काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन माग गर्ने नेताहरुले संस्थापन पक्षलाई षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । विशेष महाधिवेशन पक्षका नेता गुरु घिमिरेसहितका नेताहरुले आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको बैठकले छिटै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।
काँग्रेस नेताहरुले ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिसकेपछि केन्द्रीय समितिले अन्य विषयमा छलफल गर्न नमिल्ने दाबि गरेका छन् । उनीहरुले केन्द्रीय समितिको निर्णय अनुसारनै आफुहरुका आगामी कदम हुने बताएका छन् ।
अहिलेको संबेदनशील अवस्थामा पनि केन्द्रीय समितिको बैठक २-३ घण्टा गरिएको र लम्बाइएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै असोज २१ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो ।
काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology