देवदह । पूर्वी क्षेत्र निजी विद्यालय एसोसिएसन (इप्सा) देवदह, रुपन्देहीले विद्यालयका सवारी चालक तथा सह–चालकहरूका लागि ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
देवदह–५, खैरेनीस्थित पाठक फुडल्याण्डमा आयोजित कार्यक्रममा विद्यालय सवारीसाधनको सुरक्षित सञ्चालन, ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरण तथा विद्यार्थीको सुरक्षित आवागमन सम्बन्धी विषयमा जानकारी गराइएको थियो ।
खैरेनी प्रहरी चौकीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा प्रहरी चौकीका इञ्चार्ज भिमसेन बिष्टले विद्यालय सवारीसाधनमा हुन सक्ने यौन दुर्व्यवहार रोकथामका विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी खैरेनीस्थित ट्राफिक प्रहरी कार्यालयका प्रमुख नन्दबहादुर शाहीले ट्राफिक सचेतना, चालकको जिम्मेवारी, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित ड्राइभिङका व्यवहारिक पक्षबारे प्रशिक्षण दिएका थिए ।
यसअघि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले विद्यालय सवारी चालकको जिम्मेवारी र उनीहरूप्रति अभिभावकको भरोसाबारे चर्चा गरे । एउटा अभिभावकका लागि विद्यालयको सवारीसाधन पनि विद्यालय परिसरसरह हुने उल्लेख गर्दै उनले बालबालिकालाई जिम्मा लगाउने विद्यालयको पहिलो प्रतिनिधि चालक र सह–चालक नै हुने बताए ।
कार्यक्रममा इप्साका प्रमुख सल्लाहकार रामबहादुर गुरुङ तथा सल्लाहकार बोधराज गौडेलले विद्यालय सवारीसाधन रोक्ने तथा विद्यार्थी चढाउने–ओराल्ने स्थान निश्चित हुनुपर्ने, चालक तथा सह–चालकको पोशाक निर्धारण गरिनुपर्ने लगायतका विषय उठाउँदै विद्यालय सञ्चालनमा सवारी चालकको महत्वपूर्ण भूमिकाबारे चर्चा गरे ।
सो अवसरमा सेतोमसी डटकमले विद्यालयका सवारीसाधनमा टाँस्नका लागि ‘हरेक सिटमा एउटा सपना बसिरहेको हुन्छ’ भन्ने सन्देशसहित ट्राफिक नियम उल्लेख गरिएका स्टिकर इप्सालाई हस्तान्तरण गरेको थियो ।
स्टिकर हस्तान्तरण गर्दै सेतोमसी डटकमका सम्पादक विष्णुप्रसाद पोखरेलले विद्यालयका सवारी चालक आदर्श चालक हुनुपर्ने बताए । अन्य सवारी चालकभन्दा विद्यालयका चालक तथा सह–चालक बढी सचेत, जिम्मेवार र अनुशासित हुने अपेक्षा गरिने भएकाले सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो ।
इप्सा देवदह, रुपन्देहीका अध्यक्ष विनोद थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष टिकाराम चापागाईंले गरेका थिए भने सञ्चालन सचिव कमल पौडेलले गरेका थिए ।
कार्यक्रममा विभिन्न निजी विद्यालयका चालक तथा सह–चालकहरूको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology