देवदह । प्रतिनिधिसभा निर्वाचन २०८२ मा रुपन्देही क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी भएका छन् । पहिलो पटक निर्वाचन लडेका ३५ वर्षीय युवा लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान बनाएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्ज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टीका घनश्याम यादवले दुई हजार १९८ मत, श्रम संस्कृतिका छविलाल गुरुङले एक हजार ८२४ र जनता समाजवादी पार्टीका मोहम्मद अस्लाम खानले एक हजार २४२ मत प्राप्त गरेका छन् । अन्य कुनैपनि उम्मेदवारले एक हजार मत प्राप्त गर्न सकेनन् ।
३१ जना उम्मेदवार रहेको यस क्षेत्रमा निकटतम प्रतिष्पर्धी कांग्रेसका खत्रीबाहेक अरू सबैको जमानत जफत भएको छ ।
लम्सालले संसदको यात्रा तय गर्दैगर्दा यस अघिका सबै रेकर्ड तोडेका छन् । वि सं २०७४ को निर्वाचनमा एमाले नेता छविलाल विश्वकर्माले प्राप्त गरेको मतलाई उनले तोडेका छन् । तत्कालीन अवस्थामा विश्वकर्माले ३४ हजार ७५२ मत प्राप्त गरेका थिए, जुन लम्सालले सहजै तोडेका छन् ।
त्यसैगरी मतान्तरमा पनि उनले रेकर्ड राखेका छन् । यसअघिको ७ हजार ८६७ को मतान्तरमामा ब्रेक लगाउँदै लम्सालले ४२ हजार ८६३ को फराकिलो मतान्तर बनाउन सफल भएका छन् ।
को हुन् सुनिल लम्साल ?
इन्जिनियरिङ पृष्ठभूमिका लम्साल निर्वाचन अघिसम्म काठमाडौं महानगरपालिकाका तत्कालीन नगरप्रमुख बालेन्द्र शाह (बालेन) का पूर्वाधार सल्लाहकारका रूपमा कार्यरत थिए ।
संरचनात्मक इन्जिनियरका रूपमा उनले विभिन्न पूर्वाधार परियोजनामा काम गरेका छन् । उनको शैक्षिक योग्यता सिभिल इन्जिनियरिङ (स्नातक) र स्ट्रक्चरल इन्जिनियरिङ (स्नातकोत्तर) रहेको छ ।
काठमाडौँ महानगरपालिकामा रहँदा उनी पूर्वाधारसँग सम्बन्धित नीति निर्माण र कार्यान्वयनका विषयमा संलग्न थिए । फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनसँग सम्बन्धित काममा पनि आफ्नो संलग्नता रहेको उनी बताउँछन् ।

काठमाडौं विश्वविद्यालयमा फोहोर व्यवस्थापन विषयमा पिएचडी अध्ययनरत उनी वातावरणीय तथा व्यवस्थापन पक्षसँग सम्बन्धित विषयमा अनुसन्धानमा संलग्न रहेको बताइन्छ ।
विद्यार्थी जीवनमा पनि उनी राजनीतिमा संलग्न थिए । तत्कालीन अवस्थामा लम्साल लुम्बिनी इन्जिनियरिङ कलेज, भलवाडीको स्ववियु सभापति निर्वाचित भएका थिए ।
इन्जिनियरिङ पेशासँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार परियोजनामा काम गरेको अनुभव रहेको उनी बताउँछन् ।
राजनीतिक रूपमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रभित्र सुधारको आवश्यकता रहेको धारणा राख्ने बताइन्छ । स्थानीय ज्ञान, नागरिक सहभागिता र क्षेत्रगत विज्ञतालाई नीतिगत प्रक्रियामा समेट्नुपर्ने उनको भनाइ छ ।
रुपन्देही–१ बाट निर्वाचित भएपछि उनले क्षेत्रीय विकास, पूर्वाधार र सुशासनका विषयलाई संसद्मा उठाउने बताएका छन् ।
यस अघिका कुन निर्वाचनमा कुन दलका उम्मेदवारले कति मतले जिते ?
रुपन्देही -१ को तीन दशकको इतिहास हेर्दा यस क्षेत्रमा नेपाली कांग्रेसका दुर्योधन सिंहले लगातार तीन पटक निर्वाचन जितेर ह्याट्रिक गरेका छन् । दुर्योधनले २०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट निर्वाचन जिते । यस क्षेत्रको पहिलो आमनिर्वाचनमा उनले ९,९२५ मत प्राप्त गर्दै एमालेका उम्मेदवार भिम नारायण थारुलाई पराजित गरे । झिनो मतले पराजित भएका निम नारायणले ९,४१८ मत प्राप्त गरेका थिए ।
२०५१ को निर्वाचनमा पनि दुर्योधन सिंह पुन: सांसद बने । उनले १२,८१९ मत प्राप्त संसद प्रवेश गर्दा एमालेको तर्फबाट उम्मेदवार बनेका घनश्याम भुसालले ११,२४३ मत प्राप्त गर्दै उपविजेता बने । तत्कालिन अवस्थामा यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले ९,१४९ मत प्राप्त गरेका थिए ।

२०५६ को आम निर्वाचनमा काँग्रेसका सिंहले हाट्रिक गरे । १३,०९२ मत प्राप्त गर्दै उनी तेस्रो पटक विजयी भए । यो पटक यस क्षेत्रमा राप्रपाका दीपक बोहरा उपविजेता बन्न सफल भए । बोहराले १२,७७१ मत प्राप्त गरे । एमालेका तत्कालिन उम्मेदवार घनश्याम यादव अहिरले ११,४३९ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाए ।
२०६४ को संविधान सभा निर्वाचनमा यस क्षेत्रमा तत्कालिन माओवादी (हालको नेकपा)ले निर्वाचन जित्यो । २०५६ मा एमालेबाट उम्मेदवार बन्दा तेस्रो भएका उनै घनश्याम यादव अहिरलाई माओवादीबाट उम्मेदवार बन्दा १२,६२४ प्राप्त भयो र उनी विजयी भए । २०६४ मा नेपाली काङ्ग्रेसका अब्दुल रजाकले ११,००३ मत प्राप्त गरे भने एमालेका बाबुराम चौधरीले १०,६३० र राप्रपाका दीपक बोहराले ७,५३६ मत प्राप्त गरे ।
२०७० को दोस्रो संविधान सभा निर्वाचनमा काङ्ग्रेसका अब्दुल रजाकले यस क्षेत्रबाट निर्वाचन जिते । रज्जाकले १४,४०० मत प्राप्त गर्दा एमालेका छविलाल विश्वकर्मालाई १४,१९६ मत प्राप्त भयो । २०६४ मा निर्वाचन जितेको माओवादी तेस्रो स्थानमा खुम्चियो । माओवादीका देवेन्द्रनाथ पाण्डेले मात्र ७,४४४ मत प्राप्त गरे ।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनका उम्मेदवार छविलाल विश्वकर्माले भारी मतान्तरले निर्वाचन जिते । विश्वकर्माले ३४,७५२ मत प्राप्त गर्दा कांग्रेस अब्दुल रज्जाकले २६,८८५ मत प्राप्त गरे । १२,७६४ मत प्राप्त गर्दै तत्कालिन सङ्घीय समाजवादी फोरम, नेपालका उम्मेदवार विद्याप्रसाद यादव तेस्रो हुन पुगे ।
२०७९ मा मुख्य राजनीतिक दल पूर्ण/आंशिक गठबन्धन सहित चुनावमा होमिए । रुपन्देही-१ मा एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बनेका छविलाल विश्वकर्मा निर्वाचित भए । विश्वकर्माले २४,८८२ मत प्राप्त गर्दा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी समर्थित स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१,३१८ मत प्राप्त गरे । २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले १४,१४५ मत प्राप्त गरे भने तत्कालिन नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १३,९६२ र जनमत पार्टीका कैलाश गुरुङले ५,१६९ मत प्राप्त गरे ।
रुपन्देही–१ मा उम्मेदवार रहँदा उनको प्रतिबद्धता पत्र यस्तो छ :


Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology