देवदह । नेपाली कांग्रेसले देवदहमा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेको छ । मंगलवार एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य अब्दुल रज्जाक र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हिरा बहादुर खत्रीसहितका नेताहरुको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै पूर्व राज्यमन्त्री समेत रहेका रज्जाकले नेपाली कांग्रेस विकासको पर्याय भएको उल्लेख गरे । रुपन्देही क्षेत्र नं १ मा विकासको सुरुवात पुर्वसांसद स्व. दुर्योधन सिंह चौधरीले गरेको उल्लेख गर्दै रज्जाकलेपुराना योजना पुरा गर्न र आफ्ना पालामा सुरु गरेका योजना पुरा गर्न पनि कांग्रेसलाई जिताउनु पर्ने बताए ।
कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति समेत रहेका उम्मेदवार हिरा बहादुर खत्रीले निर्वाचन पछि गगन थापाको नेतृत्वमा सरकार बन्ने बताए । देशको राजनीति बुझेको परिपक्क युवा गगन थापालाई रुपान्तरित कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको उल्लेख गरे ।
उनले भदौ २३ को जेनजी आन्दोलन परिवर्तनको लागि भएको भन्दै रुपान्तरित कांग्रेसले त्यो परिवर्तनको मुद्धालाई आत्मसाथ गरेर अघि बढ्ने समेत बताए ।
कार्यक्रममा पार्टी नेताहरु गङ्गा शाही, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि भण्डारी, सुरेश राना, लक्षु न्यौपाने, बासु रिमाल लगायतले बोलेका थिए ।
क्षेत्र नं १ अन्तर्गत प्रचारप्रसारको कार्यक्रमलाई तिव्रता दिएको कांग्रेस निर्वाचन परिचालन कमिटीले यसअघि तिलोत्तमा १५ कोटिहवा र रोहिणी ३ धकधईमा क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
त्यस्तै तिलोत्तमाको वडा नं ८,११,१२, १५, १६ र १७ रोहिणीको वडा नं ३ र देवदहको वडा नं १, २, ४ र ७ मा वडा सम्पर्क कार्यालय स्थापना गरेको नेपाली कांग्रेस रुपन्देहीका सचिव एवम् क्षेत्र नं १ का प्रचार प्रसार संयोजक हरि काफ्लेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology