देवदह । रुपन्देहीको देवदहमा तेस्रो देवदह मिडिया फेस्टिवल सुरु भएको छ । देवदह प्रेस क्लवको आयोजना र देवदहका विभिन्न संघसंस्थाको सहकार्यमा सुरु भएको कार्यक्रम अन्तर्गत शुक्रबारको पहिलो सेसनमा ‘आजको लुम्बिनी बौद्ध विश्वविद्यालय र भोलिको देवदह’ शिर्षकमा ‘प्यानल डिस्कसन’ भएको छ ।
कार्यक्रममा लुम्बिनी विश्व विद्यालयका पूर्व रजिष्टार तिलक आचार्य, बौद्ध दर्शनका अध्येता कृष्णप्रसाद पौडेल र देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले छलफल गरेका छन् । छलफलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको इतिहास, विश्वविद्यालयसँग देवदहको अपेक्षा र यसले देवदहको शिक्षा र पर्यटनमा पार्ने प्रभावका विषयमा वक्ताहरुले धारणा प्रस्तुत गरे ।
लुम्बिनी बौद्ध विश्व विद्यालय अन्तर्गत देवदहमा डिनको कार्यालय स्थापना गरि अध्ययन समेत भइरहेको जानकारी दिँदै पूर्व रजिष्टार आचार्यले बौद्ध विश्वविद्यालयको देवदह सेक्टरमा नेपालमै नभएको ड्रो पाइलटिङ् विषयको स्नातकोत्तर कक्षा सञ्चालन भईरहेको जानकारी दिए । आफु करिव १० बर्ष बौद्ध विश्वविद्यालयको नेतृत्वमा रहँदा देवदहलाई सधै अग्रभागमा राखेको स्मरण गराउँदै जग्गा व्यवस्थापनको समयदेखि नै आफु यहाँको शिक्षा र पर्यटनका लागि गम्भिर रहेको धारणा राखे । देवदह बौद्ध विश्व विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको उल्लेख गर्दै त्यसलाई बढाउन र स्थानीय स्तरबाटै भर्ना अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे ।

कार्यक्रममा नगर प्रवक्ता डुम्रेले नगरपालिकाले पर्यटन र शिक्षालाई महत्व दिएको बताउँदै त्यसलाई व्यवहारिक बनाउनका लागि वौद्ध विश्वविद्यालयको देवदह डिन कार्यालय माध्यम बन्न सक्ने विचार व्यक्त गरे । उनले वौद्ध दर्शन अध्ययनको लागि यस क्षेत्रका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुपर्ने र विद्यार्थी संख्या बढाउन विगतका बर्षमा नगरका वडाहरुले छात्रवृत्ति वितरणका कार्यक्रम गरेको बताए ।
अर्का वक्ता पौडेलले बौद्ध शिक्षा अध्ययनका हिसावले आफुपनि त्यसको विद्यार्थी भएकाले यो निकै व्यवहारिक भएको उल्लेल गरे । विहान उठ्ने र साँझ सुत्ने बेलासम्मका हरेक गतिविधिलाई यसले व्यवहारिकता प्रदान गर्ने पौडेलले दावी गरे ।
पहिलो सेसनको सहजिकरण देवदह प्रेस क्लवका सल्लाहकार रामबहादुर गुरुङले गरेका थिए । फेस्टिबलमा शुक्रबार दोस्रो सेसनको रुपमा ‘स्थानीय पत्रकारिताको अवस्था र अवको पाटो’ रहने छ भने शनिबार ३ वटा सेसनमा प्यानल डिस्कसन हुने आयोजकले जनाएका छन् । शनिबारको सेसनमा ‘देवदहको विद्यालय शिक्षा अवस्था, समस्या र समाधान’, ‘सामुदायिक वन पर्यटन र नागरिक सम्बन्ध’ तथा ‘बृहत्त् लुम्बिनीमा देवदहको स्थान’ विषयमा प्यानल डिस्कसन हुने बताइएको छ ।
यसअघि शुक्रबार मिडिया फेस्टिवलको उद्घाटन गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदहको कृषि, पर्यटन र शिक्षाको विकासमा मिडिया फेस्टिवलले महत्वपूर्ण भूमिका खेलेको बताईन् । फेस्टिवलको तेस्रो संस्करण सफलताको शुभकामना दिँदै उनले पहिलो मिडिया फेस्टिवलमा मकै विशेष र दोस्रोमा सिमी बालीलाई प्रवद्र्धन गर्नेगरी तत् स्थानमा कार्यक्रम गरि कृषिको प्रवद्र्धनमा क्लवले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे र पूर्व अध्यक्ष डि.आर घिमिरेले रुपन्देहीको पत्रकारीतामा देवदहको भुमिका स्थापित रहेको बताउँदै यहाँको पत्रकारीताले बुटवल र आसपासबाट पत्रकारीता गर्नेहरुका लागि समेत विषयवस्तु उठान गरिदिनेगरेको स्मरण गरे । पत्रकारीताको विकासमा स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्दै अवको पत्रकारीताले विकास र परिवर्तनलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।
देवदह प्रेस क्लवका अध्यक्ष विष्णुप्रसाद पोखरेलको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष तिलोचन दाहलको स्वागत र महासचिव निर्मल थापाको सञ्चालनमा भएको कार्यक्रममा देवदहको पत्रकारीताको विकासमा योगदान पुर्याएको भन्दै अग्रज पत्रकार विनबहादुर कुँवरलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology