हामी साना छदा पुस १५ गते आउनु भनेको साधारण दिनको अन्त्य र एउटा विशेष उत्सवको सुरुवात जस्तै हुन्थ्यो । बुढा पाकाको भनाई अनुसार पुस १५ वर्षभरिकै सबैभन्दा छोटो दिनहुन्छ । यस दिनदेखि दिन लामो हुन थाल्छ फलस्वरूप घमाईलो मौसमको सुरुआत हुन्छ भनेर पनि खुसि मानिन्थ्यो । गाउँघरमा यस दिनलाई हामीले 'पुसे पन्ध्र खाजा खाने दिन' भनेर चिन्थ्यौं । औपचारिक नाम राष्ट्रिय पर्व वा कुनै ठूलो पर्वभन्दा धेरै टाढा रहेर पनि यो दिन हाम्रो बाल्यकालको सबैभन्दा रमाइलो दिनहरुमध्ये एक दिन थियो । पुस महिनाको कठ्यांग्रिने जाडोमा पर्ने यो दिनले केटाकेटीलाई न्यानोपन थपिदिन्थ्यो ।
पुसे पन्ध्र आउनु केही दिनअघिदेखि नै हामी बालबालिकाहरुबिच उत्साह सुरु हुन्थ्यो । मिल्ने साथीहरू जम्मा भएर के खाने सामान के कति किन्ने वा घरबाट ल्याउने कति पैसा उठाउने भन्ने योजना बनाइन्थ्यो । कसले कुन घरबाट के के भाडाकुडा ल्याउने भन्ने कुरा मिलाइन्थ्यो । सबैको योगदान बराबर नहुन सक्थ्यो, तर भावनामा सबै बराबर हुन्थ्यौं । यही सहकार्य र सामूहिकताले हामीलाई सानै उमेरदेखि मिलेर काम गर्न र बाँडेर खान सिकाएको थियो ।
पुस १५ को दिन बिहानैदेखि गाउँका केटाकेटीहरुमा छुट्टै चहलपहल देखिन्थ्यो । चामल पिस्ने जिम्मा परेकाले जातोमा चामल पिस्थे । छाप्रो बनाउने जिम्मा परेकाले छाप्रो बनाउथे आ-आफ्नो काम अनुसार काम गरिन्थ्यो । त्यो छाप्रो हाम्रो लागि कुनै उत्सवस्थलमा आजभोलि टेण्टले सजाए भन्दा कम हुँदैनथ्यो । वरपर पाईने घाँस झार आदिले सजाईन्थयो । साँझपख त्यहि छाप्रोमा आगो बालिन्थ्यो, त्यहीँ रोटी पाक्थ्यो, सेलरोटी, फुलौरा जस्ता परिकारहरू बन्थे । बारीमा भएका मकैका ढोडडाठ जम्मा पारेर आगो लगाएर रमाइलो गरिन्थ्यो । पुसको चिसोले हात कढ्याङ्ग्रिए पनि आगोको ताप र साथीहरूको संगतले मन भने सधैं न्यानो रहन्थ्यो ।
साथी भाइ सँगै बसेर आफैंले पकाएको खानेकुरा खानुको आनन्द बेग्लै थियो । त्यो खाना केवल स्वादको कुरा थिएन, त्यो मित्रता, श्रम र आपसी विश्वासको प्रतिफल थियो । खाना खाए पछि दोहोरी गित गाउने, गाउखाने कथा भन्ने, लोक कथा भन्ने मादल, खैजडी, मजुरा आदि बजाउने नाच्ने गरिन्थ्यो । यसरी नाच्दै खेल्दै बनाएका खाने चिजहरु खाइसके पछि बाँकी रहेका सबै खानेकुराहरु भाग लगाइन्थ्यो र आ-आफ्नो घरमा लगिन्थ्यो ।
त्यो बेला गाउँमा पुसको चिसो निकै कडा हुन्थ्यो । बिहान कुहिरोले ढाकिएको गाउँ, दिउँसो हल्का घामले न्यानो महशुस भए पनि साँझपख झन् बढ्ने जाडो पुस महिनाको धर्म नै थियो ।
समयसँगै पुसे पन्ध्रको स्वरूप पनि परिवर्तन हुँदै गएको छ । आज पुसे पन्ध्र केवल बाल्यकालको सम्झनामा मात्र सिमित छैन । यो दिन अहिले गुरुङ जातिको नयाँ वर्षको रूपमा राष्ट्रिय पर्वकै रुपमा मनाइन्छ । गुरुङ समुदायले यस दिनलाई 'तमु ल्होसार' नयाँ वर्षको सुरुवातको दिनकारूपमा मनाउँदै आएका छन् । नयाँ वर्षको आगमनसँगै घर-घरमा सरसफाइ, विशेष परिकारको तयारी, परम्परागत पोसाक, नाचगान र आपसी शुभकामना आदान–प्रदान गरिन्छ । यसरी पुसे पन्ध्रले समुदायको पहिचान, इतिहास र संस्कृतिलाई जग्रेना र उजागर गर्ने महत्वपूर्ण भूमिका खेलेको छ ।
आजको पुस्ताले पुसे पन्ध्रलाई सांस्कृतिक उत्सव, पर्यटन र राष्ट्रिय पहिचानसँग जोडेर हेर्न थालेको छ । अहिले विभित्र कार्यक्रमहरू आयोजना गरेर मनाउन थालिएको छ । सामाजिक सञ्जालमा शुभकामना सन्देशहरू आदान-प्रदान हुने गर्छन् । यी जे जे परिवर्तन भएपनि पुसे पन्ध्रको मूल आत्मा मिलेर खाने, बाँड्ने र खुसी साट्ने संस्कार-अझै जीवित छ।
पुसे पन्ध्रले हामीलाई विगत र वर्तमानलाई जोड्ने सेतुको काम गर्छ । बाल्यकालका साना छाप्रोदेखि आजका भव्य सांस्कृतिक मञ्चसम्म यसको यात्रा लामो भए पनि यसको भावना उस्तै छ । यो दिनले हामीलाई सम्झाउने गर्छ । संस्कृति केवल किताबमा होइन, अनुभवमा बाँच्दछ । पुसे पन्ध्र केवल एउटा मिति होइन, यो हाम्रो स्मृति, हाम्रो पहिचान र हाम्रो सामूहिक जीवनशैलीको सुन्दर प्रतीक हो । यस्ता पर्वहरुको हामी सबै मिलेर संरक्षण गर्न जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology