बर्दघाट । बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर माथि उकास्ने लक्ष्यसहित शिक्षा सुधार अभियान अघि बढाएको छ । नगरका ३४ वटै सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) र शिक्षक अभिभावक संघ (शिअस) का पदाधिकारीहरूका लागि ‘विद्यार्थीको सिकाइ सुधारसम्बन्धी एकदिने अनुभव आदानप्रदान तथा अभिमुखीकरण कार्यक्रम’ गरिएको छ ।
समृद्ध समुदाय विकास केन्द्र नेपालको आयोजना, बर्दघाट नगरपालिकाको समन्वय तथा ‘Skoleliv i Nepal’ को आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा विद्यालय सुशासन, सिकाइ उपलब्धि र विद्यालय सुधार योजनाको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित छलफल भएको छ । सो क्रममा सहभागीहरूले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न व्यवस्थापन तहको भूमिका अझ सक्रिय, उत्तरदायी र परिणाममुखी हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले अबको शिक्षा सुधार अभियानको केन्द्रमा कमजोर सिकाइ भएका विद्यार्थीलाई राख्नुपर्ने स्पष्ट पारे । ‘सामुदायिक विद्यालयप्रति विश्वास कायम राख्ने हो भने परिणाम देखिनै पछ ।’ उनले भने, ‘व्यक्तिगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर विद्यार्थीको वास्तविक सिकाइ सुधारमा केन्द्रित हुन हामी सबै एकताबद्ध हुनुपर्छ ।’
नगर प्रवक्ता सन्त बहादुर गाहा मगरले विद्यालय व्यवस्थापन र नेतृत्वबीचको सहकार्यलाई सुधारको आधार बनाइनुपर्ने बताए । ‘प्रधानाध्यापक र व्यवस्थापन समितिबीच सुमधुर सम्बन्ध जरुरी छ ।’ उनले भने, ‘एकले अर्काको सहकार्य गरे मात्र सिकाइ बलियो हुन्छ ।’
त्यसैगरी शिक्षा शाखा प्रमुख डिल्लिराम ढुङ्गानाले विद्यालय सुधार योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए । ‘सुधार योजना बनाउँदा समितिहरू सक्रिय सहभागितामा जोडिनुपर्छ, ।’ उनले भने, ‘योजना कागजमा मात्र सीमित नरहोस्, कार्यान्वयनमा गम्भीर ध्यान दिनु आवश्यक छ ।’
कार्यक्रममा विद्यालय शिक्षासम्बन्धी नीतिगत तथा कानुनी पक्षबारे जानकारी दिँदै सुशासन प्रवद्र्धनमा समुदायको भूमिकालाई थप स्पष्ट पारिएको थियो ।
बर्दघाटमा यसअघि ८ वटा विद्यालयमा सुरु गरिएको परियोजनाले सकारात्मक नतिजा देखाएपछि अहिले यसलाई नगरका सबै ३४ वटै सामुदायिक विद्यालयमा विस्तार गरिएको हो । परियोजना अन्तर्गत वैशाख १५ गते नगरका सबै विद्यालयका बाल क्लब फोकल शिक्षकहरूका लागि बाल क्लब गठन, सञ्चालन तथा विद्यार्थी नेतृत्व विकाससम्बन्धी विशेष तालिम आयोजना गरिने आयोजक संस्थाका निर्देशक युवराज चापागाईले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology