देवदह । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम बुधवार सार्वजनिक भयो । मत परिणाम अनुसार देवदहको मेयर पदका १७ उम्मेदवारमध्य नेकपा एमालेका ध्रुब खरेल र उपमेयर पदका ८ उम्मेदवार मध्य एमालेकै विद्यालक्ष्मी गुरुङ विजयी भएकी छन् ।
प्रमुख र उपप्रमुखमा कुन उम्मेदवारले कति मत पाए ?
प्रमुख पदमा एमालेका ध्रुब खरेलले १२९४३ मत प्राप्त गरे । उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार हिरा बहादुर खत्रीले ११३२३ मत ल्याए । खत्रीलाई पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार माधव रिमालले ५४५१ मत प्राप्त गरे ।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनकि सिर्जना गुरुङले ४६२ मत प्राप्त गर्दा राष्ट्रिय जनमुक्ति पार्टीका डम्बरबहादुर थापा मगरले ३८३ मत पाए भने जनमत पार्टीका सतई मल्लाहले ३५९ मत प्राप्त गरे ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार छवि भट्टराईले २५८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार सुरज भट्टराईको चुनाव चिन्ह लौरोमा २०८ मत खस्यो । यद्यपि सुरज भट्टराई चुनाव प्रचारमा हिडेको देखिएको थिएन । निर्वाचन प्रचारप्रसारमा उनी आफू सम्बद्ध दल नेकपा एमाले कै चुनावी प्रचारमा हिडेको देख्न सकिन्थ्यो । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहको 'क्रेज' बढिरहँदा देवदहमा पनि त्यसको प्रभावले मतदाता लौरो चिन्हमा आकर्षित भएको अनुमान गर्न सकिन्छ ।
त्यसैगरी नेपाल दलित पार्टीका उम्मेदवार निर्मल दमाईले १२८ मत पाए भने राष्ट्रिय जनमोर्चाका मुक्त बहादुर मगरको चिन्ह गिलासमा १०७ मत खस्यो ।
अन्य स्वतन्त्र उम्मेदवारहरू हुमनाथ अर्यालले ५६, अर्जुन कुमार गुरुङले ३५, सुरज बस्यालले १२, विष्णु प्रसाद वाग्लेले ८, हुम बहादुर सारूले ३, अनिता नेपालले ३ र देवराज ढकालले शून्य मत प्राप्त गरे ।
यद्यपि स्वतन्त्र उम्मेदवारहरूमध्य धेरै उम्मेदवार 'डमी' रहेको बुझ्न सकिन्छ । निर्वाचनको दिन सवारी परिचालन गर्न, मतदान केन्द्र र मत गणनामा धेरै प्रतिनिधि खटाउन राजनीतिक दलहरूले यसप्रकारका 'डमी' उम्मेदवार खडा गर्ने गर्दछ्न ।
यता उपमेयर तर्फ १३७३४ मत ल्याएर नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्रकी उम्मेदवार सुन्दरी गिरिले ७२९० मत प्राप्त गरिन् ।
यद्यपि सबैभन्दा धेरै मत उपमेयरमा बदर भएको छ । निर्वाचन कार्यालयबाट प्राप्त जानकारी अनुसार उपप्रमुखमा ८७१५ मत बदर भएको छ । जसमध्य अधिकांश मत कांग्रेस माओवादी गठबन्धनको भएको बुझ्न सकिन्छ । दुई पार्टीविच गठबन्धन भएर कांग्रेसबाट उपप्रमुखको उम्मेदवारले मनोनयन फिर्ता लिएपनि मतदाताले भुलबस रुख चिन्हमै मतदान गरेका थिए । गठबन्धनकि उम्मेदवार गीरीले प्राप्त गरेभन्दा धेरै मत बदरभएकै कारण उनी प्रतिस्पर्धामा निकै पछाडि परेको मतगणनामा रहेका प्रतिनिधिहरू बताउँछन् ।
उपप्रमुखमा मत बदरकै कुरा गर्दा माओवादी केन्द्रका कार्यकर्ता एवं समर्थक भने गठबंधनमा नेपाली कांग्रेस इमानदार देखिएर उपमेयरमा रुखको सट्टा हसिया हथौड़ामा मतदान गर्न आफ्ना कार्यकर्तालाई प्रशिक्षित गरेको भए ठूलो संख्यामा मत बदर नहुने र आफ्नो उम्मेदवार पराजित हुने अवस्था नआउने बताउँछन् ।
त्यसैगरी उपप्रमुख पदमा राप्रपाकि उम्मेदवार निर्मला जीसीले ४४८१ मत प्राप्त गरेकी छन्, भने मंगोल नेशनलका ईन्द्र बहादुर श्रेष्ठले ५१७ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका उम्मेदवार सरस्वती पोखरेलेले ४५७ मत प्राप्त गर्दा जनमत पार्टीकि आरती मल्लाहले ३७६ मत प्राप्त गरेकी छन् । नेपाल दलित पार्टीका जमुन निशा मुसलमानको इनार चिन्हमा ११० मत खस्दा स्वतन्त्र उम्मेदवार प्रेम थापाको आँप चिन्हले २९२ मत पाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology