देवदह । देवदह नगरपालिकाले ८४० जना अव्यवस्थित तथा सुकुम्बासी नागरिकलाई पुर्जा वितरण गरेको छ । शनिवार एक कार्यक्रम बिच लालपुर्जा वितरण गरिएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भूमी आयोग खारेज गरिदिए पछि भूमी सम्बन्धी थप काम ठप्प छ । तर यसअघि नै तयार भएका र राजश्व तिरिसकेकाहरूलाई वितरण गर्न खुल्ला गरिएपछि देवदहमा पुर्जा वितरण गरिएको हो ।
पहिलो चरणमा १४ सय ३४ वटा पुर्जा तयार भएपनि ८४० जनाले मात्र राजश्व बुझाएको हुनाले बनेका सबै पुर्जा पनि वितरण गर्न नसकिएको नगर भूमि शाखा प्रमुख विष्णुप्रसाद बश्यालले जानकारी दिए ।

यस अघि नगर प्रमुख ध्रुव प्रसाद खरेलले असोज मसान्त भित्र १४ हजार लालपुर्जा वितरण गर्ने बताए पनि सोही अनुसार काम भने भएन । जिल्लामा भूमि नापजाँचको काम सबैभन्दा पहिले सुरु गरेको देवदह वितरणमा भने पहिलो हुन सकेन । यसअघि नै बुटवल र सैनामैनाले केही पुर्जा वितरण गरिसकेका छन् ।
हाल पुर्जा पाउनेहरूमा देवदहको वडा नं ५, ७, ९ र १० नं वडाका नागरिक रहेका छन् ।
देवदहको अव्यवस्थित तथा भूमिहिन सम्बन्धी तथ्याङ्क अनुसार नगरमा १५ हजार ३०० भन्दा बढी लालपुर्जा वितरण गर्नुपर्नेछ । त्यसको लागि झण्डै २ करोड ५० लाख वर्गमिटर जग्गाको नापजाँच गर्नुपर्ने हुन्छ । जिल्लाले पठाएका र नगरले नियुक्त गरेका अमीन र कर्मचारीले भूमि सम्बन्धी ५० प्रतिशत काम सकाएको भूमि शाखाको तथ्यांक छ ।
देवदहमा आर्थिक वर्ष २०७७÷०७८ देखि नापी कार्य सुरु भएको थियो । पहिलोपटक नापि सुरु भएको र वडा नं ९ को कालिका टोलमा रुपन्देहीमै पहिलो पटक ६८ वडा पुर्जा तयार भएको थियो ।
औपचारिक कार्यक्रम नगरी राजश्व बुझाएका नागरिकलाई लालपुर्जा दिनु भन्ने संघीय सरकारको परिपत्र भए पनि देवदह नगरपालिकाले भने शनिवार औपचारिक कार्यक्रम मार्फत ८४० लालपुर्जा वितरण गरेको हो ।
देवदहमा कुल १५ हजार ३०० लालपुर्जा वितरण गरिनुपर्ने भएपनि प्रतिशतमा हेर्दा हालको पुर्जा वितरणले देवदहको भुमिसम्बन्धि समस्या ५.४९ प्रतिशत समाधान भएको देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology