देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा जुनियर युवा रेडक्रस सर्कल र बुद्ध पब्लिक बाल क्लबको पुनर्गठनका लागि लोकतान्त्रिक विधिअनुसार मतदान प्रक्रिया सम्पन्न भएको छ ।
विद्यालयमा विद्यार्थीलाई मतदाता शिक्षा प्रदान गर्ने तथा आफ्नो मताधिकार प्रयोग गरी नेतृत्व चयन गर्ने उद्देश्यले शुक्रबार निर्वाचन कार्यक्रम सञ्चालन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले बताए ।
निर्वाचनमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी मतदाता रहेका थिए । अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, सहसचिव १, कोषाध्यक्ष १ र १९ सदस्यसहित कुल २४ पदका लागि मतदान गरिएको थियो ।
निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन दर्ता, प्रचारप्रसार, मौन अवधि तथा मतदाता शिक्षा लगायतका आवश्यक मापदण्ड पूरा गरी मतदान सम्पन्न गरिएको जनाइएको छ । मतदान कार्यको विद्यालयका प्रिन्सिपल, सहायक प्रिन्सिपल, तहगत इन्चार्ज तथा शिक्षक–शिक्षिकाले निरीक्षण गरेका थिए ।
जुनियर युवा रेडक्रस सर्कलतर्फ बलराम ज्ञवाली र बाल क्लबतर्फ प्रेमबहादुर खड्का निर्वाचन अधिकृत रहेका थिए । निर्वाचन अधिकृत ज्ञवालीका अनुसार कक्षा ६, ७, ८, ९ र १० का मतदातामध्ये करिब ९४ प्रतिशत मत खसेको छ ।
बाल क्लबका निर्वाचन अधिकृत खड्काले शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गरिने र साँझसम्ममा विजयी उम्मेदवारको घोषणा गरिने जानकारी दिए । विजयी उम्मेदवारलाई सोमबारको बिहानको प्रार्थना सभामा टीका तथा खादा लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना प्रदान गरिने कार्यक्रम रहेको उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology