देवदह । देवदहको खैरेनीस्थित केरवानी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको फाल्गुन ३ गते हुने निर्वाचनको मिति नजिकिंदै गर्दा उम्मेदवारहरूले प्रचार प्रसार बढाउँने र सार्वजनिक प्रतिबद्धता जनाउने कामको सुरुवात भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारले निर्वाचन जितेमा गर्ने कामहरूको १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका विरेन्द्र पाण्डे, धनकुमारी सापकोटा, पदमकुमारी रिजाल (सुष्मा), र सीता काफ्ले लगायत गठबन्धनमा संलग्न दलका नेताहरूले पत्रकार सम्मेलन गर्दै आफुहरूले निर्वाचन जितेमा केरवानी माध्यमिक विद्यालयलाई व्यवहारमै नमुना विद्यालय बनाउँने बताए । प्रयाप्त स्रोत र साधन हुँदाहुँदै पनि सामुदायिक विद्यालयलाई आधारभुत वर्गका छोराछोरीको पहुँचबाट टाढा राख्ने गरि चर्को शुल्क असुल्ने लगायतका काम हुँदै आएको आरोप लगाउँदै विद्यालय शिक्षालाई गुणस्तरीय बनाउँन र सबै अभिभावकको पहुँचमा राख्न आफुहरूले उम्मेदवारी दिएको उनीहरूको भनाइ छ ।
पत्रकार सम्मेलनमा वितरित प्रतिबद्धता पत्रमा अघिल्लो समितिले नेपाली माध्यममा शिक्षण शुल्क लाग्ने व्यवस्था गरेको भन्दै आफुहरूले जितेमा नेपाली माध्यमको पढाई नि:शुल्क गर्ने उल्लेख छ । साथै कृषि शिक्षा तर्फको मासिक शुल्क ५० प्रतिशत घटाउने समेत गठबन्धनका उम्मेदवारले प्रतिबद्धता जनाएका छन ।
त्यसैगरी, स्थानान्तरण प्रमाणपत्र लिंदा विद्यार्थीबाट ५ हजार लिईने गरेको र आफुहरूको विरोधपछि ३ हजारमा झारिएको उल्लेख गर्दै आफुहरूले सो शुल्क घटाएर आधारभुत तहको १ हजार र माध्यमिक तहको १ हजार पाँच सय कायम गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
तीन-तीन महिनामा कक्षागत रुपमा अभिभावकसंग भेटघाट गर्दै अभिभावकको परामर्शमा विद्यालयका विनियमहरू निर्माण गरि सबैले गर्व गर्न सक्ने विद्यालय बनाउन आफुहरू प्रतिबद्ध रहेको उम्मेदवारहरूले जनाएका छन् । त्यसैगरी, कक्षा पाँचसम्मका विद्यार्थीहरूलाई विद्यालय क्यान्टिनमै दिउँसोको नास्ता नि:शुल्क खुवाउने समेत उनीहरूले बताएका छन् ।
साथै, पत्रकार सम्मेलनमा गठबन्धनका उम्मेदवारहरूले प्रचार सामग्रीको रुपमा ५ मिनेट ४० सेकेन्डको एक भिडियो सार्वजनिक गरेका छन् । जसमा केरवानी लगायत आम सामुदायिक विद्यालयको तितो यथार्थ प्रस्तुत गरिएको उल्लेख गर्दै उम्मेदवार विरेन्द्र पाण्डेले आफुहरू विजयी भएमा इमानदार भएर अभिभावक, विद्यार्थीका साथै शिक्षक र कर्मचारीको पक्षमा काम गर्ने बताए ।
स्मरण रहोस्, माघ ५ गते हुँने भनिएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि सहमतिको प्रयास सफल नभएपछि पुस २३ गते गठबन्धनका ४ र नेकपा एमालेका ४ उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए । कोभिड संक्रमण बढेको भन्दै नेपाल सरकारले माघको सुरुबाटै सार्वजनिक कार्यक्रम र भेटघाटमा कडाई गरेपछि उक्त निर्वाचन स्थगित भएको थियो ।
गठबन्धनका उम्मेदवारद्वारा सार्वजनिक गरिएको १४ बुँदे प्रतिबद्धता पत्र जस्ताको तस्तै :
केरवानी मा.वि.को व्यवस्थापन समितिमा गठबन्धनलाई मत किन ?
१) नेपाली माध्यमको मासिक शिक्षण शुल्कलाई निःशुल्क बनाउने । ( यो भन्दा अघिल्लो समितिले नेपाली माध्यममा शिक्षण शुल्क लाग्ने व्यवस्था गरेको हो। यसलाई गठबन्धनले जितेमा खारेज गर्नेछ ।)
२) कृषि शिक्षातर्फको मासिक शिक्षण शुल्क ५०% घटाउने ।
३) स्थानान्तरण प्रमाणपत्र लिँदा विद्यालयले पाँच हजार लिएको थियो । हाम्रो विरोध पछि रू. ३,०००/- भयो । अब आधारभूत तहको रू.१०००/- र माध्यमिक तहको रू. १५००/- भन्दा बढी नलिने व्यवस्था गर्ने ।
४) प्राविधिक शिक्षालाई व्यवस्थापन गरि दक्ष जनशक्ति उत्पादन गर्ने । ५) कागजी नमुना विद्यालयका रुपमा होइन कि साच्चैको नमुना विद्यालय बनाउन राजनीतिक भर्ती केन्द्रको रुपमा रहेको विद्यालयलाई पवित्र शैक्षिक संस्थामा रुपान्तरण गर्न दक्षता र क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्ने व्यवस्था मिलाउने ।
६) योग्य र दक्षलाई विभिन्न तहगत जिम्मेवारी प्रदान गर्ने ।
७) विद्यालय प्रशासनको आर्थिक अनियमिततालाई नियन्त्रण गरि पारदर्शी बनाउने । ८) शिक्षक कर्मचारीको पेशागत मनोबल बृद्धि गरि आफ्नो शैक्षिक जिम्मेवारीप्रति दत्तचित्त भई शिक्षण पेशालाई जागिर मात्र नभई सेवाभावको रुपमा लिने परिस्थिति निर्माण गर्ने ।
९) कक्षा कोठाको खाली पिरियड व्यवस्थान गरि विद्यार्थीको अधिकतम समय सिकाइमै बिताउने वातावरण तयार गर्ने ।
१०) अभिभावकको परामर्शमा विद्यालयका विनियमहरु निर्माण गरि नीतिगत रुपमा सधैंको लागि सबैले गर्व गर्न लायक केरवानी मावि बनाउने । ११) हरेक ३/३ महिनामा कक्षागत रुपमा अभिभावकलाई विद्यालयमा बोलाई शैक्षिक सुधारमा अभिभावकको सल्लाहलाई प्रमुख आधार मान्ने ।
१२) हामी सबैको अपनत्व भएको गुणस्तरीय विद्यालय बनाउँने ।
१३) विद्यालयको क्यान्टिनलाई व्यवस्थित बनाउने ।
१४) कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुलाई विद्यालयमै खाजा बनाई रुटिन अनुसार खाजा खुवाउने व्यवस्था मिलाउने ।
हेर्नुहोस्, गठबन्धनका उम्मेदवारद्वारा प्रचार सामग्रीको रुपमा सार्वजनिक गरिएको भिडियो क्लिप :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology