देवदह । रुपन्देहीको देवदहस्थित देवदह खानेपानी तथा सरसफाइ संस्थाको उपभोक्ता समितिको निर्वाचनले देवदह तातेको छ । सोही क्रममा बुधबार पत्रकार सम्मेलन गर्दै संयुक्त गठबन्धनका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी लगायतका दलका साझा उम्मेदवारहरूले प्रतिबद्धता सार्वजनिक गर्दै आफुहरूले जीत हासिल गरेमा विद्यमान खानेपानी महसुल र धारा जडान शुल्कको रकम घटाईने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार मोतिलाल ढकालले विद्यमान खानेपानी महसुल ५० प्रतिशत कम गरि मासीक मात्र ५० रुपैया कायम गरिने बताए । त्यसैगरि धारा जडानमा लिईदै आएको हालको रकममा २५ प्रतिशत कम गरि ९ हजार कायम गरिने उल्लेख गर्दै ढकालले शारीरिक अपाङ्गता भएका, शहिद परिवार र अतिविपन्न परिवारलाई धारा जडानमा थप २५ प्रतिशत छुट प्रदान गरिने घोषणा गरे ।
सबै कुरामा छुट दिएर संस्था कसरी चलाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा जवाफ दिंदै ढकालले आफुहरूले प्रतिबद्धता गरे अनुसार काम गर्दा संस्थागत विकास र उपभोक्तालाई राहत दुबैएकै साथ बताए । आफुले जनाएको प्रतिबद्धता अनुसार काम गर्दा संस्था मासिक ४ लाख बढी नाफामै रहने उल्लेख गर्दै उनले संस्थागत विकासका लागि उपभोक्तामा मात्र सिमित नरहेर अन्य आम्दानीका स्रोत समेत नेतृत्वले जुटाउनुपर्ने र आफुले उक्त काम गर्ने बताए ।
अनावश्यक शुल्क वृद्धि गरेर उपभोक्ताको ढाड सेक्ने पक्षमा आफू नरहेको प्रष्ट पार्दै ढकालले यस अघिको नेतृत्वले चरम शुल्क वृद्धि गर्ने, समयमै साधारणसभा नगर्ने, उपभोक्ता प्रती जवाफदेही नहुने र आर्थिक पारदर्शिता समेत कायम नगरेकोले देवदहमा क्रियाशिल ६ दलको तर्फबाट आफूहरू साझा उम्मेदवारको रुपमा निर्वाचनमा होमिएको बताए ।
सोही पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस देवदह सभापति गुनाखर भुर्तेलले एउटै प्यानलमा सहमति कायम गर्न आफुहरूले गरेको पहलमा नेकपा एमाले बाधक बनेको उल्लेख गरे । उनले भने, 'सकेसम्म हामी यहाँका कुनैपनि सामाजिक संघसंस्था र विद्यालयहरूमा निर्वाचन गरी राजनीतिक रुपमा उपभोक्ता र अभिभावकलाई विभाजन गर्न चाहान्नौं तर एमालेले एकता र सहमतिको कुरा सुन्न पनि नचाहेका कारण यो स्थिति बनेको हो।'
देवदह खानेपानीका ४ हजार ३ सय उपभोक्ताले यहि फाल्गुन १४ गते निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्दैछन् । निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार ढकालसंग यस अघिका अध्यक्षसमेत रहेका एमाले नेता गुमान सिंह कुवँर प्रतिस्पर्धामा छन् ।
चुनावी दौरानमा ढकाल प्यानलले यस अघिको नेतृत्वले प्रतिबद्धता अनुसार काम गर्न नसकेको र नियमितरूपमा गर्नुपर्ने सामान्य काम समेत नगरेको बताउँदै आफुहरूलाई जिताउन उपभोक्तासंग अपिल गरेको छ भने कुंवर प्यानलले अझै एकपटक मौका दिन अनुरोध गरेको छ ।
सोही क्रममा गठबन्धन प्यानलले निर्वाचन प्रचार सामग्रीको रुपमा ४ मिनेट बराबरको भिडियो क्लिप समेत सार्वजनिक गरेको थियो ।
गठबन्धनका उम्मेदवारको १७ बुँदे घोषणा पत्र जस्ताको तस्तै :
स्वच्छ, गुणस्तरीय र सर्वसुलभ खानेपानीका लागि संयुक्त गठबन्धनको प्रतिबद्धता
१. विद्यमान खानेपानी महसुलमा ५०% घटाई न्युनतम मासिक महसूल रु. ५०/- कायम गरिनेछ ।
२. नयाँ धारा जडान गर्दा हाल लिईदै आएको शुल्कमा २५% घटाइनेछ ।
३. पूर्व अध्यक्ष स्वर्गीय नमराज पुरीको पहलमा सुरु भई हाल संचालनमा रहेको सहलगानीको योजनालाई निरन्तरता दिँदै उक्त आयोजना समयमै सम्पन्न गरिनेछ । साथै सहलगानीको योजना सम्पन्न भएपछि धारा जडान शुल्क रु. १५००/- कायम गरिनेछ ।
४. राजमार्ग, सडक र बाटोको दुबैतर्फ खानेपानी पाईपलाइनको विस्तार गरिनेछ ।
५. पूर्ण अपाङ्गता एवं सहिद तथा अति विपन्न परिवारलाई नयाँ धारा जडानमा २५% छुटको व्यवस्था गरिनेछ । साथै न्यून आर्थिक अवस्था भएका उपभोक्तालाई किस्ताबन्दीमा नयाँ धारा जडान शुल्क तिर्ने व्यवस्था गरिनेछ ।
६. एकाघर परिवारभित्रबाट धारा नामसारी गर्नुपरेमा हाल ३५ दिन रहेकोमा सोको अवधि बढाई ९० दिनसम्म निःशुल्क तथा तत्पश्चात हाल कायम रहेको शुल्कमा ५०% छुट उपलब्ध गराइनेछ ।
७. खानेपानीको सहज आपूर्तिको लागि आवश्यकता अनुसार बोरिङ्ग थप गरिनेछ ।
८. सार्वजनिक स्थलमा आवश्यकता अनुसार सार्वजनिक धारा र शौचालयको व्यवस्था गरिनेछ ।
९. पिउने पानीको शुद्धतालाई उच्च प्राथमिकता दिँदै खानेपानी गुणस्तर परीक्षणका लागि अत्याधुनिक ल्याबको व्यवस्था गरिनेछ ।
१०. नियमितरुपमा साधारणसभा गर्दै उपभोक्ताहरूको सुझावका आधारमा नयाँ योजनाहरु तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
११. घरायसी तथा संस्थागत मिटर बिग्रिएको अवस्थामा हाल लिइदै आएको शुल्क खारेज गरी निःशुल्क रूपमा प्राविधिक सेवा उपलब्ध गराइनेछ ।
१२. देवदह क्षेत्रका अन्य खानेपानी संस्थाहरुलाई एकीकरण प्रक्रियामा अगाडि बढाई बृहत नमुना खानेपानी संस्थाको निर्माणको लागि पहल गरिनेछ ।
१३. मिटर रिडिङ्ग भएको एक हप्ता भित्र महशुल भुक्तानी भएमा ५ प्रतिशत छुट प्रदान गरिनेछ ।
१४. संस्थाका आर्थिक गतिविधिहरुमा पारदर्शीता कायम गरिनेछ । १५. देवदह खानेपानी क्षेत्रभित्र वडास्तरमा घुम्ती पानी परीक्षण सेवा उपलब्ध गराईनेछ ।
१६. उपभोक्ताको सहजीकरणका लागि उपभोक्ता सहायता कक्ष (Help Desk) को व्यवस्था गरिनेछ ।
१७. बाढिका कारण क्षतिग्रस्त पानीको मुख्य मुहान र दाउन्नेको ट्याङ्कीलाई मर्मत गरि यथाशीघ्र पुर्ण रुपमा संचालन गरिने छ ।
हेर्नुहोस्, गठबन्धन प्यानलको प्रचार भिडियो:
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology