बुटवल । पर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने सो क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायले सुझाव दिएका छन् । उनीहरुले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरु बीचको सहज पहुँच बनाउनुपर्ने, धार्मिक स्थानहरु सोही खालका पर्यटकीय वातावरण बनाउन आग्रह गरेका छन् ।
रुपन्देही उद्योग संघले संचालन गरेको १६औं औद्योगिक प्रदर्शनीको अवसरमा आयोजित पर्यटकीय प्रवेशद्वार र पूर्वाधार लुम्बिनी समृद्धिको आधार विषयक पर्यटन बहसमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
उनीहरुले पर्यटकीय संघसंस्थाहरुबीच समन्वय र सहकार्यको वातावरण बनाउन सुझाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय अभियान तथा टुर प्याकेज संचालन गर्न, भारतीय पर्यटकहरुको सम्मानपूर्व व्यवहार गर्न सुझाव दिएका छन् ।
सहभागी अधिकांशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनका लागि सरकारसँगै निजी क्षेत्र पनि थप अग्रसर हुनुपर्ने आग्रह गरेका छन् । गोष्ठीमा सहभागीले प्रश्न गरे - 'लुम्बिनीमा आएका पर्यटक किन प्रदेशका अरु जिल्लामा जान सकेनन् र लुम्बिनीमै पनि किन रात बिताउन सकेनन् ? मायादेवी मन्दिरबाहेक अन्य स्थानमा जान सकेनन् । पूर्वाधारसहित निजी क्षेत्रको पनि ठूलो लगानी भएपनि पर्यटक किन बढ्न सकेनन् ।'
उद्योग संघले 'समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार' भन्ने मूल नाराका साथ बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०८२ मा यो विषय केन्द्रीत गरेर छलफल गराएको हो । छलफलमा नियामक निकायका तर्फबाट पर्यटन विकास परिषद, लामो समयदेखि यो क्षेत्रको प्रवद्र्धनमा लेखेका अध्येता, लेखक तथा पत्रकार, पर्यटन व्यवसायी, पर्यटन विधामा अध्यापन गर्ने कलेजका अध्यापक तथा विद्यार्थी तथा विभिन्न सघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी पर्यटन विकास परिषद लुम्बिनी अध्यक्ष रामु जोशीले धार्मिक र पर्यटन क्षेत्र छुट्टाएर योजना बनाएको बताउँदै लुम्बिनीको पर्यटनको क्षेत्रमा धेरै महत्वपूर्ण काम गरेको बताए । ‘प्रदेशले नीति बनाइरहेको, होमस्टेमा संस्कृति संरक्षणका कार्यक्रम र प्रवद्र्धन गर्ने योजना बनाएको छ, खासगरी लुम्बिनी, बर्दिया राष्ट्रिय निकुन्ज र पाल्पालाई हिलस्टेशनका रुपमा अघि सार्ने योजना बनाएका छौं’ उनले भने । उनले व्यवसायीहरुलाई प्रविधिको प्रयोग गरेर पनि धेरै पर्यटक आउने भएकाले यसमा पनि व्यवसायीले ध्यान दिन सुझाए ।
‘प्रदेशबाट गन्तव्य पहिचान गरेका छौं, ६३० वटा गन्तव्य लक्षित गरेर योजना बनेका छन् तर रकम अभावमा ठूला काम हुन सकेका छैनन् ’ उनले भने - ‘धेरै ठाउँमा संरचना बनेको तर त्यसको परिचयसहितको सजावट नभएको पर्यटकले भनेका छन्, पाल्पा र गुल्मीमा भारतीय पर्यटकको चाप बढी छ तर भारतीय पर्यटक धेरै भेज हुने भएकाले व्यवसायीले ध्यान दिनुपर्ने छ । प्यूठानको स्वर्गद्धारी त्यसै प्रकारको अर्को महत्वपूर्ण गन्तव्य हो ।’
उनले पर्यटन क्षेत्रमा धेरै संभावना रहेको बताउँदै धेरै पर्यटक संस्कृति हेर्न आएकाले व्यवसायीले यसमा ध्यान दिन आग्रह गरे । ‘लुम्बिनीमा आउने धेरै वस्तु चीनबाट आइरहेकोले त्यसको आधारमा यहाँ उद्यमीको केन्द्रीकृत योजना बनाउनुपर्छ । यसमा पनि ध्यान जानुपर्छ’ उनले भने ।
पर्यटन क्षेत्रका अध्येता डा. गितु गिरीले यो क्षेत्रमा ठूलो लगानी भए पनि कनेक्टिभिटी नभएकाले यसमा ध्यान दिन आग्रह गरे । ‘अरबौं लगानी गरेर संरचना बनायौं तर कनेक्टिभिटी नभएकाले त्यो चलायमान बनाउन सकिएन, निजी क्षेत्रका पनि योजनाबद्ध काम भएनन्, लुम्बिनीकै विकासलाई बलियो बनाउन सकेनौं । दस्तावेज मात्रै बनाउन भएन प्रेसरका रुपले जैजाऔं ।’ उनले भन्नुभयो, ‘छिमेकी मुलुकका पर्यटकलाई पनि अन्य देशहरुका पर्यटकलाई जस्तै सम्मान गरौं त्यसको सन्देश राम्रो जान्छ । ४० वर्षदेखि म यो क्षेत्रमा अनुसन्धानको काम गरिरहेको छु, कनेक्टिभिटीमा लैजाने अभियान सुरुवातीबाट भएन, सरकारको पोलिसी बन्न सकेन, बनेका पनि कार्यान्वयन भएन, लुम्बिनीमा रहेका ४२ भन्दा धेरै सम्पदा छन् पर्यटकलाई त्यो दिन सकेनौं, बलियो स्टोरी दिन सकेनौं ।’ उनले छिमेकी मुलुक भारतका धेरै पर्यटक यहाँ आउने भएकाले पनि अन्य देशहरुका पर्यटकलाई सरह उनीहरुलाई सम्मान गर्न आग्रह गरे ।
पर्यटन व्यवसायी सिपी शर्माले पर्यटक टिकाउन किन सकेनौं त ? भन्ने विषयमा सरकारले मात्रै होइन अब निजी क्षेत्रले पनि ध्यान दिनुपर्ने बताए ।
‘लुम्बिनीमा रहेका गुम्बाहरुमा विभिन्न देशबाट आउने पर्यटकहरु राखिएकाले बाहिरी क्षेत्र चलायमान भएन, बृहत लुम्बिनीको विकास योजना नभएकैले बढी समस्या भयो, भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको साढे ३ वर्षमा किन संचालनमा आएन र ब्यूरोक्रेटले भारतसँग कुरा गर्न नजानेकै कारण समस्या परेको हो’ उनले भने - ‘सीमा क्षेत्रमा पर्यटकले पाउने समस्या निकै धेरै भए, भन्सारमा उस्तै समस्या छ, सुरक्षाको क्षेत्रमा उस्तै समस्या छ । विज्ञहरु मन्त्री नहुँदा पनि समस्या भइरहेको छ, सरकारी क्षेत्रलाई सुधार्न दबाद दिँदै निजी क्षेत्रले पनि हातेमालो गरौं ।’
पर्यटन व्यवसायी तथा मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले बन ऐन र पर्यटन ऐन संशोधन नभएसम्म पर्यटन क्षेत्रमा कुनै सुधार नआउने तर्क गर्दै यो क्षेत्रका विषयमा बढी हल्ला र काम कमी भएकाले चाहेजस्तो नजिता नआएको बताए ।
‘सधै चर्चामात्र भयो अब एक्सनमा जाऔं, वन ऐन र पर्यटन ऐन संशोधन नभएसम्म अहिलेको अवस्था चलायमान हुनसक्दैन, एउटा प्रोजेक्ट चलाउन १० वर्ष अड्काृउने शैलीले काम रोकिएका छन्, सरकारी निकायबाटै एकसंग अर्को कानुन बाझिदा समस्या भयो’ उनले भने - ‘पार्क र फूलबारी सबैलाई चाहियो तर त्यो बनाउने नीति नै भएन । भएका सम्पदामा कति काम भयो र भएका संरचनाबाटै काम नभएकाले समस्या छ ।’
उनले पर्यटन क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण गलत भएको बताए । ‘दृष्टिकोणमै सुधार भएन, कुरामा मात्रै सीमित भयो, नीतिसहितको लगानी आउनपर्यो । सबै होटलमा अरबौं लगानी छ तर भविष्य अन्यौल भयो । भारतीय पर्यटकलाई ठाउँठाउँमा दिइने दुःखले नकारात्मकता बढायो । अब युपि-बिहार लक्षित कार्यक्रम गरौं, पर्यटक आएन पनि भन्नुहुन्छ, होटलमा त लगानी बढेको बढ्यै छ भन्ने प्रश्न छ । यो बाध्यता हो ।’
होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले पर्यटनमैत्री वातावरण र लगानीमैत्री वातावरण नभएकाले पर्यटन क्षेत्र अस्थिर भएको बताउँदै यसको लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताए ।
कार्यक्रममा टिप्पणीकर्ता पर्यटन क्षेत्रका अध्येता युवराज कंडेलले शुक्रबारको पर्यटन बहसमा फरक फरक अनुहार आएकाले केही नयाँ विषयले प्रवेश गर्नुका साथै योजना बनेको बताए । ‘नीतिको कमी र बजेटको समस्या भयो, टक्सेरा पुगेका यात्रु धेरै दिन बस्छन् भन्ने बुझ्नुपर्यो । तालिममा बसेका जनशक्ति प्रयोग भएनन् । वनमा पर्यटन क्षेत्र समेट्नेगरी ऐन आउनुपर्ने थियो ।’ उनले भने ‘आन्तरिक पर्यटक बढाऔं, पहिलो प्राथमिकता आन्तरिक पर्यटनमा ध्यान दिऔं । स्थानीय पाठ्यक्रममै पर्यटनका क्षेत्रलाई राख्नुपर्ने, सांस्कृतिक विविधता दिनुपर्छ, भारतसँग साझेदारी गरेर जाऔं, अतिवाद छोडौं । खानाका स्वादमा मौलिकतापन राखम् । बौद्ध शिक्षा, सम्पदा क्षेत्रलाई ध्यान दिऔं ।’
पत्रकार महासंघ अध्यक्ष दिनेश पाण्डेले लुम्बिनी विकासको बाधक त्यहीको कोष भएको बताउँदै निजी क्षेत्रले पनि त्यसको वातावरण बनाउन नसकेको बताए । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गोष्ठी तथा सेमीनार उपसमिति संयोजक डिल्लीनारायण पाण्डे, विक्रम खड्का संघका पूर्वअध्यक्ष तेजकुमार पाठक लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology