देवदह । ११ बुँदे घोषणापत्र जारी गर्दै तेस्रो देवदह मिडिया फेस्टिवल सम्पन्न भएको छ । देवदह प्रेस क्लब देवदहको आयोजनामा दुई सम्म चलेको फेस्टिवल शनिबार घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
फेस्टवलले शिक्षा, पर्यटन, वातावरण, बौद्ध सभ्यता तथा ग्रामिण पत्रकारिताको संरक्षण र प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएको छ ।
घोषणापत्रमा देवदह क्षेत्रको शिक्षा, पर्यटन, संस्कृति, कृषि, वातावरण तथा सामाजिक विकाससँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर समाचार तथा लेख प्रकाशन प्रसारण गर्ने,देवदहका विद्यालयमा विद्यार्थी आर्कसित गर्न पढ्न जाउँ देवदह अभियान सञ्चालनका लागि स्थानीय सरकारलाई सुझाब दिने, देवदहको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वलाई विश्वसामु परिचित गराउन अन्तरक्रिया, संवाद, सञ्चार अभियान तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने,सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला, अध्ययन अवलोकन भ्रमण तथा अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरीएको छ ।
त्यस्तैगरी बृहत देवदहको अवधारणामा बहस सुरु गर्ने, देवदह क्षेत्रमा बौद्ध दर्शन, संस्कृति तथा सभ्यताको संरक्षण र विस्तारका लागि बौद्ध भिक्षु, भिक्षुणी, लामा, आनी, बज्राचार्य तथा उपासक-उपासिकाको सहभागिता बढाउन पहल गर्ने, बुद्ध परिपथ कार्यान्वयनका लागि दवाव सृजना गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययन अध्यापनको वातावरण तयार पार्ने, जलवायु परिवर्तनका विषयमा खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्ने, ग्रामिण पत्रकारिताको संरक्षण, प्रवर्द्धन तथा स्थानीय सञ्चारमाध्यमको सबलीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने र निजि सञ्चारमाध्यममा पनि लोककल्याणकारी बिज्ञान उपलब्ध गराउनु पर्ने माग गर्ने बिषय समेटिएको छ ।
फेस्टवलमा स्थानीय पत्रकारीताको अवस्था र अबको बाटो, आजको लुम्बिनी बौद्ध विश्वविद्यालय र भोलिको देवदह, बृहत लुम्बिनीमा देवदहको स्थान, देवदहको विद्यालय शिक्षा अवस्था समस्या र समाधान, सामुदायिक वन पर्यापर्यटन र नागरिक सम्बन्ध बिषयमा प्यानल छलफल गरिएको थियो ।
छलफलमा देवदह नगरप्रमुख धुव्र प्रसाद खरेल, लुम्बिनी प्रदेशका पूर्व सांसद डा.कृष्ण न्यौपाने, लम्बिनी विश्वविद्यालयका पूर्व रजिस्टार तिलक आचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख आचार्य दयानिधि, देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्याल, देवदह नगरापालिकाका प्रवक्ता गणेश डुम्रे, नेपाल सरकारका पूर्व सह-सचिव गिरमान थापा, वरिष्ठ बन अधिकृत उमेश यादव, देवदह नगपालिकाका शिक्षा अधिकृत पर्शुराम ढकाल, शिक्षाविद् कृष्ण प्रसाद पौडेल, सामुदायिक विद्यालय परिवार देवदहका अध्यक्ष ऋषिश्वर अर्याल, पूर्वी क्षेत्र निजि विद्यालय परिवारका सचिव कृष्ण गैरे, सामुहदायिक बन उपभोक्ता महासंघ रुपन्देही अध्यक्ष सुमित्रा आचार्य, बन विज्ञ दल बहादुर गुरुङ, बुद्ध सामुदायिक बनका अध्यक्ष टेक बहादुर राना, पत्रकार दिपेन्द्र बडुवाल, अमृता अनमोल, विनोद परियारले प्यानल डिस्कसनमा सहभागी भएका थिए । कार्यक्रमको सहजिकरण निर्मल ढुङ्गाना, यम राना, राम बहादुर गुरुङ, पवन पौडेल र लक्षमण न्यौपानेले गरेका थिए ।
देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङले उद्घाटन गरेको कार्यक्रमको समापन, नगरप्रमुख ध्रुव खरेलले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology