रेशम अधिकारी, स्याङ्जा । कोरोना संक्रमणका कारण थलिएका पर्यटन क्षेत्र पछिल्लो समय जुरमुराउन लागेको छ । नेपालीहरु गर्मीयाममा भन्दा जाडोयाममा घुम्न रुचाउँछन् । यस्ले पनि पर्यटन प्रबर्द्धनलाई मद्दत पुर्याइराखेको छ । कोरोना संक्रमणले भिजिट नेपाल २०२० त सफल हुन सकेन तर अवस्था सामान्यरहे यसले गति लिने संभावनाहरू भने जीवितै छन् ।
नेपाल पर्यटकिय स्थालको खानीनै हो भन्दा पनि हुन्छ । पुर्व देखि पश्चिम र उत्तर देखि दक्षिण यस्तो कुनै जिल्ला छैन जहाँ घुम्ने ठाउँ नहोस । यस्तै वालिङ बजारबाट नजिकै रहेको सुन्दर, शान्त, मनोरम र दृश्यावलोकनका लागि महत्वपूर्ण मानिएको 'बाहुनथान' आन्तरिक पर्यटनको स्थानीय केन्द्र बनेको छ ।
बाइसे चौबीसे राज्यको महाँकोटे राज्यका बाघखोरकी रानी लानकुमारी खाँणले करिब १०० वर्षअघि उक्त जग्गा गौचरनका रूपमा छाडेकी थिईन् । उक्त ठाउमा खाँणदेवी' को मन्दिर स्थापना गरिएको र त्यहाँ पूजा गर्ने पुजारी गैह्रे जातिको बाहुन भएका हुनाले त्यस ठाउँलाई 'बाहुनथान' भने गरिएको स्थानीयहरू बताउँछन् ।
वालिङ बजार देखी उक्त ठाउँमा पुग्न पैदलमार्गबाट एक घण्टा र सवारीसाधनमा १५ मिनेटमा लाग्दछ ।
वालिङ नगरपालिकाका बजार, आंधीखोला र खोला किनारका समथर सहित स्याङ्जा र अन्य जिल्लाका विभिन्न ठाउँको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ दैनिक आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ रहेको ठुलो चौरमा ठाँउ ठाँउमा बस्नको लागि बेन्च समेत राखिएको छ । त्यहाबाट सुन्दर गुलावी वालिङ सहर हेर्न सकिन्छ ।
बाउनथानसम्म पुग्नका लागि सडक कालोपत्र गर्ने खानेपानीको व्यवस्थापन, अन्य पूर्वाधार निर्माण गरिएको छ । पहिले पहिले यहाँ फलेका साग तरकारी र फलफूल किन्ने मान्छे नहुंदा बारीमै कुहिने गरेका थिए । अहिले बाहुनथानमा आन्तरिक पर्यटक आउन थालेपछि यसबाट राम्रै आम्दानी हुने गरेको स्थानीयवासीको भनाइ छ ।
टिकटक, फेसबुक जस्ता समाजिक संजालमा बाहुनथानको सुन्दरताको प्रसारले गर्दा उक्त क्षेत्रमा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि यहाँ व्यापार व्यवसाय पनि फस्टाउँदै गएको स्थानीयवासीको भनाइ छ ।
स्मार्ट सिटीको अवधारणासहित अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाभित्रका विशेषगरी बजारका घरमा एउटै गुलावी कलर लगाउने अभियान अगाडि बढाएसंगै यो क्षेत्रनै मनमोहक देखिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology