देवदह । नेपाली कांग्रेसका देवदह नगर सभापति गुनाखर भुर्तेलले पार्टी परित्याग गरेका छन् । विशेष अधिवेशनलाई सर्बोच्च अदालतले मान्यता दिएपछि असहमति जनाउँदै उनले पदबाट राजीनामा दिएको समाजिक संजालमार्फत घोषणा गरेका हुन् ।
उनले विशेष अधिवेशन प्रक्रियागत रूपमा पारदर्शी र न्यायोचित नभई छलकपटपूर्ण ढंगबाट भएको आरोप लगाउँदै त्यसबाट घोषणा गरिएको नेतृत्व तथा समितिलाई मान्यता दिन असमर्थ रहेको बताएका छन् ।
पार्टीभित्र विभिन्न तहमा भएका गलत निर्णय र नेतृत्वको कमजोरीका कारण पटक–पटक निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै उनले ती निर्णयहरूमा आफ्नो संलग्नता नभएको अवस्थामा सम्पूर्ण जिम्मेवारी एक्लैले बोक्नु न्यायोचित नभएको बताएका छन् ।
“अरूबाट भएका कमजोरी र निर्णयको दोष एक व्यक्तिमाथि थोपार्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन,” उनले भनेका छन् ।
उनले विगतमा दुई पटकसम्म आफूलाई विश्वास गरी जिम्मेवारी दिने पार्टीका साथीहरू, मतदाता र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आफ्नो क्षमताअनुसार पार्टी र जनताको हितमा काम गरेको दाबी गरेका छन् ।
राजीनामा निर्णय आवेगमा नभई आत्ममन्थन र परिस्थितिको यथार्थ मूल्याङ्कनपछि लिएको स्पष्ट पार्दै उनले पार्टीभित्र देखिएका गलत प्रवृत्तिको जिम्मेवारी आफूले लिन नसक्ने बताएका छन् ।
वि.सं. २०४६ सालदेखि पार्टीमा सक्रिय रहेको उल्लेख गर्दै उनले आफ्नो योगदानप्रति आउने जस वा अपजस स्वीकार गर्ने बताएका छन् । अब स्वतन्त्र रूपमा रहँदै समाज र देशप्रति जिम्मेवारी निर्वाह गर्ने उनको भनाइ छ ।
उनले आफ्नो राजीनामा प्रदेश कार्यसमितिमा औपचारिक रूपमा बुझाउने जनाएका छन् ।
राजिनामा बारे थप बुझ्न सेतोमसीले सम्पर्क गर्दा उनको फोन उठेन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology