बारा । जितपुरसिमरा उपमहानगरपालिका-१० नितनपुर चोकस्थित वीरगञ्ज-पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-१ का ४२ वर्षीय कमलेश यादव, उनकी ३४ वर्षीया श्रीमती रुबी यादव र १५ वर्षीया छोरी शिवानी यादव घाइते भएका छन् । त्यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका-१३ का ६४ वर्षीय रामनरेश प्रसाद, सप्तरी कञ्चनरुप नगरपालिका-१ का ४७ वर्षीय सहचालक नरेश पंजियार, पर्सा पकाहा मैनपुर गाउँपालिका-५ का २८ वर्षीय धनञ्जय प्रसाद चौरसिया, पर्सा बहुदरमाई नगरपालिका-२ की ३४ वर्षीया सुनिता यादव, सिराहा कर्जन्हा नगरपालिका-११ का ६२ वर्षीय चिनीलाल श्रेष्ठ, बारा जितपुरसिमरा उपमहानगरपालिका-३ का ४० वर्षीय चन्द्र तामाङ, रौतहट चन्द्रपुर नगरपालिका-६ की ४५ वर्षीया दिपा घिमिरे तथा ठेगाना नखुलेका करिब ४० वर्षीय अमित कुमार गुप्ता घाइते भएका छन् ।
घाइतेहरूको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज, तराई अस्पताल तथा अन्य स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
बस चालक घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology