देवदह । देवदह क्षेत्रमा वृहत श्रामणेर प्रव्रज्या धम्मयात्रा सञ्चालन हुने भएको छ । बुधवार देवदहमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था देवदह बौद्ध बिहारले चैत १३ गते धम्मयात्र देवदह आउने जनाएको छ ।
नेपाल भिक्षु महासंघ, धम्मकाय फाउण्डेशन लगायत करिब २० वटा संस्थाको सहयोग तथा देवदह बौद्ध बिहार देवदह–५ र बौद्ध शान्ति स्तूप देवदह–३ को समन्वयमा धर्मयात्रा सञ्चालन हुन लागेको हो । कार्यक्रममा नेपाल, थाइल्याण्ड, भारत र श्रीलङ्काका भिक्षु, उपासक तथा उपासिकाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । थाइल्याण्ड, श्रींलका, नेपाल लगायत विभिन्न देश करिब १५० भिक्षु, भिक्षुणी सहभागी हुने देवदह बौद्ध बिहारका अध्यक्ष भविन्द्र प्रसाद थापाले जानकारी दिए ।
धर्मयात्रा देवदह बौद्ध विहार पानवारी देवदह–५ बाट बिहान अरुण भोजनपछि सुरु भई खैरेनी, शीतलनगर, यशोधरा भिक्षुणी विहार, भवानीपुर मायादेवी मन्दिर हुँदै बौद्ध शान्ति स्तूप सेमरहनासम्म पुग्ने कार्यक्रम रहेको छ । धर्मयात्रामा सहभागी भिक्षु तथा श्रामणेरहरूलाई दिवा भोजनको व्यवस्था गरिने र त्यसपछि विदाइ गरिने कार्यक्रम तय गरिएको छ ।
आयोजकका अनुसार धर्मयात्राले देवदहको ऐतिहासिकता विश्वभर फैलाउने, बौद्ध दर्शन, शिक्षा र धर्मको प्रचार गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने, मैत्रीपूर्ण समाज निर्माणमा सहयोग गर्ने तथा यहाँका पुरातात्तिक स्थलको संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखिएको छ ।
पत्रकार भेटघाटमा देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल लगायतको उपस्थिति थियो । वडा अध्यक्ष अर्यालले धम्म यात्राको लागि आवश्यक वजेटको व्यवस्थापन नगरपालिका र वडा कार्यालयले गरेको जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology