देवदह । सरस्वती माध्यमिक विद्यालय देवदह-१, राजाबारीमा शुक्रवार नमुना मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरिएको छ । निर्वाचनबाट विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा पूजा सुनार विद्यालय लिडर निर्वाचित भएकी छन् । यस्तै सह लिडरमा कक्षा ८ का छात्र आकाश हरिजन चयन भएको विद्यालयले जनाएको छ ।
निर्वाचनबाट कक्षा लिडरको रुपमा कक्षा १० बाट कुशुम रसाइली र टोमन कँवर, कक्षा ९ बाट पूजा सुनार र कुशल अधिकारी, कक्षा ८ बाट आकाश हरिजन र कोपिला मल्लाह, कक्षा ७ बाट रक्षा सुनार र सुशान्त थिङ कक्षा ६ बाट दिपिसा आले र वरुण यादव चयन भएका छन् ।
लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नगर शिक्षा समिति सदस्य खगेन्द्र न्यौपाने, देवदह वडा नं १ का वडा सदस्य आविद अली लगाएतले बोल्दै नमुना मतदानले विद्यार्थीलाई निर्वाचनबारे जानकारी प्रदान गरेको बताए । उनीहरुले निर्वाचन अभ्यासले विद्यार्थीहरूमा नेतृत्व क्षमता, मताधिकारको प्रयोग तथा लोकतान्त्रिक प्रक्रियाबारे व्यवहारिक सिकाइ हुने विश्वास समेत व्यक्त गरे ।
कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको नमुना मतदानमा ८० प्रतिशत मत खसेको जनाइएको छ । मतदान कार्यमा शिक्षक जोखु प्रसाद यादव, शोभाखर पाण्डे, मदन खनाल, सुमित्रा पोखरेल र रोशनी कुँवरले निर्वाचन अधिकृतको भुमिका निर्वाह गरेका थिए ।
शिक्षक भरत खनालको सञ्चालन, प्रधानाध्यापक पदम बहादुर रानाको स्वागतमा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालमन यादवको अध्यक्षतामा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology