स्पष्टिकरण : यो लेख शास्त्रसम्मत तथ्यलाई वैज्ञानिक खोज अनुसन्धानद्वारा पुष्टि गर्दै साहित्यिक प्रतिबिम्बको सहारामा तयार गरिएको हो र ज्ञानको खोजीमा मध्यमस्तरमा रहेका व्यक्तिहरुको लागि बढी उपयोगी हुनेमा लेखकको विश्वास रहेको छ - लेखक।
"जब तपाईं जीवनसङ्ग जबरजस्ती गर्न छोड्नुहुन्छ तब सबै कुरा परिवर्तन हुन्छ" - कार्ल जंग ।
जंगले पत्ता लगाए, जबसम्म तपाईं यसलाई राम्रोसङ्ग बुझ्नुहुन्न तबसम्म फगत जस्तै लाग्छ । यसलाई उनले मानसिक स्तर कम गर्ने (Lowering Mental Level) नाम दिए । यसको अर्थ जानाजानी सचेतनामा अहंकारको पकड फिर्ता गर्नु हो । यसको अर्थ, आफ्नो अवाञ्छित नियन्त्रण छोडेर अवचेतन दिमागलाई काम गर्न दिनु हो । यसले ब्रह्माण्डको केन्द्रविन्दुमा आफुलाई होईन, ब्रह्माण्डकै ऊर्जालाई स्थान दिन्छ । धेरैजसो मानिसहरूको लागि यो हार मान्ने जस्तो लाग्छ । तर सत्य ठीक उल्टो छ ! जब तपाईं बलको शक्ति मार्फत अगाडि बढ्न रोकिनु हुन्छ, तब तपाईंले समस्याको वास्तविक समाधानको लागि अतिरिक्त स्थान सिर्जना गर्नुहुन्छ ।
वास्तविक सफलता कठोर प्रयासबाट मात्रै होइन,आत्मसमर्पणबाट पनि प्राप्ति हुन्छ । यहाँनेर यो थप रोचक बन्दछ ! जंगसँग एउटा विधि थियो जुन उनले उनको सबैभन्दा अँध्यारो समयमा प्रयोग गर्थे । उनले यसलाई नाम दिए, सक्रिय कल्पना (Active Imagination) सक्रिय कल्पना सामान्य कला होइन, यो त आफुलाई अवाञ्छित नियन्त्रण र निर्देशन गर्नुको बदला अवचेतन दिमागलाई उसलाई के जान्न आवश्यक छ भनेर देखाइदिनु मात्रै हो । जंग चुपचाप बस्थे र विचारहरूलाई जबरजस्ती गर्नुको सट्टा, उनी के देखा पर्यो भनेर मौन भएर अवलोकन गर्थे जस्तै, आफ्ना भावनाहरू र अन्तर्दृष्टिहरू जो उनको चेतना भन्दा गहिरो कतैबाट उत्रिरहेछन्, त्यस्तो सहजता जसलाई बल प्रयोग गरेर कहिल्यै प्राप्त गर्न सकिँदैन !
धेरैजसो मानिसहरू आफ्नो अहंकारमा पूर्ण रूपमा बाँच्छन् । तिनीहरू विश्वास गर्छन् कि हरेक समस्याको लागि निर्मम प्रयाससहितको समाधान चाहिन्छ भनेर । यो सिर्जनाकर्तालाई जंगले दिमागी पिडा (Neurotic Sufferings) नाम दिए । उनका विचारमा यो निरन्तर आक्रामक जीवनतर्फ धकेल्ने व्यर्थको थकान मात्र हो ।
धेरैजसो मानिसहरू आफ्नो अहंकारमा पूर्ण रूपमा बाँच्छन् । तिनीहरू विश्वास गर्छन् कि हरेक समस्याको लागि निर्मम प्रयाससहितको समाधान चाहिन्छ भनेर । यो सिर्जनाकर्तालाई जंगले दिमागी पिडा (Neurotic Sufferings) नाम दिए । उनका विचारमा यो निरन्तर आक्रामक जीवनतर्फ धकेल्ने व्यर्थको थकान मात्र हो । सन्तुलनलाई जबरजस्ती गर्ने व्यक्ति नियन्त्रणकारी र हताश हुन्छ । आफ्नो प्रगतिलाई जबरजस्ती गर्ने व्यक्ति कठोर हुन्छ । जब सफलता आउँदैन, त्यो व्यक्ति निराश हुन्छ किनभने उसले आफ्ना प्रामाणिक भावनाहरूलाई अस्वीकार गरिरहेको हुन्छ । अस्वीकार आफैंले दुःख सिर्जना गर्छ । तपाईं बिगत र भबिस्यको बारेमा यति व्यस्त हुनुहुन्छ कि तपाईंले वर्तमानलाई याद गर्न बिर्सनु भएको हुन्छ ।
जीवन बुझ्ने व्यक्तिहरूले कुन बल प्रयोग गरेको(Forcing) र कुन उत्रिरहेको(Floating) बिच भिन्नता चिन्न सिकेका छन् । उनीहरू जबर्जस्ती बल प्रयोग गर्नु र प्राकृतिक कार्य बीचको भिन्नता छुट्टाउन सक्षम छन् । निर्मम मानिस हताश, चिन्तित, नियन्त्रणकारी हुन्छ । जबकि प्राकृतिक व्यक्ति खुला, स्पष्ट र शान्त हुन्छ ।
यस्तो अवधारणालाई जीवनको लागि गीता अभियानका संकल्पकर्ता डा. हरिचन्द्र कमालीज्यूले गीताको सार"समत्व"हो भन्नुहुन्छ । जसको अर्थ सुखदुख, आरोह अवरोह आदिमा पनि समभावमा स्थित व्यक्तित्व हो । यहाँनेर समत्व भनेको शुन्यता जस्तो लाग्न सक्छ । तर समत्वको लागि सुरुवातमा शुन्यता प्राथमिक शर्त भए पनि समत्व सचेतनासङ्ग बढी नजिक छ र चेतनाको आफ्नै स्थान हुन्छ । यहीँनेर हामी सत्यको धेरै नजिक हुन्छौं किनकि यहीँनेर अस्वीकृतिलाई स्वीकृतिले प्रतिस्थापन गर्न सम्भव छ । जंगले आफ्नो जीवन मानिसहरूलाई यो भिन्नता सिकाउने प्रयासमा बिताए । जंगले त्यसलाई अझ गहिरो खोज गर्दा उनले महसुस गरे कि जब मानिसहरू जीवनमा जबरजस्ती गर्छन्, तिनीहरूले केवल तनाव र असफलता मात्रै सिर्जना गरिरहेका हुँदैनन्, बरु तिनीहरू वास्तवमा आफ्नै विकासलाई पनि रोकिरहेका हुन्छन् । जंगले त्यसलाई छायाँ( Shadow) नाम दिए जसले आफैलाई अस्वीकार गर्दछ ।
जो स्वीकार गर्छ, उसले त्यो सबै पाउछ । जो उसको लागि ब्रह्माण्डले उपयुक्त मान्छ । यहाँ के रोचक छ भने निरन्तर तत्वहरूको भविष्यवाणी गर्ने मानिसहरू प्रायः आफ्नो छायाँबाट भागिरहेका हुन्छन् । तिनीहरूले नियन्त्रणकारी र असन्तुलित मात्रामा कठोर मार्ग तय गर्छन् ताकि तिनीहरूले कहिल्यै आफू डराएको तत्वको सामना गर्नु नपरोस् । काम गर्ने उत्साहको नाममा भित्री खालीपन महसुस गर्नबाट बच्नको लागि उत्पादकत्वको कोरा तर्क तेर्साउछ्न । प्रायः मानिसहरू अयोग्य महसुस गर्नबाट बच्न आफूलाई उत्तम देखाउन खोज्छन् । जबर्जस्तीवाला विचार र योजना प्रत्येक विवरण र परियोजनामा देखापर्नुको अर्थ तिनीहरू वास्तविक सत्यबाट डराउँछन् र देखावटी सत्यतिर झुकाब बढाउछन् भन्ने मनोबैज्ञानिक दृष्टिकोणलाई नकार्न मिल्दैन । यसै सन्दर्भमा श्री कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णजी महाराजको कालजयी विचार"सुख स्वीकार हो भने दु:ख अस्वीकार हो" भन्ने मनन योग्य छ । यसलाई ब्रह्माण्डको ऊर्जाप्रति तपाईंको स्वीकार र अस्वीकारबीचको गतिशील सन्तुलनको रूपमा हेर्दै गर्दा वेद, विद्या र विद्वानहरुले स्वीकारतर्फ अगाडि बढाउने मार्गप्रशस्त गरिदिएका प्रशस्त प्रमाणहरु भेट्न सकिन्छ, त्यो हो शुद्धीकरण र समर्पण । यसैबाट मोक्ष सम्भव देखिन्छ । हामीले जानाजानी वा अन्जानीमा गरेका सम्पुर्ण साधना, योग, प्रार्थना, जपतप, यज्ञ, मन्त्र, पुजा, पाठ आदि सबै यही सत्यको वरिपरि गोचर गर्छन् ।
जब तपाईं जबरजस्ती गर्नुहुन्छ, तपाईं डर र अहंकारबाट सञ्चालित हुनुहुन्छ । अहंकारको आवश्यकता परिणामहरूलाई सम्बोधन गर्ने प्रयास स्वरुप भयो भने पनि यसले स्वाभाविक विकासलाई रोक्दछ । ब्रह्माण्ड तपाईंलाई पहिले तयार गर्छ, विभिन्न परिक्षा लिन्छ । जब तपाईंलाई त्यसको लागि साच्चिकै योग्य ठान्छ तब मात्रै तपाईंलाई दिन्छ ।
जंगले यो व्याख्या गरे कि किन धेरै सफल व्यक्तिहरूले भन्छन् कि उनीहरूको ठुलो सफलता (Breakthrough) जबर्जस्त कडा प्रयास गर्न छोडेपछि आयो । किनभने जबरजस्तीले जंगले सिन्क्रोनिसिटी (SYNCHRONICITY) भनिने प्राकृतिक प्रवाह( Natural Flow) लाई रोक्दछ । सिंक्रोनिसिटी भनेको जब स्वचालित रूपमा संयोगहरू हुन्छन् ,जसले तपाईंलाई जहाँ हुन आवश्यक छ त्यहाँ मार्गदर्शन गर्दछ । जंगले यसलाई व्यक्तित्व (PERSONA) भने जो तपाईंको प्रामाणिक आत्म बन्ने प्रक्रिया हो नकि अवाञ्छित दिशानिर्देश जो व्यक्तित्वको विपरीत हो । तर जब तपाईं सबै कुरालाई जबरजस्ती जीवनको स्टेयरिङ ह्वीललाई जस्तो आफ्नो औंलाले मोडन चाहनुहुन्छ भने तपाईंको सामर्थ्यमा ह्रास आउँछ । अर्कोतर्फ जब तपाईं खुलापन, ग्रहणशीलता, प्राकृतिक निरन्तरतामा काम गर्नुहुन्छ भने सिन्क्रोनिसिटीले काम गर्दछ । यसले तपाईंलाई हरेक मोडमा अगाडि बढ्ने ग्यारेन्टी त गर्दैन तर,तपाईं राम्रो परिणामको लागि खाली ठाउ भने पक्कै दिनुहुनेछ । ब्रह्माण्ड तपाईंलाई मद्दत गर्न तयार छ, तर तपाईं आफ्नै अपरिस्कृत एजेन्डाहरुबाट थिचिएको हुनु भएन । ब्रह्माण्ड तपाईंजस्ता अरबौलाई अगाडि बढाउन सक्छ भने तपाईं छुटने भन्ने सवाल नै छैन ।
जब तपाईं जबरजस्ती गर्नुहुन्छ, तपाईं डर र अहंकारबाट सञ्चालित हुनुहुन्छ । अहंकारको आवश्यकता परिणामहरूलाई सम्बोधन गर्ने प्रयास स्वरुप भयो भने पनि यसले स्वाभाविक विकासलाई रोक्दछ । ब्रह्माण्ड तपाईंलाई पहिले तयार गर्छ, विभिन्न परिक्षा लिन्छ । जब तपाईंलाई त्यसको लागि साच्चिकै योग्य ठान्छ तब मात्रै तपाईंलाई दिन्छ । तसर्थ यसलाई नरोकेकै राम्रो । यसले आफूलाई मिथ्या सूचनाले थिचेर राख्नुको सट्टा स्वाभाविक रूपमा प्रकट हुन अनुमति दिन्छ जसको लागि शुद्धीकरण र आत्मसमर्पणको मात्रै आवश्यकता पर्दछ ।
सफल हुन आफूलाई बाध्य पार्ने व्यक्तिले पद, प्रतिष्ठा, पैसा र पहिचान पाउन सक्छ, तर उसले कहिल्यै दिगो शान्ति र मोक्ष पाउन सक्दैन किनभने उसले जीवनलाई सहजताको सट्टा बलको आधारमा अद्यावधिक बनाएको हुन्छ । जंगले महसुस गरे कि जब तपाईं जबर्जस्त आक्रामक रूपमा अगाडि बढ्न छोड्नुहुन्छ, तब तपाईं वास्तविक स्वतन्त्रतामा बाच्नुहुन्छ । अब तपाईंले आफ्नो छायाँलाई हेर्ने, बुझ्ने र सम्हाल्ने समय पाउनुहुन्छ । वास्तविक रुपान्तरणको लागि ठ्याक्कै यही हुनुपर्छ भन्ने भन्दा पनि लचकता जरुरी पर्छ । त्यतिको लचकता जसले हामीलाई जंगको सबैभन्दा शक्तिशाली तत्व मध्येको एक-सिन्क्रोनिसिटी- ल्याउँछ । उनले याद गरे कि उनका बिरामीहरू, जो पूर्ण रूपमा आफ्नो व्यक्तित्व सामाजिक मुखौटाको साथ बाँच्छन्, सबै कुरा जबरजस्ती गर्ने सम्भावना बढी हुन्छ । तर, वास्तविक व्यक्तित्व भनेको तपाईं संसारसङ्ग देखिनुहुने तपाईंको आफ्नै प्राकृतिक रूप हो, जो ब्रह्माण्डको ऊर्जासङ्ग एकीकृत रूपमा काम गर्छ । यसको सबैभन्दा ठुलो आधारभुत आवस्यकता यो हो कि अव्यवस्थित विचारको थुप्रोबाट संरचित विचारको झिल्को खोज्न हरदम तयार रहनुपर्छ । यो भनेको पहाड बाट झरेको नदिलाई कुलो बनाई खेतसम्म लैजान सफल हुँदैमा नदिले आफ्नो गन्तव्य भेट्यो भन्ने होइन ,तर त्यसको बदलामा स्वत: स्फुर्त रूपमा बग्न दिए समुद्रसम्म जानबाट नदिलाई कसैले रोक्न सक्दैन भन्ने हो । मानिसलाई पानीको थोपा जस्तै मान्दा पानीको आदि र अन्त्य समुद्र भए जस्तै विचारको पनि आदि र अन्त्य ब्रह्माण्ड हुन आउँछ ।
अधिकतर मानिस विगतको पश्चाताप र भविस्यको चिन्तामा बाचिरहेका हुन्छन् । त्यसैले उनीहरू वर्तमानबाट अलग छन् । जसले विगतको पछुतोलाई अनुभव र भविस्यको चिन्तालाई चिन्तनको रूपमा साक्षी भावले दृष्टिगोचर गर्दै ति विचारलाई ब्रह्माण्डको अलौकिक ऊर्जामा समाहित गर्दछ, उसले वर्तमानमा बाच्न सिक्दछ र उ नै परम सत्यको नजिक पुग्न सक्षम छ । यो भनेको मानिस एउटा सुकेको काठको टुक्राको रूपमा ब्रह्माण्डरुपी समुद्रमा तैरिरहेको छ । काठले जतिसुकै जबर्जस्ती गरे पनि भवसागर पार गर्न कठिन छ । समुद्रमा आउनेजाने छालहरु मानिसका सुखदुःख जस्तै क्षणिक हुन् । ब्रह्माण्ड आफैं चलायमान भएको हुँदा काठले समुद्रको छाल रोक्न खोज्नु फगत प्रयास मात्रै हुनेछ । बरु हित त्यसैमा छ, जो समुद्रको लहरसङ्गै आफुलाई त्यसैमा समर्पित गर्दछ । यसैबाट व्यक्ति समुद्रको किनारमा जाने सम्भावना प्रबल देखिन्छ । ब्रह्माण्डको आफ्नै ऊर्जा छ । ऊ आफ्नै ब्रह्माण्डिय खेलमा (COSMIC PLAY) मा सदा सर्वदा मस्त छ । जसले सो नाचसङ्ग नोकझोक नगरी रमाउन जान्दछ, उसैको लागि यो ब्रह्माण्ड उसले सोचे भन्दा धेरै दिन हतार छ । केवल उक्त ऊर्जासङ्ग समाहित हुने व्यक्तिमा व्यक्तित्व हुनुपर्यो । तपाईंको ऊर्जाले ब्रह्माण्डको ऊर्जालाई बदल्न खोज्नु हत्केलाले सुर्य छेकेर अध्यारो ठान्नु शिवाय अरु केही होईन । बरु ब्रह्माण्डको ऊर्जाले तपाईंको ऊर्जालाई ओतप्रोत गराउनु नै सबैभन्दा सहज हुनेछ ।
निम्नलिखित श्रीमद भागवत गीता अध्याय २ को ५६ श्लोकलाई हेर्न सकिन्छ ।
दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।
वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते ॥
अर्थात दुःखको प्राप्तिमा जसको मनमा उद्वेग उत्पन्न हुँदैन , सुखको प्राप्तिमा जो सर्वथा इच्छारहित हुन्छ तथा जसको राग, भय र क्रोध नष्ट भएको हुन्छ, त्यस्तो मुनीलाई स्थिरबुद्धि भनिन्छ । यद्यपि, स्थिरबुद्धिका केही प्रमुख सिमितताहरु भने नभएका होइनन् । उमेर नपुगेका एवं गुरुको सानिध्यताबिना प्रारम्भ गरिएका कतिपय कर्म क्रिया नभएर विकारयुक्त प्रतिक्रिया हुनसक्छन् ।
अत: दु:ख र सुख जीवनका दुई किनारहरु हुन् । तपाईं नदिको रूपमा एक किनारलाई बोक्ने भारी उठाउनु हास्यास्पद छ । नदि जहाँ जहाँ बग्छ, त्यहाँ त्यहाँ दुई किनार बनाई छोडछ । तपाईंको काम भनेको नदि कसरी शुद्धीकरण गर्ने भन्ने हो । त्यसपछिको मार्ग ब्रह्माण्डको ऊर्जाले नै गर्नेछ । ब्रह्माण्डको खेललाई तोडफोड गर्ने तपाईंको कर्म होइन । तपाईंको कर्तव्य भनेको ब्रह्माण्डको ऊर्जा अनुसार आफ्नो कर्तव्यबोध गर्नु मात्र हो । यसको अर्थ तपाईंले आफ्नो ठानेको तनमन पनि शुद्धीकरणको प्रक्रियाबिना आफ्नो वास्तविक स्वरुपमा देखा पर्दैन । त्यसलाई महशुस गर्न अन्तर्दृष्टि चाहिन्छ,जसको लागि ओसोले भने जस्तो केही गर्ने कला सिक्नु भन्दा पहिला केही नगर्ने कला सिक्न जरुरी छ । तब मात्र तपाईंले अस्वीकार र स्वीकारको सन्तुलनलाई सहज र सरल मात्रै होईन, अस्विकारलाई स्वीकारमा रुपान्तरण गर्न सक्नु हुनेछ ।
कसैले केही नगरी बस्दा कतै लथालिङ्ग हुने त होईन भन्ने तपाईंको मनमा अलिकति पनि शंका छ भने म तपाईंलाई पुनः स्मरण गराउन चाहिन्छु कि तपाईंले गर्न सक्ने पनि नगर्नु भनेको हैन । आत्मसाक्षात्कार र शुद्ध हुन सत् एवं स्वप्रयास आवश्यक छ । यसको आवश्यकता उमेर र सचेतताको अवस्थामा भर पर्दछ । बालक र बृद्धलाई अरुलाई भन्दा बढी सहायता चाहिन्छ । मन, वचन र कर्मले शुद्ध व्यक्तिको विचार पनि शुद्ध हुन्छ र त्यस्ता व्यक्तिलाई वातावरण र ब्रह्माण्डबाट स्वचालित आशीर्वाद ऊर्जाको रूपमा प्राप्त हुन्छ भन्ने यसको मूल आशय हो । यो भनेको तपाईंले कुरा गरिरहेको व्यक्ति टुप्लुक्क आइपुगे जस्तै हो । यसको पछाडिको रहस्य भनेको सो व्यक्तिको ऊर्जासङ्ग तपाईंको ध्वनि ऊर्जा सिन्क्रोनाइज भएको हो । आधुनिक विज्ञानमा यसलाई Telepathy भनेर चिनिन्छ ।
शरीर, मन र बुद्धि एकअर्कासँग घनिष्ठ रूपमा अन्तरसम्बन्धित छन् भन्ने कुरालाई वेदान्त, योग दर्शन र आधुनिक मनोविज्ञानले पनि पुष्टि गर्छन् । शरीरले मन र बुद्धिलाई आधार प्रदान गर्छ, मनले भावना र इच्छा उत्पन्न गर्छ र बुद्धिले निर्णय तथा विश्लेषण गर्छ । यी तीनको सन्तुलनले समग्र व्यक्तित्व निर्माण गर्छ । शरीर भौतिक तह हो जसले इन्द्रियहरूमार्फत संसारसँग अन्तरक्रिया गर्छ । मन भावना र इच्छाको स्रोत हो, जसले विकल्प र संकल्प उत्पन्न गर्छ । बुद्धि विश्लेषण र निर्णय गर्ने शक्ति हो, जसले मनका वृत्तिहरूलाई नियन्त्रण गर्छ । यी तिनैको असन्तुलित अन्तरसम्बन्धले अहंकार (Ego) निर्माण गर्छ, जसले वासनाहरूलाई बलियो बनाउँछ । अस्वस्थ मनले बुद्धि भ्रष्ट बनाउछ । बुद्धि बिग्रेपछि शरीर रोगी हुन्छ । रोगले फेरि मन र बुद्धिलाई अझ बिगार गर्दछ । यो दुष्चक्र बाट मुक्त हुन वेदान्त र योग दर्शनमा मन, बुद्धि र चित्त अन्तःकरणका भाग हुन् भनिएको छ जसलाई चित्तवृत्ति निरोधबाट शान्त पारिन्छ । आधुनिक विज्ञानमा मस्तिष्कका विभित्र भागहरूले अन्तरसम्बन्ध देखाउँछन् । BMI (Body-Mind-Intellect) मोडल वेदान्त दर्शनमा आधारित छ, जसले शरीर (Body), मन (Mind) र बुद्धि (Intellect) को अन्तरक्रियालाई आत्मसाक्षात्कारको माध्यम बनाउँछ । यस मोडल अनुसार, हामी सामान्यतया यी तीन तहसँग आफूलाई पहिचान गर्छौं, तर सही ज्ञानबाट यिनलाई पार गरी शुद्ध चेतनाको अनुभव हुन्छ । BMI मार्फत हामी वस्तु, भावना र विचार (OET - Objects, Emotions, Thoughts) सँग बाँधिन्छौं, जसले सुखको खोजी गर्दछ तर अस्थायी हुन्छ । यसले अज्ञानताको कारणले आत्मालाई छोप्छ, जसलाई वेदान्तले अभिनेताको भूमिका जस्तो बताउँछ -हामी भूमिकामा हराउँछौं । बुद्धिको शुद्धता र विवेकबाट यी तहहरूको साक्षी बन्दै आत्मसाक्षात्कार सम्भव हुन्छ । जब हृदय वा आन्तरिक इन्द्रिय शान्त र आफ्नै स्वभाविक अवस्थामा काम गर्दछ जसले चिन्तन, स्मरण र एकाग्रता जस्ता शक्तिहरू उत्पन्न गर्छ ।
मनका मुख्य तीन अवस्था छन्ः सचेतन (जागरुक अवस्था जसबाट दैनिक कार्य हुन्छन्), अचेतन (जानकारी नहुने गहिरो भाग) र अर्धचेतन (आधा जागरुक अवस्था) । फ्रायडको मनोविज्ञानअनुसार यसमा इड (प्रवृत्ति), ईगो (अहम् वा वास्तविकता नियन्त्रक) र सुपरईगो (विवेक) हुन्छन् । भगवत गीतामा मनलाई बन्धन र मोक्षको कारण भनिएको छ जसले शरीर र बुद्धिलाई प्रभावित गर्छ तर आत्माभन्दा फरक छ । मन स्थिर हुँदैन । यो भट्कने, आत्तिने सकारात्मक/नकारात्मक हुने गतिशील तत्व हो जसलाई नियन्त्रण गर्न सकिन्छ तर पूर्ण स्वामित्व हुँदैन । भगवत गीताका अनुसार, मनलाई आत्माको सेवकको रूपमा हेर्न सकिन्छ जसलाई परमात्माको चिन्तनमा लगाउनु पर्छ ।
मनोविज्ञान र न्यूरोसाइन्सअनुसार मन मस्तिष्कको कार्य हो, जुन सचेतन, अचेतन र पूर्वचेतन अवस्थामा हुन्छ । आधुनिक विज्ञानले MRI जस्ता उपकरणबाट यसलाई मापन गर्छ । मनोविज्ञानका सिद्धान्तहरूमा मनको ब्याख्या मुख्यतःसंरचनावाद, कार्यवाद, मनोविश्लेषणवाद र संज्ञानात्मक सिद्धान्तहरूबाट गरिएको छ । यी सिद्धान्तहरूले मनलाई मस्तिष्कको प्रक्रिया, व्यवहार वा संज्ञानात्मक क्रियाकलापको रूपमा हेर्छन् । संरचनावाद (विल्हेम वुन्ड्टद्वारा स्थापित) ले मनलाई चेतना र अनुभवका आधारभूत तत्वहरूको विश्लेषणमा आधारित ठान्छ, जसलाई प्रयोगात्मक विधिबाट अध्ययन गरिन्छ । कार्यवाद (विलियम जेम्स) ले मनलाई पर्यावरणसँग अन्तरक्रिया गर्ने कार्यको रूपमा परिभाषित गर्छन, न कि आन्तरिक संरचना । मनोविश्लेषणवाद (सिग्मन्ड फ्रायड) ले मनलाई इड, ईगो र सुपरईगोका अवचेतन भागहरूमा विभाजित गर्छन, जबकि संज्ञानात्मक सिद्धान्त (जीन पियाजे, नोम चोम्स्की) ले यसलाई सूचना प्रशोधन प्रक्रियाको रूपमा हेर्छन । न्यूरोसाइन्सले यसलाई न्युरोनल नेटवर्क र न्यूरोकेमिकल क्रियामा आधारित मान्दछ ।
मनले आफ्नो वास्तविक स्वरूप धारण गर्न चित्तवृत्तिहरूको निरोध र आत्मज्ञान प्राप्त गरेर सम्भव हुन्छ । पतञ्जलि योगसूत्र अनुसार मनका पाँच अवस्थाहरूबाट गुज्रेर निरुद्ध अवस्थामा पुग्दा वास्तविक स्वरूप प्रकट हुन्छ भनिएको छ । अद्वैत वेदान्तमा आत्मा र ब्रह्मको एकत्व बोधले मन शान्त र स्वाभाविक बन्छ भन्दछ । पतञ्जलि योगसूत्रले मनका पाँच अवस्थाहरू वर्णन गर्दछः क्षिप्त (अस्थिर), मुड्डू (मन्द), विक्षिप्त (आंशिक एकाग्र), एकाग्र (एकाग्रचित्त) र निरुद्ध (पूर्ण नियन्त्रित) । एकाग्र र निरुद्ध अवस्थामा पुग्दा मनले वास्तविक गुणहरू ग्रहण गर्दछ र आत्माको ज्ञान प्राप्त हुन्छ । निरुद्ध अवस्थामा चित्तका संशोधनहरू हराउँछन्, जसले भ्रम हटाएर सत्य स्वरूप प्रकट गर्दछ । भगवत गीताका अनुसार अभ्यास र वैराग्यबाट मन नियन्त्रण हुन्छ, जसले आत्मा र परमात्माको एकता बोध गराउँछ । अद्वैत दर्शनमा अविद्या नष्ट भएपछि जीव ब्रह्ममा लीन हुन्छ भनिएको छ, जसले मनलाई आफ्नो शुद्ध स्वरूप दिन्छ । ध्यान र इन्द्रिय संयमले मनका विकारहरू हटाउँछन् भन्नेमा लगभग सबैको एकमत छ । हिन्दु र बौद्ध दर्शनले मनलाई शुद्ध बनाउन ध्यान र भक्ति सिफारिस गर्दछन । भानुभक्तीय रामायणमाले आत्मतत्त्वलाई नित्य मान्छ । दैनिक अभ्यासले मन फुरुङ्ग र शान्त बन्छ भन्नेमा कसैको फरक मत देखिदैन ।
चेतना शुद्ध अवस्थामा अहंकाररहित हुन्छ, तर विचारहरूले "म" भन्ने भ्रम सिर्जना गर्दा अहम् जन्मिन्छ । अध्यात्मिक दर्शनमा यो अविद्या वा मायाबाट उत्पन्न भएको मानिन्छ । चेतना मनको जागरण हो जसले वातावरण र आत्माको अनुभव गराउँछ, जबकि विचारहरू दिमागी डाटा विश्लेषणबाट बन्छन् र बदलिरहन्छ्न । यी विचारहरूले व्यक्तिपरक "म " भन्ने भावना जागृत गर्दा अहम् बलियो हुन्छ, जसलाई विज्ञानले न्युरोनल नेटवर्कसँग जोड्छ । भगवत गीता र योगसूत्रमा चित्तवृत्तिहरूले यो भ्रम निम्त्याउने उल्लेख छ । अस्पष्ट एवं अपूर्ण सूचना संग्रह हुँदा गलत विचारहरू जन्मिन्छन्, जसले "म अलग छु" भन्ने द्वैत बोध गराउँछन् । अद्वैत वेदान्त अनुसार यो अविद्या हो जसमा शुद्ध चेतनालाई अहंकारले ढाक्छ । विवेकपूर्ण अभ्यासहरुबाट विचारहरूको निरोध गर्न सकिन्छ , जसले चेतनालाई शुद्ध राख्छ । भक्ति र ज्ञानमार्गले द्वैत भ्रम हटाउँछन् । आत्म-प्रतिबिम्ब र मौनताले अहंकारको जाल फुकाउँछन ।
अहंकारको न्यूरोलजिकल गठन निम्न प्रक्रियाहरूबाट हुन्छ, जसमा डिफल्ट मोड नेटवर्क (DMN), सेल्फ-रेफरेन्सियल थिंकिङ र न्यूरोप्लास्टिसिटी मुख्य भूमिका खेल्छन् । मस्तिष्कको फ्रन्टल कोर्टेक्स र मध्य टेम्पोरल भाग जस्ता क्षेत्रहरूले "म" भन्ने पहिचान निर्माण गर्दछन् । सिनाप्सिस कनेक्सनहरू बलियो हुँदा अहम् स्थायी बन्छ । DMN ले आराम अवस्थामा आत्म-सम्बन्धित विचारहरू उत्पन्न गर्दछ, जसले अहंकारलाई मजबुत बनाउँछ । मिरर न्यूरोनहरूले सामाजिक अन्तरक्रियाबाट "म अलग छु" भन्ने भावना सिर्जना गर्छन् । डोपामाइन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समिटरहरूले स्वचेतनालाई नियमन गर्दछन् । मस्तिष्कमा अहम् निर्माणको चरणहरू निम्न छन्:(१)सिनाप्टिक प्लास्टिसिटीः बारम्बारको अनुभवले न्युरोन कनेक्सनहरू परिवर्तन गर्दा स्वअवधारणा बन्छ । (२)अगाडिको भाग सक्रिय: निर्णय निर्माण र आत्म-मूल्यांकनले अहम् विकसित हुन्छ । (३)लिम्बिक प्रणाली :भावनाहरूले अहम्कारलाई व्यक्तिगत बनाउँछ ।
योग र ध्यानले DMN लाई शान्त पारेर अहम् कम गर्दछ, जसले चेतनालाई शुद्ध बनाउँन सहयोग गर्दछ । यस सन्दर्भमा भक्ति र ज्ञानमार्ग पनि प्रभावकारी छन् । यी सबै उपायहरूभित्र लुकेको मुख्य कुरा भनेको "म" भन्ने तत्वलाई "हामी" भन्ने तत्वभावले प्रतिस्थापन गर्नु हो । यो फेरि जबर्जस्ती सम्भव छैन । त्यसको लागि प्राकृतिक प्रवाहमा आफुलाई समाहित गर्न सकिन्छ जसले "ME" लाई मिलाएर "WE" बनाउनेछ । त्यसका लागि सर्वप्रथम व्यक्ति अनुशासनमा रहनुपर्छ( खानपिन, आराम, अभ्यास,सेवा आदि ) । त्यसपछि स्वीकार्यता( दुख सुखमा समभाव)चाहिन्छ । अन्त्यमा सचेतना ( ज्ञान, विवेक र आध्यात्मिक जागरण)ले आफ्नै प्राकृतिक स्वरुपमा ब्रह्माण्डको ऊर्जासङ्ग एकीकृत रूपमा काम गर्नेछ ।
लेखक बस्याल अनुसन्धानकर्ता तथा प्रेरकवक्ता हुन । प्रतिक्रियाको लागि: chintanmanan11@gmail.com
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology