विष्णु पोखरेल, देवदह । प्राचिन कोलीयराज्यको राजधानी देवदह नेपालको लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह बुद्धको मावलीस्थलको रुपमा प्रशिद्ध रहेको छ । नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गा. वि. स. मिलेर देवदह नगरपालिका संचालनमा आएकोमा २०७३ फाल्गुन २७ गते साविकको सिक्टहन गा. वि. स. समेत थप भइ हालको देवदह नगरपालिका बनेको हो ।
कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको तथा विभिन्न जातजातीहरुको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रुपमा देवदह रहेको छ । देवदह नगरपालिका पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा बुटवल उप महानगरपालिका तथा तिलोत्तमा नगरपालिका, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा ओमसतिया गाउँपालिकाले घेरिएको देवदह नगरपालिका १३५.९५ वर्ग कि. मि. क्षेत्रफलमा फैलिएको छ ।
देवदहमा गौतम बुद्धकी माता मायादेवी, मायादेवीको मृत्युपश्चात बुद्धलाई पालनपोषण गर्ने प्रजापति गौतमी तथा गौतम बुद्धकी पत्नी यशोधरासंग जोडिएका पुरातात्त्विक सम्पदाहरू रहेका छन् । जसको उत्खननको कार्य अझै सकिएको छैन ।
त्यसैगरी पछिल्ला दिनहरूमा देवदहमा बौद्धकालीन सम्पदाहरूको झझल्को दिने गरि पार्कहरू समेत निर्माण गरिएका छन् । अत्यधिक बनक्षेत्र रहेको देवदहमा 'एक सामुदायिक बन, एक पार्क' को अवधारणालाई समेत लागू गर्ने प्रयत्न हुँदै आएको छ । त्यसो हुन सके देवदह बुद्धको मावलीमात्रै नभएर 'पार्कहरूको नगर' ले समेत चिनिन सक्ने देखिन्छ ।
प्रस्तुत छ, देवदहका १२ वटै वडामा रहेका पर्यटकिय क्षेत्रहरूबारे छोटो चर्चा :
देवदहको वडा नं. १ मा ऎतिहासिक विर्ता बजार रहेको छ । यो देवदह कै पुरानो बजारमध्य एक हो । अहिलेपनि विर्तामा राम्रै व्यापारीक चहलपहल देख्न सकिन्छ । यसको साथै वडा नं. १ को भंगेराबारीमा ऎतिहासिक कुवा रहेको छ ।
उक्त वडालाई कुनैपनि नदि र जंगलले छोएको छैन । वडाध्यक्ष रमेश भुसाल उक्त वडालाई भुपरिवेष्ठित वडाको उपनाम समेत दिन्छन् । उनी भन्छन् - "वडा नं. १ देवदहको भुपेरिवेष्ठित वडा हो । यसलाई कुनै पनि नदिले छोएको छैन ।" त्यसको साथै कुनै जंगलले समेत उक्त वडालाई छोएको छैन । यसप्रकारको विशेषता बोकेको स्थानलाई कम्तिमा सबै देवदहवासी वा देवदहमा प्रवेश गर्नेले एकपटक 'भिजिट' गर्नैपर्ने उनी बताउँछन् ।
देवदहको वडा नं. २ मा पुराना विद्यालय, मठमन्दिर तथा कृषि फार्महरू रहेको वडाध्यक्ष धर्मागत पाण्डे बताउँछन् । उनी भन्छन् - हाम्रो वडामा शान्ती स्तम्भ, सिद्देश्वरमहादेव मन्दिर तथा नमुना कृषि फार्महरू रहेका छन् । देवदहवासी र देवदह प्रवेश गर्ने कुनैपनि पर्यटकले एकपटक वडा नं. २ मा घुम्दा बेग्लै अनुभुती हुने वडाध्यक्ष पाण्डेको भनाई छ ।
देवदहको वडा नं. ३ कृषि फार्महरूको लागि प्रख्यात छ । देवदहमै पहिलो पटक स्ट्रवरी खेती गरिएको देवदह ग्रीन एग्रो रिसर्ज यसै वडामा रहेको छ । वडाध्यक्ष बैकुण्ठ बहादुर कुँवर हाल कृषिको लागि नै आफ्नो वडा प्रख्यात रहेको बताउँछन् । साथै आगामी दिनमा केही पार्कहरू बनाउने योजना समेत रहेको उनको भनाई छ ।
यसको साथै उक्त वडामा सिसपुर गाउँ रहेको छ । खैरेनी चोकबाट करिव पाँच किलोमिटर दक्षिणमा रहेको उक्त गाउँमा थारू समुदायको बाहुल्यता छ । थारू समुदायहरूको परम्परागत कला संस्कृतिलाई अवलोकन गर्न र बुझ्न सिसपुर महत्त्वपूर्ण सांस्कृतिक गाउँ मानिन्छ । उक्त गाउँमा पर्यटकहरूले थारूहरूको परम्परागत खाना घोंगी, माछा, हाँस, ढिकरी, परेवा-लगायतका परिकारको स्वादसमेत लिनुका साथै लाठीनाच, थारूनाच जस्ता कार्यक्रम अवलोकन गर्न सक्दछन् ।
देवदह नगरपालिकाको वडा नं. ४ देवदहको पर्यटनमा निकै महत्त्वपूर्ण ठाउँ हो । यसै वडामा भवानीपुर रहेको छ । भवानीपुर प्राचीन देवदहको राजधानीका रूपमा रहेको जनविश्वास छ । यस ठाउँवरपर पत्थरको स्तम्भ, सूर्य 'देवता' को मूर्ति, प्राचीन इनार आदि रहेका छन् । यहाँ अवस्थित पत्थरको स्तम्भ भारतका तत्कालीन सम्राट अशोकद्वारा निर्माण गरिएको अनुमान छ ।
गौतम बुद्धलाई जन्म दिने मायादेवी, सानीआमा प्रजापति र गौतम बुद्धकी पत्नी यशोधराको जन्मस्थान हो - भवानीपुर । पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले उत्खननको कार्य थालेपछि यस स्थानको ऐतिहासिकता पुष्टि हुन थालेको छ । भवानीपुरमा विभिन्न समयमा उत्खनन गर्दा माटाका भाँडा, पैसाका सिक्का तथा भवनको दिवाल भेटिएका छन् । यस ठाउँको अध्ययन, अवलोकन गर्न आन्तरिक पर्यटकका साथै विभिन्न देशहरूबाट पनि पर्यटक आउने गर्दछन् ।
यहाँ हरेक वर्ष चैत्र-वैशाख महिनामा पर्ने रामनवमीको दिन ठूलो मेला लाग्ने गर्दछ । यो स्थान धार्मिक, प्राकृतिक र सांस्कृतिक रूपमा अति नै महत्त्वपूर्ण मानिन्छ ।
साथै सोही वडामा रहेको सृष्टि सामुदायिक बनमा पार्क बनाउँने योजना समेत देवदह नगरपालिकाले अगाडि सारेको छ । हाल देवदह नगरपालिकाको भवन समेत रहेको यो वडामा पुरानो केरवानी गाउँ रहेको छ । यसै गाउँको नामबाट पहिले केरवानी गाउँ पंचायत तथा केरवानी गाउँ विकास समितीको नाम समेत रहेको थियो ।
देवदहको वडा नं. ५ देवदहको प्रमुख ब्यापारीक केन्द्र हो । त्यतिमात्र होइन, यसै वडामा नेपाल सरकारले नमुना विद्यालयका लागि सुचिकृत गरेको केरवानी माध्यमिक विद्यालय समेत रहेको छ । देवदह नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष झिल्लु प्रसाद न्यौपाने वडा नं. ५ आर्थिक, शैक्षिक तथा धार्मिक तिनै कोणबाट घुम्न र अध्ययन गर्नुपर्ने स्थान रहेको बताउँछन् ।
यस वडामा प्रशिद्द लोकेश्वर मन्दिर रहेको छ । जहाँ एक सय आठ पिपलका बोट समेत लगाईएको छ । यहाँ पिपलमा जल चढाउँने भक्तजनहरूको संख्या दिनानुदिन बढ्दै गैरहेको छ ।
साथै देवदह ५ मा पानबारी खेलमैदान, बैकुण्ठ पार्क लगायतका स्थानहरू समेत रहेका छन् ।
देवदहको वडा नं. ६ मा माथागढि, सरनबारी, केउली तथा पछिल्लो समय अत्यधिक पर्यटक तान्न सफल गौतमबुद्ध राष्ट्रिय उद्यान रहेको छ । पर्यटकिय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थानहरू आफ्नो वडामा रहेको वडाध्यक्ष दामोदर क्षेत्री बताउँछन् ।
सरनबारी
देवदह नगरपालिका वडा नं ६ मा रहेको सरनबारी गाउँ प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ । भौगोलिक रूपमा पहाडको चारैतिर जङ्गलले घेरेर रहेको यो गाउँ अर्गानिक खेतीका लागि प्रसिद्ध छ । मगर जातिको बाहुल्य रहेको यो गाउँमा सांस्कृतिक विविधताका रूपमा सोरठी, ठाडो भाका-लगायतका गीत-सङ्गीत गाउने गरिन्छ । पुर्वपश्चिम लोकमार्गको शीतलनगरदेखि करिब ३ कि. मि. उत्तरतर्फ पहाडको काखमा यो गाउँ रहेको छ । यो गाउँको माथिल्लो भागबाट देवदहलगायत तराईको विभिन्न भागहरूको अवलोकन गर्न सकिन्छ ।
माथागढी
करिब दुई सय वर्षअगाडि तत्कालीन ब्रिटिस सैनिकले नेपालका विभिन्न ठाउँमा आक्रमण गरेका थिए । त्यसबेला नेपाली सैनिकहरूले देवदहको सबैभन्दा उच्च स्थान माथागढी किल्लामा बसेर युद्ध गरी विजय प्राप्त गरेका थिए ।
माथागढी किल्लामा तत्कालीन योद्धाहरूले निर्माण गरेको सुरक्षा पर्खाल, युद्धमा प्रयोग गरिएका हतियारहरू अहिले पनि अवलोकन गर्न सकिन्छ ।
साथै पर्यटकीय दृष्टिकोणले पनि माथागढीको महत्त्व रहेको छ । माथागढी डाँडाबाट रूपन्देही, पाल्पा र नवलपरासीका मनोरम दृश्य तथा हिमालहरू अवलोकन गर्न सकिन्छ ।
केउली
देवदह नगरपालिका वडा नं. ६ मा केउली गाउँ रहेको छ । भलुहीबाट ३ किलोमिटर उत्तरतर्फ रहेको केउली बनभोज स्थलका रूपमा चर्चित छ ।
गौतमबुद्ध राष्ट्रिय उद्यान
छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गौतमबुद्ध राष्ट्रिय उद्यान, बुद्ध सामुदायिक बन क्षेत्रभित्र पर्दछ । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यले २०७६ सालमा ‘देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६’ आयोजना समेत गरिएको थियो। वनमा कुहिएर खेर गएका काठका मुढाहरुबाट सुन्दर मुर्ति बनाएर सजाउने सपना देखेका देवदहको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु अहिले आफुहरुको सपना पुरा भएको बताउछन् ।
चारैतिर हरियाली वन, उत्तरतर्फ भुलभुले झरनामा कलकल बहेको पानीको दृश्यसंगै बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरू विभिन्न भागमा सजाएर राखिएका छन् । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको सेल्फी पुल, बुद्ध वाटर फल, भुलभुले झरना र हरियो बनको मनोरम दृश्य यहाँ देख्न सकिन्छ ।
देवदह नगरपालिकाको वडा नं. ७ देवदहको प्रमुख पर्यटकीय गन्तव्यमध्य एक हो । वडा सदस्य सरस्वती पोखरेल देवदह आउने पर्यटकले वडा नं. ७ को भ्रमण नगरेमा उक्त भ्रमण पुरा हुन नसक्ने बताउँछिन् । यहाँ यशोधरा पार्क, देवदह नगरपालिकाको कोशेली भवन, बौद्ध विश्वविद्यालयको डिन कार्यालय, कोटियामाई, बैरीमाई, कन्यामाई मन्दिर, दुर्गा पांचायान मन्दिर, महाकाली शक्तिपिठ, यशोधरा पार्क लगायतका पर्यटकिय गन्तव्य रहेका छन् ।
कन्यामाई
कन्यामाई मन्दिर देवदह-७, शीतलनगरदेखि झन्डै डेढ किलोमिटर दक्षिणतर्फ शान्तिनगरमा रहेको छ । कन्यामाई मन्दिरमा पदमपाणि अवलोकितेश्वरको भाँचिएको विशाल प्रस्तरको मूर्ति रहेको छ । यसै ठाउँमा गौतम बुद्धको विशाल कदको मूर्ति मन्दिरको दक्षिणी किनारमा रहेको र अहिले माटोले छोपिएको स्थानीयबासीहरूको भनाइ छ । कन्यामाईमा ईंटा, कुदिएका दुङ्गाबाट निर्मित विशाल भवनको पर्खालसहितको भग्नावशेष, खण्डहर र प्राचीन इनारहरूसमेत रहेको जनविश्वास छ । कन्यामाईमा वि.सं. २०६८ सालमा पुरातत्त्व विभागका पुरातत्त्वविद् प्रकाश दर्नालको नेतृत्वमा उत्खनन भएको थियो । उत्खननका क्रममा बुद्धकालीन महत्व दर्शाउने वस्तुहरू प्राचीन दरबार, इनार, भाँडाकुँडाका अवशेषहरू फेला परेका थिए । यसै ठाउँमा प्राचीन कोलीय राजदरबार रहेको विश्वास छ । यहाँ रहेका इनारहरूबाट बुद्धका माताहरूले पानी पिउने गरेको भनाइ छ । यशोधरालाई कन्यामाईको रुपमा पनि पूजा गरिन्छ ।
बैरीमाई
बैरीमाई मन्दिर कन्यामाई भन्दा थोरै दक्षिणतर्फ रहेको छ । बैरीमाईमा पनि बौद्धकालीन महत्त्व दर्शाउने वस्तुहरू प्राचीन मूर्ति, भाडाकुंदर अवशेषहरू रहेका छन् । हाल बैरीमाई मन्दिर स्थानीयबासीहरूको संरक्षणमा छ।
यशोधरा पार्क :
यशोधरा पार्क शितलनगर बनचौकीस्थित देवदह आदर्श बहुमुखी क्याम्पसको अगाडि दक्षिणतर्फ पुर्वपश्चिम लोकमार्गसंग जोडिएको छ । यो पार्क बुद्धका तथा सुन्दर फूलहरूले सजिएको छ । जहाँ बाल उद्यान समेत रहेको छ । यस पार्कमा बालबच्चाहरू रमाइरहेको देख्न सकिन्छ ।
यसका साथै वडा नं. ७ मा बौद्ध भिक्षुणी बिहार, मदन आश्रीत पार्क, देवदह आदर्श बहुमुखी क्याम्पस, सृजना सामुदायिक बनभित्र रहेको सहिद पार्कमा सहिद स्तम्भ, देवदह क्रीकेट खेल मैदान लगायतका महत्त्वपूर्ण स्थानहरू रहेका छन् ।
त्यतिमात्र नभएर वडा नं. ७ मा देवदह नगरपालिकामा क्रियाशिल सामाजिक संघसंस्था र सरकारी कार्यालयहरू समेत अत्यधिक छन् । यहाँ सहिद स्मृति प्रतिष्ठान भवन, नेपाल मगर देवदहको कार्यालय, अपांग सेवा समाजको भवन, दलित सेवा समाजको भवन, देवदह रेडक्रसको भवन, नेपाल टेलिकमको देवदह कार्यालय, नेपाल विद्युत प्राधिकरणको कार्यालय, बनको सव डिभिजन कार्यालय, प्रहरी चौकी, देवदह खानेपानी तथा सरसफाइ संस्थाको कार्यालय लगायतका कार्यालय यस वडामा रहेका छन् । यहाँ देवदहका सबैभन्दा धेरै र ठुला सहकारी संस्था समेत रहेका छन् । जसमा देवदह कोलिय साकोस, निर्माण बहुउद्देश्यीय सहकारी, पल्लवी साकोस, नवप्रभात महिला साकोस, अनुराग साकोस लगायत छन् ।
देवदहको वडा नं. ८ मा प्रशिध्द पाकरीवृक्ष रहेको छ । यो देवदहको लोगो जस्तै हो । सर्च इन्जिनहरूमा देवदहको खोजी गर्दा सबैभन्दा पहिले यहि पाकरीवृक्ष देख्न सकिन्छ । देवदह र पाकरीबृक्ष एक आपसमा पुरकजस्ता देखिन्छन् । वडाध्यक्ष दण्डपाणि भट्टराई देवदहमा आउने सबै पर्यटक वडा नं. ८ मा छिर्नैपर्ने बताउँछन् ।
पाकरी वृक्ष
देवदह नगरपालिका वडा नं. ८ को पाकडी गाउँको पूर्वतर्फ पाकरी वृक्ष रहेको छ । यो स्थान पूर्व-पश्चिम लोकमार्गको पीपलडाँडादेखि २ कि. मि. दक्षिणमा रहेको छ । पाकरी वृक्षको करिब ३० मिटर उचाइ र ३० मिटर परिधि छ ।
सधैँभरि हराभरा रहने, चरा चुरुङ्गीले गुँड नलगाउने, गिद्ध जातका चरा नबस्ने, रूखको नजिक हात्ती नजाने, रूख हेर्दा सात तलाका रूपमा देखिने यस रूखका विशेषताहरू हुन् । परिधिका हिसाबले यसलाई नेपालकै ठूलो वृक्षको रूपमा लिइन्छ ।
यस वृक्षकै नामबाट त्यस वरपरको गाउँको नाम पनि पाकडी नामकरण गरिएको हो । यस वृक्षलाई स्थानीयवासीहरूले देववृक्ष, अलौकिक वृक्ष तथा बौद्धकालीन वृक्षका रूपमा समेत लिने गर्दछन् ।
यसको साथै मायादेवी पार्क, नेपाल सरकारबाट करिव नब्बे विगाहा जग्गा लिएर निर्माणको तयारीमा गरेको लुम्बिनी विश्वविद्यालय र बंगलामा रहेको ऎतिहासीक कुवा यस वडाका मुख्य आकर्षण हुन् ।
देवदहको वडा नं. ९ पनि पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण स्थान हो । यहाँ देव दह, खयरडाँडा,
रोहिणी नदी, सिमसार क्षेत्र लगायतका घुम्नै पर्ने स्थानहरू रहेका छन् ।
खयरडाँडा
खयरडाँडा देवदह नगरपालिका वडा नं. ९ घोडाहा गाउँमा रहेको छ । तत्कालीन राज्यको एउटा दरबार रहेको मानिए तापनि यस क्षेत्रमा हालसम्म उत्खनन भएको छैन। गौतम बुद्ध मामाघरमा आउँदा यसै दरबारमा बस्ने गर्दथे भन्ने जनविश्वास छ । बुद्धकालिन समयमा यस दरबार परिसरमा घोडा बाँध्ने गरिएकाले यस ठाउँको नाम घोडाहा रहेको जनविश्वास छ । त्यस्तै, शीतलनगरको एक किलोमिटर दक्षिणमा बौद्धकालीन समयमा बङ्गाला रहेकोले हाल उक्त स्थानको नाम बङ्गाला रहन गएको विश्वास गरिन्छ ।
देव दह
बुद्धकालीन समयमा ऋषि-तपस्वीहरूले स्नान गर्ने (नुहाउने) पवित्र पोखरीलाई नै देव दह भनिएको हो । 'देव दह' देवदह नगरपालिकाको वडा नं. ९ घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनभित्र रहेको छ ।
देव दहमा सेता, राता र गुलाबी फूलहरू फुल्ने भएकाले बौद्ध धर्ममा यस दहलाई मङ्गल पुष्करिणीको रूपमा समेत लिइन्छ ।
रोहिणी नदी
देवदह नगरपालिका वडा नं. ९ मा रहेको रोहिणी नदीलाई बौद्धकालीन समयदेखि नै पवित्र तीर्थस्थलका रूपमा मानिएको छ । किंवदन्ती अनुसार दक्षप्रजापतिकी छोरी रोहिणीलाई चन्द्रमाले विवाह गर्नकालागि भगाएर लैजाँदा दक्षप्रजापतिले थाहा पाएपछि लखेटेका थिए । रोहिणी लखेट्दा चन्द्रमाले महादेवसँग शरण माग्दा महादेवले टाउकोमा शरण दिएका र रोहिणी भाग्दै गएर पाल्पाको सत्यवती तालको नजिक लुकेकी थिइन् । तालको दक्षिणी स्थान अर्थात लुकेको ठाउँबाट उत्पत्ति भई बगेको नदी नै रोहिणी भएकाले यसको ठूलो धार्मिक महतब रहेको स्थानीयहरू बताउँछन् ।
साथै कोलिय राज्य र शाक्य राज्यको विचमा पानीको लागि विवाद हुँदा गौतम बुद्धले रोहिणी नदिको किनारमा आएर दुबै राज्यलाई मिलाएको किंवदन्ती समेत रहेको छ ।
नगरपालिकाको वडा नं. १० मा भलुही, चरङ्गे लगायतका महत्वपुर्ण स्थान पर्दछन् । आफ्नो वडा कृषी र पछिल्लो समयमा कृषि रिसोर्टका लागि महत्त्वपूर्ण रहेको वडाध्यक्ष एक बहादुर सुनार बताउँछन् । उनीका अनुसार मुडाबासमा अर्गानिक कृषि उत्पादन भैरहेको छ, दलदले र लडियाबासमा समेत कृषी रिसोर्ट र सुविधा सम्पन्न होटेलहरू संचालित छन् र अझै व्यवस्थित हुँने क्रम जारी छ । चरंङ्गेमै रहेको कालापानी चौरमा ऎतिहासीक दह रहेको छ । उक्त स्थानमा पार्क बनाउँने योजना समेत नगरपालिकाले तय गरेको छ ।
यसका साथै भलुहीमा देवदह मेडिकल कलेज रहेको छ । जहाँ बर्सेनि हजारौं विरामीले उपचार गराईरहेका छन् भने सयौंको संख्यामा स्वास्थ्यकर्मी र अन्य कामदारले रोजगार प्राप्त गरिरहेका छन् । देवदह मेडिकल कलेज यहाँको पहिलो र एक मात्र मेडिकल कलेज हो ।
देवदहको वडा नं. ११ को कदमीपुरमा चौधनिय बजार रहेको छ । उक्त बजार देवदहको पुरानो बजार मध्य एक भएको स्थानीयहरू बताउँछन् । त्यसैगरी थारू दिवार मन्दिर र शंकरचोकमा कोटियामाई मन्दिर समेत रहेको छ ।
यसका साथै वडा नं. ११ कृषि क्षेत्रको लागि महत्त्वपूर्ण क्षेत्र भएको वडाध्यक्ष अमर बहादुर चौधरी बताउँछन् ।
यो क्षेत्र पनि कृषिको लागि महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । यहाँ बौद्ध गुम्बा लगायतका स्थानहरू रहेका छन् ।
(रिपोर्टमा उल्लेखित तथ्य र किंवदन्तीहरू देवदहका जनप्रतिनिधि तथा स्थानीयसंगको कुराकानी, नेपाल सरकार र देवदह नगरपालिकाले विभिन्न समयमा प्रकाशन गरेका पुस्तकहरू तथा बुद्धसंग सम्बन्धित अन्य पुस्तकहरूबाट लिईएको हो ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology