कारण नदिए पनि प्रतियोगिताअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथिको स्थगित प्रतिबन्धको उदाहरण देखाएको थियो । रोनाल्डोले छनोट चरणमा रातो कार्ड पाएपछि तीन खेलको प्रतिबन्ध पाउनुपर्ने अवस्था थियो । उनले एउटा खेल मात्र गुमाए भने बाँकी दुई खेलको प्रतिबन्ध स्थगित गरिएको थियो । तर त्यो निर्णय विश्वकपको खेलमा नभई छनोट चरणको घटनासँग सम्बन्धित थियो । रोनाल्डोको हकमा फिफाले उनको लामो अन्तर्राष्ट्रिय यात्रामा रातो कार्डको इतिहास नरहेको कारणसमेत सार्वजनिक गरेको थियो । तर बालोगुनको हकमा त्यस्तो कुनै स्पष्टीकरण दिइएको छैन । यसले निर्णय किन गरियो, कुन आधारमा गरियो र कसले अन्तिम निर्णय गर्‍यो भन्ने विषयमा फिफा माथि प्रश्न उठाएको छ ।

    बालोगुनलाई खेल्न अनुमति दिइएपछि बेल्जियम फुटबल सङ्घले आश्चर्य व्यक्त गर्दै आधिकारिक विरोध जनाएको छ । सङ्घले प्रतियोगिताका नियमअनुसार रातो कार्ड पाउने खेलाडी अर्को खेलमा स्वतः निलम्बित हुनुपर्ने उल्लेख गर्दै फिफाले अनुशासन संहितालाई प्रयोग गरेर प्रतियोगिताकै नियममाथि निर्णय गरेको आरोप लगाएको छ । बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले व्यङ्ग्य गर्दै जुलाई ५ अप्रिल १ जस्तै भएको टिप्पणी गरे । उनले आफूहरू केवल राष्ट्रिय टोलीको होइन, सम्पूर्ण फुटबलको निष्पक्षताको पक्षमा उभिएको बताए ।

    कतारका आसिम मादिबोलाई क्यानडाका इस्माएल कोने घाइते भएको घटनापछि पाँच खेलको प्रतिबन्ध दिइएको थियो । त्यस घटनामा मादिबोले जानाजानी खतरनाक चुनौती नदिएको तर्क भए पनि फिफाले थप कडा सजाय सुनाएको थियो । यसको तुलना गर्दा बालोगुनको प्रतिबन्ध हटाइएको निर्णयले समान मापदण्ड अपनाइएको हो कि होइन भन्ने प्रश्न उठेको छ ।

    बालोगुनको चुनौती कठोर देखिए पनि धेरै विश्लेषकले त्यो दुर्घटनावश भएको बताएका छन् । तर दुर्घटनावश भएको भन्दै प्रतिबन्ध हटाउने हो भने भविष्यमा यस्तै घटनामा पनि समान व्यवहार गर्नुपर्ने दबाब फिफामाथि पर्नेछ ।

    बालोगुनको प्रतिबन्ध स्थगित गर्ने निर्णयलाई प्रतियोगिताकै विश्वसनीयतामाथि प्रश्न उठाउने कदम भएको भन्दै विश्वभर आलोचना शुरु भएको छ । ठूला खेलाडीलाई प्रतियोगितामा राख्न नियम परिवर्तन गरिनु उचित होइन र यसले धेरै समर्थकमा असन्तुष्टि पैदा गरेको टिप्पणी भइरहेको छ ।

    विश्वकपमा पहेँलो कार्ड, भिडियो सहायक निर्णायकको प्रयोग तथा नयाँ नियमको व्याख्यालाई लिएर यसअघि पनि विभिन्न घरेलु लिगमा चिन्ता व्यक्त हुँदै आएको थियो । अब बालोगुनको घटनापछि घरेलु प्रतियोगितामा पनि यस्तै दयालु व्यवहार किन नअपनाउने भन्ने बहस थप चर्किने देखिएको छ ।

    विश्वकपको अन्तिम १६ को प्रतिष्पर्धामा अमेरिकाले भोली बिहान बेल्जियमको सामना गर्दैछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रातो कार्ड
  • # बालोगुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।