भैरहवा । स्वस्थ जीवनशैली, स्वास्थ्य सचेतना र स्वास्थ्य पर्यटनको प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउने उद्देश्यले लुम्बिनी प्रदेशमा विशेष ‘वेलनेस अवेयरनेस एण्ड वेलनेस टुरिजम प्रमोसन’ कार्यक्रम आयोजना हुने भएको छ ।
स्पा एसोसिएसन नेपाल, ट्रान्क्विलिटी स्पा तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा असार ५ गते साझको समयमा भैरहवास्थित सिद्धार्थ विलासमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई समग्र स्वास्थ्य, मानसिक शान्ति तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रमका संयोजक ज्योति पछाईले स्वास्थ्य सचेतना, योग, ध्यान, स्पा, प्राकृतिक उपचार तथा समग्र जीवनशैलीसँग सम्बन्धित पर्यटन गतिविधिलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिइन । उनका अनुसार पछिल्लो समय विश्वभर वेलनेस पर्यटनको आकर्षण बढिरहेका बेला लुम्बिनीमा रहेका सम्भावनालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
आयोजक संस्थाकी प्रतिनिधि श्वेता कपालीले नेपाल सरकारले अघि सारेको पर्यटन प्रवर्द्धन अभियानलाई सहयोग पुग्ने गरी कार्यक्रम केन्द्रित गरिएको बताईन । उनले स्वास्थ्य र पर्यटनलाई जोडेर नयाँ सम्भावनाको खोजी गर्ने तथा लुम्बिनीलाई वेलनेस गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको उल्लेख गरिन ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज अधिकारी को प्रमुख आतिथ्यता रहने जनाइएको छ । साथै लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकार, नागरिक समाजका अगुवा तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य पर्यटनको सम्भावना, वेलनेस उद्योगको विस्तार, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा लुम्बिनीलाई अन्तर्राष्ट्रिय वेलनेस हबका रूपमा विकास गर्न सकिने विषयमा छलफल गरिने बताइएको छ । कार्यक्रमपछि सहभागीबीच अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रमसमेत आयोजना गरिनेछ ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार धार्मिक पर्यटनका लागि विश्वमै परिचित लुम्बिनीलाई स्वास्थ्य तथा वेलनेस पर्यटनसँग जोड्न सके प्रदेशको पर्यटन उद्योगमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology