देवदह । लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री विर बहादुर रानाले देशलाई कलाको माध्यमले चिनाउनको लागि प्रस्तरकला कार्यशाला महत्वपूर्ण रहेको बताए ।
आइतबार रुपन्देहीको देवदहमा जारी दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशालाको अवलोकन गर्दै मन्त्री रानाले देशमा रहेका पर्यटकीय स्थलहरुको समग्र बिकास गर्न सकेमा त्यसले पर्यटनको माध्यमबाट जीवनस्तर माथि उठाउन सकिने बताएका हुन । रानाले पर्यटन क्षेत्रको प्रवद्र्धन हुने हरेक कार्यक्रमहरुमा सहयोग, समन्वय र सहजीकरण गर्न प्रदेश सरकार सदैव तयार रहेको बताए ।
कार्यशालाको अवलोकन गर्दै लुम्बिनी प्रदेशका सांसद डा. कृष्ण न्यौपानेले महामानव गौतम बुद्धको मावली क्षेत्र देवदहमा प्रस्तरकलाको माध्यमबाट इतिहासलाई सात्क्षात्कार गर्ने काम भएको बताउँदै यसले विश्वभरका पर्यटकहरुलाई गौतम बुद्धको जन्मस्थान तथा मावली क्षेत्रको बारेमा जानकारी दिने बिश्वास व्यक्त गरे । सांसद न्यौपानेले कार्यशालाले नेपालमा रहेको प्रस्तरकलाको कलाकारीता प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । न्यौपानेले प्रदेश सरकारबाट यस पटक ५ लाख बजेट बिनियोजन गरिएको जानकारी दिँदै आगामी दिनमा पनि प्रदेश सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
अवलोकनमा लुम्बिनी प्रदेशका राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठ, देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री, सञ्चारकर्मी तथा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology