काठमाडौं । जेनजी आन्दोलन पश्चात परम्परागत राजनैतिक दलमा पनि नेतृत्व परिवर्तनको बहस चलिरहेको समयमा नेपाली काँग्रेसमा तत्काल नेतृत्व परिवर्तन नहुने पक्का भएको छ । शुक्रबार सम्पन्न कार्यसम्पादन समितिको बैठक विधान अनुसार नै नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विधान अनुसार पार्टीले १५औँ महाधिवेशनको तयारी गरिरहेको र नेतृत्व परिवर्तन पनि विधान अनुसार नै हुने स्पष्ट गरेका हुन् ।
उनले पार्टी पुनर्गठनबारे नेताहरूले राखेको अभिव्यक्ति व्यक्तिगत भएको र संस्थागत निर्णय नभएको समेत बताए । उनले भने 'अहिले पार्टीलाई पुनर्गठन गर्ने, अधिवेशन गर्ने, पुनर्संरचना गर्ने कुरा विपद्को बेलामा साथीहरूले व्यक्तिगत रूपमा राखेका कुरा हुन् । हामी अहिले महाधिवेशनको तयारीमा छौँ । क्रियाशील सदस्यता बुझ्ने र बुझाउने क्रम जारी छ ।
त्यसैले हामी देश संबिधान अनुसार हुनुपर्छ भने झैँ पार्टी सञ्चालनको लागि पनि विधानभित्रै रहेर गर्छौँ ।'जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरुले तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेको भए पनि पार्टीले आधिकारिक रुपमायस्तो कुनै निर्णय गर्ने अवस्था देखिएको छैन ।
त्यस्तै विश्वकर्माले सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको र सैनिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology