Logo

२०८३, आश्विन ९गते


images
images

सम्पादकीय

परिवर्तन स्वीकार गरौं, सामाजिक सद्भाव कायम राखौं

परिवर्तन स्वीकार गरौं, सामाजिक सद्भाव कायम राखौं

images
  • परिवर्तन स्वीकार गरौं, सामाजिक सद्भाव कायम राखौं
    images
    images

    देश यतिबेला संक्रमणकालिन अवस्थामा छ । भाद्र १९ गते तत्कालिन सरकारले नेपालमा फेसबुक, युट्युव, ट्विटर (एक्स) लगाएत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै सुरु भएको जेनेरेशन जेड (जेनजी)हरुको आन्दोलनले सत्ता परिवर्तनको अवस्थामा पुर्यायो । जेनजीहरुको अग्रसरतामा भएको आन्दोलनमा एकैदिन १९ भन्दा बढिले ज्यान गुमाए भने हालसम्म आन्दोलनका कारण मृत्यु हुनेको संख्या ८० को हाराहारीमा पुगेको छ । भाद्र २३ र २४ गते गरी दुई दिनसम्म चलेको प्रदर्शनको क्रममा मानविय क्षती त भयो नै देशका महत्वपूर्ण सम्पदा, व्यावसायिक प्रतिष्ठान र कैंयौ व्यक्तिगत सम्पत्तिमा समेत आगजनी, तोडफोड र लुटपाट गरिए ।

    images
    images
    images

    जेनजी आन्दोलनको आवरणमा भएका र गरिएका यस्ता कुकृत्यहरु आमनेपालीको लागि स्वीकार्य छैन । तर इतिहासले जेनजीहरुलाई यो आन्दोलनसम्म धकेल्नका लागि सरकार, प्रमुख राजनीतिक दल र ति दलका नेताले दिएका अभिव्यक्ति र निर्णयहरु आन्दोलनको कारक थिए भन्ने कुरा विर्सनु हुँदैन ।  सरकारको नेतृत्व गरिरहेको जिम्मेवार पार्टीका अध्यक्ष स्वयम् प्रधानमन्त्रीले पार्टीको विधान महाधिवेशनमा आफ्ना ऐजेण्डा पास गराएसँगै उनीमा उत्पन्न उन्माद र त्यसको सहारामा दिईएको वक्तव्यले जेनजीहरुलाई प्रदर्शनको लागि थप हौसाएको कुरा सबै सामु प्रष्टै छ ।

    images
    images
    images

    प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि २००७ साल, २०३६ साल, २०४६ सालमा आन्दोलनहरु भए । यी आन्दोलनबाट आंशिक अधिकार प्राप्ति भएपनि पूर्ण लोकतन्त्र स्थापनाको लागि २०५२ सालमा जनयुद्ध सुरु भयो । १० बर्षे जनयुद्ध र जनयुद्धलाई शान्तिपूर्ण अवतरण गराउने २०६२/०६३ को जनआन्दोलनको २० बर्ष बित्यो । यो विचमा जन्मिएको र त्यो भन्दा ७/८ बर्ष पहिलो जन्मिएको पुस्ता हो जेनजी पुस्ता । यो पुस्तालाई घरमा रुवाउँदै छाडेर कतिपय यिनका बाबुआमा २० बर्ष अघिको आन्दोलनमा होमिएका थिए । घरमा छाडेका ति अबोध बालबालिकाका कतिपय अभिभावकलाई त्यो आन्दोलनले गुमाएको थियो ।

    images
    images
    images

    नेतृत्वको अदुरदर्शिताको कारण देशमा २०/३० बर्षको बिचमै आन्दोलन भईरहेका छन् । जहाँ पटकपटक गरि सयौं नेपालीहरुले ज्यान गुमाईसकेका छन् । खरवौंको भौतिक सम्पत्ति नोक्सान भएको छ । तरपनि हामी भन्न विवश छौं र हरेक पटक भनिरहेका छौं हामिकहाँ क्षती भएको त्यो सम्पत्ति केही होईन स्थिर व्यवस्था र भ्रष्टाचार नहुने हो भने छोटो समयमा नै यसको परिपुर्ति हुन्छ ।

    हामिलाई लोकतान्त्रिक आन्दोलनको इतिहास पढाउनेहरु आजपनि राष्ट्र र दलहरुको नेतृत्वमा छन् । यिनिहरुले आव्हान गर्ने हरेक आन्दोलनमा नेपालीहरु सहभागि भएर देशमा यसअघिका आन्दोलनहरु सफल भएका हुन् । त्यो कुरा उनीहरुलाई राम्ररी थाहा छ । तर अब समय बदलिएको छ । जेनजी पुस्ता नै सडकमा आएर आन्दोलनको नेतृत्व गरिसकेको अवस्थामा साईलेन्ट पुस्ता साईलेन्ट नै बस्ने हो । छोरा-नाति पुस्तासंग हजुरबुवा पुस्ता भिड्न जाने र उनीहरुलाई अपमान गर्ने अधिकार न साईलेन्ट पुस्तालाई छ, नत त्यो पुस्ताको अघिपछि लागेर गुजारा चलिरहेका दलाल वर्गलाई । 

    आज देखिंदै छ - त्यही जेनजी पुस्ता जसले विसौं वर्षदेखिको उकुसमुकुसबाट राष्ट्रलाई राजनीतिक निकास दियो, त्यसैलाई सामाजिक संजालमा ललकार्ने प्रवृत्ति पुरानो सत्ताको छत्रछायाँमा हातमुख जोडेकाहरुले देखाएका छन् । यो सामान्य गल्ती मात्र होइन, सामाजिक र राजनीतिक अपराध हो । जेनजी कुनै दल होइन, यो कसैको समर्थक वा विरोधी पनि होइन । यो हर-घरमा रहेको स्वतन्त्र शक्ति हो । तर यसले गरेको आन्दोलनमा जेनजी मात्र थिएनन्, अपराधिक मानसिकतासहित घुसपैठ गरेका अपराधिहरु पनि थिए भने कतिपय आन्दोलन हेर्न गएका सर्वसाधारण पनि थिए । अपराधीहरुलाई कारवाही गर्ने अधिकार प्रहरी प्रशासनलाई दिऔं । आवश्यक सहयोग गरौँ । आगामी दिनमा समेत जेनजी पुस्ताको उर्जा देशको लागि आवश्यक छ । यसलाई भड्किन नदिन र बाटो विराउन नदिन हिजोको क्रान्तिको इतिहासबारे पढाउन नछोडौं तर यो पुस्तालाई अब हाम्रो पालाको राजनीति सिकाउन र आफू विरुद्ध गए भनेर धम्क्याउन आफ्नो शक्ति खेर नफालौं ।  अन्यथा त्यो प्रत्युत्पादक हुनेछ । 

    त्यतिमात्र होइन, अपराधिहरु यही संक्रमणकालको फाइदा उठाउँदै अहिले लुटको खेती गर्न व्यस्त छन् । नदिजन्य पदार्थदेखि व्यक्तिका घरहरुमा चोरी बढ्दैछ । हिजो सत्ताको आडमा नदीदोहन गर्नेदेखि अबैध तस्करीमा संलग्नहरुले आजपनि त्यसलाई निरन्तरता दिइनै रहेको देखिन्छ । त्यसमा प्रहरी प्रशासन कतिपय अवस्थामा निरिह देखिएको छ भने कतिपय अवस्थामा अहिले पनि पहिलेकै 'सेटिङ'मा व्यक्तिगत र प्राकृतिक सम्पदामा लुट मच्चिरहेको पाइएको छ । अब समय बदलिएको छ - राजनीतिक दलमा मात्र होइन, प्रहरी प्रशासन र कर्मचारीतन्त्रमा समेत आमुल परिवर्तन आवश्यक छ । त्यो प्रवृत्तिगत परिवर्तन या संस्थाकै रिफर्मेसन पनि हुन सक्छ ।

    अहिलेको संक्रमणकालिन अवस्था र चार्डपर्वको मुखमा हुने चोरी डकैती नियन्त्रणको लागि स्थानीयस्तरसम्म सुरक्षा संयन्त्र निर्माण गर्नु आवश्यक छ । त्यसको लागि थप बजेट व्यवस्थापन वा पूर्वाधार निर्माण गर्नु पर्दैन । अहिले स्थानीयस्तरमा रहेको टोल विकास संस्थालाई नै टोल सुरक्षा समिति बनाएर जान सकियो भने त्यसले चोरी नियन्त्रण र सामाजिक सद्भाव कायम गर्न समेत योगदान दिनसक्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।