देवदह । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–४ घिउखोलास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरीका अनुसार शनिवार बिहान करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट गुडिरहेका लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको हो ।
दुर्घटनापछि पिकअप सडक छेउमै रोकिएको, बस करिब २०० मिटर र ट्रक करिब १०० मिटर तल खसेका थिए । घटनापछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको ८५ जनाको टोलीले उद्दार कार्य गरेको प्रहरी जनाएको छ ।
घाइतेमध्ये ३ जनालाई जिल्ला अस्पताल परासी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये रोल्पा बागमारा बस्ने २५ वर्षीय गोबिन बुढा रहेका छन् भने अन्य दुई जनाको परिचय खुल्न सकेको छैन । तीनै जनाको शव जिल्ला अस्पताल परासीको शवगृहमा राखिएको छ ।
दुर्घटनामा घाइते भएका अधिकांशलाई चिसापानी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । केही घाइतेको अवस्था मध्यम रहेको र एक जना अज्ञात महिलाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यस्तै, उद्दारका क्रममा इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी सहायक निरीक्षक कमल प्रसाद आचार्य घाइते भएका थिए । सामान्य उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
हाल सडक अवरुद्ध नभएको र दुर्घटनामा संलग्न सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology