Logo

२०८३, आश्विन ९गते


images
images

छठ

छठ पर्वको मुख्य विधि शुरू, आज नहाय–खाय

छठ पर्वको मुख्य विधि शुरू, आज नहाय–खाय

images
  • छठ पर्वको मुख्य विधि शुरू, आज नहाय–खाय
    images
    images

    जनकपुरधाम । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । 

    images
    images
    images

    दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको, पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व रहेकाले यी दुई तत्वहरूप्रति श्रद्धाभाव व्यक्त तथा जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैका कारक रहेका सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश यस पर्वमा सन्निहित रहेको छ ।

    images
    images
    images

    छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती उक्त दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण सोही प्रसाद गर्छन् । यस दिनपछि व्रतीले पूर्ण लिनुपर्दछ ।

    images
    images
    images

    तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

    परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

    पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा छ ।

    सूर्यलाई आदिदेवता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए ।

    वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन् । त्यस्तै सूर्योपनिषद्मा ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । महाभारतमा धर्मराज युधिष्ठिर सूर्य स्तवन गर्दै सूर्यलाई ब्रह्मा, विष्णु र रूद्रका अतिरिक्त इन्द्र, प्रजापति, अग्नि, मनु, प्रभु, चराचर जगत्का पालनकर्ता र मोक्षदाता रूपमा वर्णन गरिएको छ । ऐतरेय ब्राह्मण उपनिषद्मा सूर्यको उत्पत्ति सन्दर्भमा सूर्यलाई पार्थिव अन्तरीक्ष एवम दिव्य अग्निको पिण्ड भएको उल्लेख गर्दै अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पत्ति भएको भनिएको छ ।

    यसका अतिरिक्त वैज्ञानिक, ज्योतिषी तथा चिकित्सकहरूले सूर्य तत्वबाट आफ्नो ज्ञान अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको प्रसङ्ग पनि पाइन्छ । सूर्यको किरणबाट चिकित्साबारे देश–विकासका कैयौँ चिकित्सकले ग्रन्थ लेखेका छन् तथा कैयौँ असाध्य तथा अक्षय रोगहरूको आश्चर्यजनक उपचार खोजिएको छ । अथर्ववेदमा खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तक, कपाल तथा मुटुसम्बन्धी रोगहरूको उपचार उदीयमान सूर्य किरणद्वारा निस्तेज गरिने उल्लेख गरिएको छ । सूर्यद्वारा चर्मरोगसम्बन्धी रोगको अचुक उपचार गर्नुका साथै दुसाध्य कुष्ठरोगको मुक्ति पाउनका लागि कैयौँ प्राचीन साहित्यमा उपचार प्रसङ्ग पाइन्छ ।

    संस्कृतिविदहरुले साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापले कुष्ठरोगबाट पीडित कृष्णपुत्र साम्ब सूर्यको आराधनाले रोगमुक्त भएको चर्चा गरिएको बताउछन् ।

    जीवनदायी शक्ति सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । अत्यन्त श्रद्धा र निष्ठाले मनाइने पर्व छठ ‘षष्ठी’ शब्दको लोककरण हो । सूर्यलाई आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छ । छठ पर्वमा सूर्यको पूजाअर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान् सूर्य उपासनाको सम्मिलित पर्व मानिन्छ । यसरी एउटै आराध्यदेवलाई पुरूष र स्त्री दुवै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान गर्नु हो । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले राजधानी काठमाडौँसहितका पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।

    छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा भएकाले यस पर्वको नाम षष्ठी, छठी र छठ हुन गएको हो । यस पर्वमा अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिनु भएको बताइन्छ । छठमा धनी, गरीब, सबै जातजाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु भनेको ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश अन्तरनिहित रहेको पाइन्छ ।

    सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएकाले सूर्यप्रति कृतज्ञताको अभिव्यक्तिका साथै नारी सर्वोच्चता स्थापित गर्ने र आफ्नै खेतवारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु छठको मौलिक विशेषता हो । छठ प्रकृति र पुरूषको पूजा हो, सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्रतसँग जोडिएको छ । सामुदायिक सद्भाव मूलमन्त्र रहेको यस पर्वमा कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वादस्वरूप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घको ठेकुवा आए पनि सहर्ष स्वीकार्ने यसको विशिष्ट पक्ष मानिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।