देवदह । रुपन्देहीको देवदहस्थित केरवानी माध्यमिक बिद्यालयमा अध्यापनरत शिक्षकले अभिभावकमाथि हातपात गरेको घटना सार्वजनिक भएको छ । आइतबार साँझ पत्रकार सम्मेलन गर्दै विद्यालयका अभिभावक विरेन्द्र पाण्डेले विद्यालयका शिक्षक यज्ञ प्रसाद न्यौपानेले आफुमाथि विद्यालय प्राङ्गणमै हातपात गरेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अभिभावक पाण्डेले विद्यालय हाताभित्र केहि बिद्यार्थीहरुले चुनावी पर्चा वितरण गरेको देखेपछि बिद्यालयभित्र राजनीति हुन नहुने र विद्यार्थीलाई यस्तो कार्य गर्न नदिनका लागि अनुरोध गर्दा शिक्षक न्यौपानेले एक्कासी आफुमाथि हातपात गरेको बताए । विद्यालयमा शिक्षकले राजनीति गर्ने र विद्यार्थीमाथि कुटपिटका घटना हुने गरेको आफुले सुन्दै आएको उल्लेख गर्दै पाण्डेले विद्यार्थी कुट्ने शिक्षक अभिभावक नै कुट्न अगाडि सर्ने कुरा सामान्य नभएको बताए ।
विद्यालय प्राङ्गणमै राजनीतिक कार्यकर्ताको स्तरमा ओर्लीएर अभिभावकलाई हातपात गर्ने शिक्षकले पेशागत मर्यादा कसरी कायम गर्न सक्छन् र उक्त विद्यालय कसरी आम विद्यार्थी र अभिभावकको रोजाईको विद्यालय बन्न सक्छ भन्दै पाण्डेले आफुलाई हातपात गर्ने शिक्षकलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
यद्यपि आरोपित शिक्षक न्यौपानेले भने आफुले हातपात नगरेको बताएका छन् । सामान्य विवाद भएको र उक्त विवादलाई अतिरन्जित गर्न खोजिएको उनको भनाइ छ ।
स्मरण रहोस्, नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा सुचिकृत उक्त विद्यालयको व्यवस्थापन समितिको निर्वाचन यहि फाल्गुन ३ गते हुँदैछ।चुनावमा संयुक्त गठबन्धन र नेकपा एमालेले फरक-फरक प्यानल बनाएर निर्वाचनको मैदानमा ओर्लिईसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology