लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीबाट सुरू भएको धम्म यात्रा देवदहबाट रामग्रामतर्फ अघि बढेको छ । शनिबार लुम्बिनीबाट सुरू भएको यात्रामा २५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरु सहभागी छन् ।
आइतबार बिहान देवदहमा धम्मयात्रीहरूलाई देवदह नगरपालिकाको टिमले स्वागत गरेको थियो । पानबारीस्थित बौद्ध विहारमा भोजन गरि धम्मयात्रा नवलपरासी तर्फ अघि बढेको देवदह नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
शनिबार श्रामणेरहरूलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी विदाई गरेका थिए ।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराईएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई निकै महत्वपूर्ण मानिने र समुदायतहसम्म बौद्ध शिक्षालाई पूर्याउन यात्रा महत्वपूर्ण हुने जनाईएको छ ।
अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्नेछ ।
बुद्धको जन्मस्थल लुम्बिनी, मावली देवदह र बुद्धको अस्तुधातु रहेको स्थान रामग्रामलाई जोड्ने धम्मयात्रा महत्वकासाथ हेरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology