देवदह । देवदह नगरपालिका वडा नं. ७ को वडाध्यक्ष पदका एक युवा उम्मेदवार - थानेश्वर लम्साल (एकलब्य) जो मतदातासंग मत माग्दै अन्य उम्मेदवार जस्तै घरदैलोमा जान्छन् । तर, उनी घरदैलो मात्रै गर्दैनन्, दिनहुुँ जसो भिडियो सुट गरेर सामाजिक संजालमा पोस्ट गर्छन् । जहाँ उनले आफ्नो उम्मेदवारी किन भन्ने कुरा भिडियो मार्फत पनि मतदातालाई प्रष्ट पार्ने प्रयत्न गरेको देख्न सकिन्छ ।
वि.स.२०४६ साल भदौमा जन्मिएका लम्सालले समाजशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । वि. सं. २०७२ मा देवदहमा संचालन भएको पहिलो औद्योगिक मेला तथा फुड फेस्टिवलमा सचिवालय संयोजकको जिम्मेवारीमा रहि कार्य सम्पादन गरेका लम्सालसंग ३ वर्ष देवदह टेलिभिजनको कार्यकारी सचिव र प्रबन्ध निर्देशक तथा २ वर्ष गुराँस मिडियाको प्रधान सम्पादक समेत भएर काम गरेको अनुभव छ ।
हाल उद्योग व्यापार संघ देवदहको महासचिव र व्यास आधारभुत विद्यालयको सामाजिक परिक्षक र लेखा संयोजक समेत रहेका लम्साल हरसम्भव आफुलाई फरक देखाउने प्रयत्न गरिरहन्छ्न ।
तपाईं दैनिक जसो फरक फरक प्रकृतिका भिडियो सुट गरिरहनुहुन्छ । के का लागि? मात्रै अरुभन्दा पृथक देखिनको लागि हो कि? साच्चै तपाईंलाई केही परिबर्तन गर्नुपर्छ भन्ने लागेर यो सब गरिरहनुहुन्छ भन्ने प्रश्नमा उनी आफुसंग वडालाई साँच्चै नमुना बनाउन सकिन्छ र अबको परिवर्तन वडास्तरबाटै गर्न जरुरी छ भन्ने लागेकोले निर्वाचनमा होमिएको बताउँछन् । राजनीति आफ्नो रोजाईको क्षेत्र नरहेको बताउँने उनी युवा र अलिकति शिक्षित वर्ग राजनीतिमा आउनैपर्छ भन्ने लागेर आफू होमिएको दाबी गर्छन् ।
गत निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिको कामबाट सन्तुष्ट हुन नसकेका उनी जनप्रतिनिधिको काम सिफारिस गर्ने, बैठक र अनुगमन भत्ता खानेमात्रै हो कि जस्तो देखिएको भन्दै उक्त प्रवृत्तिको अन्त्यका लागि आफुले मत मागिरहेको बताउँछन् ।
उनले नो ग्रावेल अर्थात् बलियो कालोपत्रे वा ५ बर्षे ग्यारेन्टी सहितको पार्किङ ब्लगले वडा अन्तर्गतका भित्री सडकहरू सिगार्ने धारणा अघि सारेका छन् । गाई भैसीलाई घाँसदेखि खोलाको बगरमा खर्बुजा रोप्ने, जंगलमा अदुवा, बेसार लगायतका बाली लगाउने, हरेक घरमा अनिवार्य १० वटा बिरुवा रोप्ने, वडाको आफ्नै नर्सरी राख्ने लगायतका एजेन्डा उनले अघि सारेका छन् ।
गत ५ बर्षमा नदिजन्य पदार्थको अप्राकृतिक र अनियन्त्रीत उत्खनन र दोहन आफ्नै आँखा हुँदा किन जनप्रतिनिधि मौन बसे त्यसको हिसाब खोज्न पनि आफ्नो उम्मेदवारी रहेको बताउने लम्सालको भनाइ छ । विगतमा ३ दिने र ७ दिने तालीमको नाममा लाखौं रुपैयाँ स्वाहा भएको तर त्यसले कुनै प्रतिफल नदिएको भन्दै उनी त्यसप्रकारका तालिमका लागि तालीम होइन, १०० जना युवालाई आवश्यक तालीम दिने र दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको उनी बताउँछन् ।
नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदको उम्मेदवार बनेका उनी पार्टी होइन, पात्र हेरौं, एक दिनको गल्तीले ५ बर्ष पुर्पुरोमा हात लैजानुपर्ने हुनसक्छ भन्दै आफुले जिते अस्वस्थ राजनीति हैन, अहिले मैदानमा आफ्ना प्रतिस्पर्धी रहेर चुनाव लडेका राजनीति दलका नेताहरूलाई सल्लाहकार बनाएर सबैको विचार र भावनालाई सम्बोधन गर्दै देवदह ७ लाई साँच्चै नमुना बनाउने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology