Logo

२०८३, श्रावण २७गते


images
images

सहकारी

देवदहमा सहकारी मार्फत ४ अर्ब बढी रकम परिचालित

देवदहमा सहकारी मार्फत ४ अर्ब बढी रकम परिचालित

भाखा नाघेको कर्जा ४० करोड
images
  • देवदहमा सहकारी मार्फत ४ अर्ब बढी रकम परिचालित
    images
    images

    देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहमा मुख्य कार्यालय भएको सहकारी सँस्थाहरुमध्ये सबैभन्दा धेरै सेयर सदस्य भएको संस्था हो । १९ हजार ६ सय १५ जना सेयर सदस्य रहेको कोलिय देवदहले यो बर्ष सेयर सदस्यलाई उपलब्ध गराउने यातायात भत्ता वापतको रकम उपलब्ध नगराउने निर्णय गरेको छ । तर उसले सहकारीका सदस्यहरुलाई साधारणसभामा उपस्थितिका लागि आकर्षित गर्न ‘सेयर सदस्य चिठ्ठा कार्यक्रम’ राख्ने जनाएको छ ।

    images
    images
    images

    संस्थाका व्यवस्थापक विनोद पराजुलीका अनुसार यो बर्ष कोलिय देवदहले साधारणसभामा यातायात भत्ता वापतको रकम सेयर सदस्यलाई उपलब्ध गराउने छैन । तर कार्यक्रमको अन्तिमसम्म बस्ने सेयर सदस्यलाई पुरस्कार स्वरुप उपहारको व्यवस्था गर्ने निर्णय गरेका छौं । २०८२ को साउन मसान्तसम्म एक अर्ब ९२ करोड १६ लाख ९२ हजार ९७४ रुपैंया ६४ पैसा कुल सम्पत्ति रहेको कोलिय देवदहले सदस्यलाई साधारणसभामा उपस्थित भएवापत अघिल्ला बर्षहरुमा प्रति सदस्य पाँच सय रुपैंय उपलब्ध गराउँदै आएको थियो । व्यवस्थापक  पराजुलीले भने, 'कानुनतः विगतमा पनि यो उपलब्ध गराउन पाईने त थिएन, तर सबै सहकारीहरुले उपलब्ध गराउँदै आएको हुँदा हामिले पनि दिएका थियौं ।' यो बर्षबाट राज्यले सेयर सदस्यलाई उपलब्ध गराएको उक्त रकमको १५ प्रतिशत कर तिर्नुपर्ने बाध्यकारी नियम बनाएको जानकारीमा आएको छ । सेयर सदस्यले आफैले जम्मा गरेर साधारणसभामा लिएको सामान्य खाजा खर्चको कर तिर्न पर्नेभएपछि हामिले यसलाई पुर्नविचार गरेका हौं ।

    images
    images
    images

    सदस्य संख्याको हिसाब गर्दा कोलिय देवदहका कुल सेयर सदस्यले बुझ्ने रकम ९८ लाख सात हजार ५०० हुन आउँछ । उक्त रकमको १५ प्रतिशत रकम १४ लाख ७१ हजार एक सय २५ रुपैंया हुन आउँछ । व्यवस्थापक पराजुलीका अनुसार अहिले संम्मको साधारण सभामा उपस्थिती हेर्दा कुल सदस्य संख्याको ६५ प्रतिशत सम्म उपस्थित हुने गरेको छ । त्यसलाई आधार मान्दा पनि कोलिय देवदहले यो बर्ष ६३ खाल ७५ हजार रुपैंया यातायात खर्च बापत सेयर सदस्यलाई बाँड्नुपर्ने देखिन्छ । ६५ प्रतिशत उपस्थित संख्याको हुन आउने कर ९ लाख ५६ हजार २५० रुपैंया हुन आउँछ । यदि यातायात खर्च उपलब्ध गराउने हो भने कोलिय देवदहले उक्त रकम राज्यलाई कर बापत तिर्नुपर्ने देखिन्छ ।

    images
    images
    images

    प्रदेश स्तरको कार्यक्षेत्र रहेको कोलिय देवदहले मुख्य कार्यालयसँगै ९ वटा सेवा केन्द्रहरु मार्फत कारोवार गर्दै आएको छ । सहकारी विभागको निर्देशन बमोजिम संस्थाले प्रस्तुत गरेको साउन मसान्तसम्मको वित्तिय विवरण अनुसार कोलिय देवदहको सेयर पूँजी ६ करोड ६२ लाख ८३ हजार पाँच सय रुपैंया रहेको छ भने संस्थाले ४ हजार ३ सय ७४ जना सेयर सदस्यहरुलाई १ अर्व ४३ करोड ९ लाख ७२ हजार २ सय ६३ रुपैंया ऋण प्रवाह गरेको छ । संस्थामा अहिले पनि २२ प्रतिशत भन्दा बढि रहक तरलताको रुपमा रहेको पाईन्छ ।

    cooperative_totals_crore.png

    रुपन्देहीको पूर्वी क्षेत्र अन्तर्गत पर्ने देवदहमा कोलिय देवदहसंगै २ हजारभन्दा बढि सेयर सदस्य रहेका ५ वटा सहकारी संस्था रहेका छन् । तथ्याङ्कलाई हेर्ने हो भने एक हजारदेखि २ हजारसम्म सेयर सदस्य भएका सहकारीको संख्या ६ देखिन्छ । साना ठुला गरी कुल ४३ वटा सहकारी संस्था रहेको देवदहमा सहकारी मार्फत ४ अर्व ६९ करोड ६५ लाख २९ हजार ३ सय ३ रुपैंया रकम परिचालित छ ।

    यस्तै सदस्य संख्याको हिसाबले देवदहमा रहेका सहकारीहरु मध्ये दोस्रो स्थानमा रहेको आफन्त बचत तथा ऋण सहकारी संस्थाको २०८२ साउन मसान्त सम्मको वित्तिय विवरण हेर्दा उसको सेयर पूँजी ३ करोड पाँच लाख ३९ हजार आठ सय रुपैंया देखिन्छ । कुल ६ हजार ८ जना सेयर सदस्य रहेको आफन्तको २८ करोड ९४ लाख २१ हजार १ सय ४२ रुपैंया बचत निक्षेप रहेको छ भने कुल सम्पत्ति ३८ करोड १८ लाख ७७ हजार ८ सय ८ रुपैंया रहेको देखिन्छ । २३.९७ प्रतिशत तरलता कायम गरेको सहकारीको तरलता रकम ६ करोड ९३ लाख ८० हजार ६ सय ९८ रुपैंया रहेको छ । आफन्तले कुल १४८३ जना सेयर सदस्यहरुमा २८ करोड २९ लाख २१ हजार २ सय ७९ रुपैंया ऋण लगानी गरेको छ ।

    मुख्य कार्यालय देवदह ११ शंकरपुरमा रहेको आफन्तले शंकरपुर बजारमै अर्को सेवाकेन्द्र, रोहिणी गाउँपालिका स्थित धकधई बजार सेवा केन्द्र, देवदह २, ६ नं सेवा केन्द्र र देवदह ७ खैरेनी बजार स्थित सेवा केन्द्र मार्फत वित्तिय कारोवार गरिहेको छ । आफन्त देवदहमा मुख्य कार्यालय भएको प्रदेश स्तरको सहकारी संस्था हो ।  

    त्यस्तै ४ हजार ९ सय १ जना सेयर सदस्य रहेको पल्लवी वचत तथा ऋण सहकारी संस्था लि. देवदह ७ को शेयर पूँजी ४ करोड ४ लाख ६० हजार सात सय रुपैंया रहेको छ । मुख्य कार्यालय देवदह ७ शितलनगर रहेको पल्लवीले देवदह १० चरंगे, देवदह ७ खैरेनी, देवदह ४ भवनीपुर र देवदह–२, ६ नं चोकमा रहेका सेवा केन्द्रबाट समेत ३२ करोड ६९ लाख १३ हजार ९ सय ९३ रुपैंया बचत निक्षेप संकलन गरेको छ । साउन मसान्तको वित्तिय तथ्याङ्ग हेर्दा पल्लवीले २८ करोड ६७ लाख ३४ हजार ९ सय ७७ रुपैंया सदस्यहरुमा ऋण लगानी गरेको छ । प्रदेश स्तरमा कारोवार गर्ने अनुमति भएको पल्लवी साकोसको तरलता प्रतिशत ३३.०४ प्रतिशत रहेको छ । ४१ करोड ५३ लाख ४ हजार ८ सय ५९ रुपैंया कुल सम्पत्ति रहेको पल्लवीमा २७८४ जना महिला र २११७ जना पुरुष सदस्य रहेका छन् ।

    विषयगत रुपमा कृषितर्फ देवदहको ठुलो सहकारी साना किसान कृषि सहकारी संस्था लि. देवदह-६ हो ।  यसमा सेयर पूँजी ३ करोड ४४ लाख ५७ हजार एक सय रुपैंया रहेको छ । साना किसान देवदहको बचत निक्षेप ३७ करोड ६ लाख २९ हजार २० रुपैंया रहेको संस्थाले उपलब्ध गराएको गत साउन मसान्त सम्मको वित्तिय विवरणमा उल्लेख छ ।

    ९ करोड ९१ लाख ९ सय २ रुपैंया अर्थात २६.७४ प्रतिशत तरलता रहेको सहकारीले ४७ करोड ४८ लाख २२ हजार ३ सय ९७ रुपैंया सेयर सदस्यहरुमा ऋण लगानी गरेको छ । साना किसान देवदहको कुल सम्पत्ति ६१ करोड, ३४ लाख, ३९ हजार १ सय ३४ रुपैंया रहेको वित्तिय विवरणले देखाउँछ । कुल ४५२६ जना सेयर सदस्य रहेको संस्थामा ७३.३३ प्रतिशत महिला सदस्य छन् भने अध्यक्ष र प्रबन्धक दुवैजना महिला रहेका छन् ।

    संख्याको हिसाबले हेर्दा ३३१९ जना महिला सदस्य र १२०७ जना पुरुष सदस्य रहेको सहकारीमा ४ जना महिला कर्मचारी र ५ जना पुरुष कर्मचारी रहेका छन् । ९ सदस्यीय सञ्चालक समितिमा ४ जना महिला र ५ जना पुरुष रहेका छन् । साना किसान देवदहको वडा तहमा समेत संरचना रहेको छ । ५देखि ६ जना सदस्य रहेका समूह र उक्त समुहबाट १ जनाले प्रतिनिधित्व गर्दै अन्तर समुहमा जाने र सबै अन्तरसमुहबाट प्रतिनिधित्व गर्दै ३ जना चयन हुने व्यवस्था रहेको छ । जसमा वडागत रुपमा अध्यक्ष उपाध्यक्ष र सचिव रहने व्यवस्था भएको अध्यक्ष गौतमले जानकारी दिईन् । १२ वटा वडा रहेको देवदहको वडा नं १, २, ३ र ४ बाहेक सबै वडा साना किसान देवदहको कार्यक्षेत्र हुन् ।

    साना किसान देवदहले सेयर सदस्यलाई सहजताका लागि डिपो मार्फत वडा नं ६ मा मलखाद वितरण गर्दै आएको छ भने सिजनल रुपमा तरकारी तथा फलफुलका वतरण गर्दै आएको छ । यसबाहेक नगरपालिका र अन्य निकायसंगको सहकार्यमा सहकारीले कृषि सामग्रि वितरण तथा कृषकहरुको गोठ सुधार कार्यक्रम समेत सञ्चालन गरेको छ । सेयर सदस्यहरुलाई सहजता र उनीहरुले उत्पादन गरेको वस्तुलाई बिक्रीका लागि बिक्री वितरण केन्द्र संचालनमा ल्याएको अध्यक्ष टिका गौतमले जानकारी दिईन् । अन्तर सहकारी समन्वय अन्तर्गत देशका विभिन्न स्थानमा सहकारीका सदस्यहरुले उत्पादन गरेका आलु, खुर्सानी, चियापत्ति लगायतका सामग्रिहरु समेत बिक्री केन्द्र मार्फत बिक्री वितरण गर्ने गरेको संस्थाका अध्यक्ष गौतमले बताईन् । 

    आत्मरक्षा बचत तथा ऋण सहकारी संस्था देवदह १०, सेयर पूँजी ४ करोड ७ लाख, ६६ हजार एक सय रुपैंया रहेको छ । संस्थाको बचत निक्षेप १२ करोड ९ लाख ३१ हजार ४ सय ७९ रुपैंया र तरलता १ करोड १७ लाख ३ हजार २ सय २९ रुपैंया रहेको छ । ६४४ सदस्यहरुलाई संस्थाले १७ करोड २१ लाख ४ सय ७५ रुपैंया ऋण लगानी गरेको छ । कुल सम्पत्ति २० करोड ३७ लाख ५५ हजार ८ सय ९७ रुपैंया रहेको संस्थाको वित्तिय विवरणमा उल्लेख गरिएको छ । आत्मरक्षमा २१६६ जना सेयर मध्ये महिला १२०० जना र पुरुष ९६३ जना रहेका छन् । आत्मरक्षामा संस्थागत सेयर सदस्य ३ जना रहेका छन् । १३ सदस्यीय संचालक समितिमा ६ महिला र ७ जना पुरुष रहेका छन् । ९ जना कर्मचारी रहेको आत्मरक्षामा ६ जना महिला र ३ जना पुरुष रहेको व्यवस्थापक हर्कबहादुर खत्रीले जानकारी दिए ।

    साना किसान कृषि सहकारी संस्था केरवानी सेयर पूँजी १ करोड ५ लाख ९५ हजार ४ सय रुपैंया भएको संस्था हो । जसको बचत निक्षेप ९ करोड १२ लाख ३७ हजार २ सय ७५ रुपैंया रहेको छ   । संस्थाले ३३७ जना सदस्यहरुलाई १२ करोड १९ लाख ८९ हजार ५ सय ५२ रुपैंया ऋण लगानी गरेको छ । १ करोड ४८ लाख ५० हजार ६ सय ३९ रुपैंया अर्थात १६.२८ प्रतिशत तरलता रहेको संस्थाको कुल सम्पत्ति १४ करोड ९६ लाख ६६ हजार २ सय ६३ रुपैंया रहेको छ । साना किसान केरवानीको सदस्य संख्या १५९८ जना रहेको छ । उक्त संख्याामा महिला १०६० जना र पुरुष ५३८ जना रहेको संस्थाका अध्यक्ष दिपक पौडेलले जानकारी दिए । हाल संस्थामा ४ जना कर्मचारी रहेकोमा ३ जना महिला जना र १ जना पुरुष जना रहेको जनाईएको छ । 

    निर्माण बहुउद्देश्यीय सहकारी संस्था लि. देवदहको सबैभन्दा ठूलो बहुउद्देश्यीय सहकारी संस्था हो । देवदह–७ मा कार्यालय रहेको निर्माणको सेयर पूँजी १ करोड १० लाख, १६ हजार पाँच सय रुपैंया, बचत निक्षेप ५ करोड ४० लाख ६३ हजार एक सय २८ रुपैंया, तरलता १ करोड १ लाख ७५ हजार ८ सय ८० रुपैंया अर्थात १८.८२ प्रतिशत ऋण लगानी ६ करोड ९३ लाख ७६ हजार ७ सय ५ रुपैंया, कुल सम्पत्ति ९ करोड २२ लाख २७ हजार ९ सय ७१ रुपैंया, जम्मा सेयर सदस्य संख्या १५३६ जनामा महिला ८६३ जना र पुरुष ६७३ जना रहेका छन् ।

    निर्माणमा ९ सदस्यीय संचालक समितिमा महिला ३ जना र पुरुष ६ जना रहेका छन्, कर्मचारी ६ जना महिला र एकजना पुरुष गरी ७ जना रहेका छन् । निर्माणले देवदह १० चरंगेमा सेवा केन्द्र र देवदह ९ घोडाहामा तथा मल विक्रि केन्द्र संचालन गरेको छ ।

    यसैगरी वडा नं ८ पाकडीमा एलपि ग्याँस, बिउ बिजन तथा जैविक मल विक्रि केन्द्र संचालन गरेको छ । संस्थाले २६ कठ्ठा जग्गा भाडामा लिएर कृषि तथा बिउबिजन उत्पादन र खरीद विक्री गर्दै आएको छ । कुल ऋणी संख्या ६८८ रहेको संस्थाका व्यवस्थापक सुशीला भण्डारीले जानकारी दिइन् ।

    सिद्धार्थ स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था देवदह १२ को सेयर पूँजी २ करोड २७ लाख २८ हजार पाँच सय रुपैंया रहेको छ । बचत रकम १२ करोड ४८ लाख ७२ हजार २४ रुपैंया जम्मा गरेको सिद्धार्थले ६२९ जना सदस्यहरुमा १० करोड ७ लाख १७ हजार ७ सय ३० रुपैंया ऋण प्रवाह गरेको छ । संस्थामा १५ प्रतिशत अर्थात २ करोड ८२ लाख ४९ हजार पाँच सय ५३ रुपैंया  तरलता सञ्चित रहेको छ । कुल सम्पत्ति १८ करोड ८२ लाख १६ हजार १ सय ८३ रहेको सिद्धार्थमा १५०१ जना शेयर सदस्यहरु रहेका छन् । जसमा महिला ९४२ र पुरुष ५५९ जना रहेको संस्थाका व्यवस्थापक कविता श्रेष्ठले जानकारी दिईन् । ९ सदस्यीय सञ्चालक समिति रहेको संस्थामा महिला ४ जना र पुरुष ५ जना रहेका छन् । संस्थामा ७ जना सबै महिला कर्मचारी कार्यरत छन् ।

    देवदह नगरपालिकाको वडा नं ७ मा रहेको निरन्तर महिला बचत तथा ऋण सहकारी संस्था ९७ लाख ६७ हजार पाँच सय रुपैंया सेयर पूँजी रहेको संस्था हो । कुल बचत ९ करोड १४ लाख ८२ हजार ११ रुपैंया रहेको संस्थामा १३५२ जना शेयर सदस्य रहेका छन् । कुल सम्पत्ति ११ करोड ५२ लाख २३ हजार ४ सय ५८ रुपैंया रहेको निरन्तर महिलामा १४.५० प्रतिशत अर्थात २ करोड ६० लाख ८३ हजार ६ सय ६१ रुपैंया तरलता रहेको छ । संस्थाले साउन मसान्तसम्म ८ करोड ५८ लाख ४८ हजार ६ सय ९२ रुपैंया ४९८ जना ऋणी सदस्यलाई कर्जा लगानी गरेको जनाएको छ । ११ जनाको कार्यसमिति रहेको निरन्तरमा ३ जना कर्मचारी रहेका छन् । निरन्तरका सबै कर्मचारी समेत महिला हुन् ।

    गोधुली वचत तथा ऋण सहकारी संस्था देवदह–८ प्रदेशस्तरमा कारोवार गर्ने अनुमति पाएको सहकारी संस्था हो । यसको सेयर पूँजी १ करोड ५५ लाख १३ हजार ३०० रुपैंया रहेको छ । संस्थाको बचत निक्षेप ७ करोड ८९ लाख ७८ हजार ८५७ रुपैंया रहेको छ भने संस्थाले ५९८ जना सेयर सदस्यलाई ८ करोड ६२ लाख ८३ हजार ४७ रुपैंया ऋण लगानी गरेको छ । संस्थाको तरलता प्रतिशत १७.९२ प्रतिशत अर्थात १ करोड ९५ लाख ४९ हजार १ सय ७३ रुपैंया रहेको छ । कुल सम्पत्ति १० करोड ९० लाख ९५ हजार २ सय ७७ रुपैंया रहेको गोधुलीमा १२६९ जना शेयर सदस्य रहेका छन् । जसमा महिला ८१२ जना र पुरुष ४५७ जना रहेको संस्थाका व्यवस्थापक केशव अधिकारीले जानकारी दिए । संस्थाको तिलोत्तमा ११ भुपुसैनीकमा एउटा सेवा केन्द्र समेत रहेको छ । ९ सदस्यीय संचालक समितिमा महिला ४ जना र पुरुष ५ जना रहेका छन् । संस्थामा कुल ६ जना कर्मचारीमा १ जना पुरुष र ५ जना महिला रहेका छन् ।

    केरवानी उद्धार स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था देवदह–१ सेयर पूँजी १ करोड ९ लाख ४८ हजार रुपैंया भएको सहकारी हो । जसको बचत निक्षेप ४ करोड ४१ लाख ३१ हजार ५ सय १ रुपैंया रहेको छ । ४१० जना सेयर सदस्यमा संस्थाले लगानी रहेको ऋण रकम ६ करोड ६२ लाख ७० हजार ९ सय ६२ रुपैंया रहेको केरवानी उद्धारको तरलता १५.४५ प्रतिशत अर्थात ७२ लाख ५५ हजार ९ सय १७ रुपैंया छ । कुल सम्पत्ति ७ करोड ५७ लाख ३५ हजार ५ सय ८० रुपैंया छ भने संस्थामा १०८८ जना सेयर सदस्य रहेका छन् । जसमा महिला ६९६ जना र पुरुष ३९२ जना रहेका छन् । सञ्चालक समिति ९ सदस्यीय रहेकोमा महिला ५ जना र पुरुष ४ जना रहेका छन् । संस्थामा ४ जना महिला र १ जना पुरुष कर्मचारी कार्यरत छन् ।

    चेली कृषि सहकारी संस्था लि. देवदह ७ को सेयर पूँजी ३४ लाख २५ हजार ५ सय ६ रुपैंया रहेको छ । सेयर सदस्य ९५० जना रहेको चेलीको कुल बचत रकम १ करोड ८६ लाख ९२ हजार ३ सय ५० रुपैंया छ । संस्थाले साउन मसान्त सम्म २०१ जना सदस्यहरुमा २ करोड एक लाख ६९ हजार ८ सय ५८ रुपैंया ऋण लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति २ करोड ८४ लाख ५४ हजार ९ सय ८६ रुपैंया रहेको छ भने संस्थामा मौजुदा तरलता रकम १५ लाख ६६ हजार ९ सय ८४ रुपैंया अर्थात १५.५ प्रतिशत रहेको व्यवस्थापक अस्मीता सापकोटाले जानकारी दिईन् ।

    संस्थाको नाम अनुरुप सबै महिला सदस्य रहेको संस्थाको संचालक समिति ११ सदस्यीय र कर्मचारी २ जना रहेको चोलीले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कृषि तर्फ मलखाद तथा बिउ बिजन वितरण गर्ने गरेको सहकारीले विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा महिलाहरुलाई सीपसँग जोडेर उत्पादन र स्वरोजगार बनाउनका लागि काम गर्दै आएको संस्थाका उपाध्यक्ष देवी अधिकारीले बताईन् ।

    देवदहको वडा नं ७ मा कार्यालय रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. देवदहको सेयर पूँजी ६४ लाख ६६ हजार ५ सय रुपैंया छ । उसको बचत निक्षेप ४ करोड १२ लाख १६ हजार ८ सय ९८ रुपैंया छ भने ३७४ जना शेयर सदस्यलाई शुभलक्ष्मीले ५ करोड ७ लाख ५४ हजार पाँच सय ९४ रुपैंया ऋण लगानी गरेको संस्थाका व्यवस्थापक टोमनाथ पोखरेलले जानकारी दिए । शुभलक्ष्मीको तरलता रकम ८.५६ प्रतिशत अर्थात ३५ लाख २६ हजार ८ सय ३७ रुपैंया रहेको छ । कुल सम्पत्ति ५ करोड ४९ लाख ११ हजार ३ सय ८६ रुपैंया रहेको संस्थामा सञ्चालक समिति ९ सदस्यीय रहेको छ । जसमा महिला ४ जना र पुरुष ५ जना रहेका छन् । ९४६ जना सेयर सदस्य रहेको सहकारीमा महिला सदस्य ५२१ जना र पुरुष सदस्यको संख्या ४२५ रहेको छ । संस्थामा २ जना पुरुष र एक जना महिला कर्मचारी कार्यरत छन् ।

    देवदह ७ मै कार्यालय रहेको अनुग्रह कृषि सहकारी संस्था लि.को सेयर पूँजी ४५ लाख ९ हजार आठ सय रुपैंया छ । साउन मसान्तसम्म उसको बचत निक्षेप २ करोड ५१ लाख ६४ हजार ९ सय ७ रुपैंया छ भने संस्थाले २३७ जना सेयर सदस्यहरुमा २ करोड ५५ लाख ९३ हजार ४६ रुपैंया ऋण लगानी गरेको छ । तरलता रकम २४.३९ प्रतिशत अर्थात ६१ लाख ३९ हजार ८ सय २३ रुपैंया मौजुदा रहेको संस्थाको कुल सम्पत्ति ३ करोड २८ लाख ९५ हजार ३ सय ९३ रुपैंया रहेको संस्थाका व्यवस्थापक सविता पाण्डेले जानकारी दिईन् । ९३८ जना सेयर सदस्य रहेको अनुग्रहमा महिला ५८४, पुरुष ३५४ जना रहेका छन् । संस्थाको सञ्चालक समिति ११ सदस्यीय रहेको छ । जसमा महिला ५ जना र पुरुष ६ जना रहेका छन् । ३ जना महिला कर्मचारीको व्यवस्थापनमा चलेको अनुग्रहले नाम बमोजिमकै कृषिका लागि आवश्यक मलखाद विक्रि वितरण तथा बिउ बिजनको कामसँगै सेयर सदस्यहरुको बचत तथा ऋण लगानीको काम समेत गर्ने गरेको छ ।

    आभुषण बचत तथा ऋण सहकारी संस्था लि देवदह–११ रहेको छ । महिला ४१७ जना र पुरुष ४९५ जना गरी संस्थामा जम्मा ९११ जना सेयर सदस्य रहेका छन् । सेयर पूँजी १५ लाख ५६ हजार ७४ रुपैंया रहेको सहकारीको कुल बचत ३ करोड ६ लाख ३५ हजार ९ सय ८६ रुपैंया रहेको छ । बचत तथा ऋणको कारोवार गर्ने संस्थाले २७६ जना सदस्यहरुमा ३ करोड ४ लाख १४ हजार ४ सय ४४ रुपैंया ऋण प्रवाह गरेको छ । संस्थामा साउन मसान्त सम्मको तरलता १७.७१ प्रतिशत अर्थात ५७ लाख ३४ हजार ९ सय ३३ रुपैंया रहेको छ । संस्थाको कुल पूँजी ३ करोड ९० लाख ६ हजार २ सय ४५ रुपैंया रहेको संस्थाको साउन मसान्त सम्मको वित्तिय विवरणमा उल्लेख छ । ९ सदस्यीय सचालक समिति रहेको संस्थामा महिला ४ जना पुरुष ५ जना छन् भने ३ जना महिला कर्मचारीहरुले संस्था हाँकीरहेका छन् । 

    नवप्रभान महिला बचत तथा ऋण सहकारी संस्था देवदहको सेयर पूँजी ९४ लाख १५ हजार ३ सय रुपैंया रहेको छ । देवदह–७ मा कार्यालय रहेको नवप्रभातको बचत निक्षेप ६ करोड ३३ लाख ५१ हजार ६ सय ७० रुपैंया रहेको छ भने संस्थाले ७९७ जना सेयर सदस्यहरुमा ५ करोड ८९ लाख ९० हजार ८ सय ५५ रुपैंया ऋण लगानी गरेको छ । तरलता रकम २ करोड १६ लाख १५ हजार ६ सय ३६ रुपैंया अर्थात ३४.१२ प्रतिशत रहेको संस्थाको कुल सम्पत्ति ८ करोड ३१ लाख ४२ हजार ६ सय १ रुपैंया रहेको व्यवस्थापक अञ्जली काफ्लेले जानकारी दिईन् । सेयर सदस्य संख्या ८३० जना रहेको नवप्रभातको ९ जनको सञ्चालक समिति रहेको छ । ३ जना महिला कर्मचारीहरुको व्यवस्थापनमा सञ्चालित नवप्रभातले स्थापना कालमा स्टेशनरी पसल सञ्चालन गरेको भएपनि हाल बन्द अवस्थामा रहेको छ ।

    मुल्यवान बचत तथा ऋण सहकारी संस्था लि. देवदहको सेयर पूँजी ८५ लाख ८३ हजार पाँच सय रुपैंया रहेको छ । उसको बचत निक्षेप २ करोड ७६ लाख ९८ हजार ४ सय १६ रुपैंया छ । संस्थाले २२७ जना सेयर सदस्यहरुमा ३ करोड ३० लाख २६ हजार ६ सय ३५ रुपैंया ऋण लगानी गरेको संस्थाका व्यवस्थापक नरबहादुर नेपालीले जानकारी दिए । तरलता रकम ४२ लाख २३ हजार ८ सय ३२ रुपैंया अर्थात १०.९१ प्रतिशत रहेको संस्थाको कुल सम्पत्ति ३ करोड ८७ लाख १९ हजार ८ सय पाँच रुपैंया रहेको संस्थाले उपलब्ध गराएको वित्तिय विवरणमा उल्लेख छ । ४०४ जना महिला र ४०१ जना पुरुष सदस्य गरी कुल ८०५ जना सेयर सदस्य रहेको संस्थामा २ जना महिला र ७ जना पुरुषसहितको ९ सदस्यीय सञ्चालक समिति रहेको छ । मूल्यवानमा २ जना महिला सहित ३ जना कर्मचारी रहेका छन्  ।

    वर पिपल कृषि सहकारी संस्था लिमिटेड देवदह २ को सेयर पूँजी १७ लाख ४८ हजार ६ सय २५ रुपैंया रहेको छ । वर पिपलको बचत निक्षेप ४२ लाख ३४ हजार ९५ रुपैंया हुँदा उसले संस्थाका सदस्यहरुलाई १ करोड ८२ लाख ५६ हजार ३ सय ९४ रुपैंया ऋण लगानी गरेको जनाएको छ । तरलता रकम तरलता १०.३२ प्रतिशत अर्थात १९ लाख ९५ हजार ८ सय ३७ रुपैंया रहेको वर पिपलको कुल सम्पत्ति १ करोड ९३ लाख ५४ हजार ६९ रुपैंया रहेको संस्थाले उपलब्ध गराएको वित्तिय विवरणमा उल्लेख गरिएको छ । संस्थामा  ३९२ जना महिला र ३०४ जना पुरुष सहित ६९६ जना सेयर सदस्य रहेका छन् । कृषिका लागि आवश्यक मलखाद र बिउ बिजन बिक्रि वितरण गर्ने गरेको संस्थाको सञ्चालक समिति ७ सदस्यीय रहेको छ । जसमा महिला ३ जना र पुरुष ४ जना छन् भने संस्थामा १ जना पुरुष कर्मचारी रहेका छन् ।

    कर्मशील बचत तथा ऋण सहकारी संस्था लि देवदह २ को सेयर पूँजी ४० लाख ६९ हजार आठ सय रुपैंया रहेको छ । कुल बचत १ करोड ७२ लाख ६२ हजार ५ सय ९८ रुपैंया रहेको संस्थाले १ करोड ९१ लाख १५ हजार ६ रुपैंया सेयर सदस्यहरुलाई ऋण लगानी गरेको छ । संस्थाको तरलता प्रतिशत ४.१४ अर्थात कर्मशीलमा साउन मसान्त सम्मको तरलता रकम ७ लाख १५ हजार ५ सय ९० रुपैंया रहेको छ । संस्थाको कुल सम्पत्ति २ करोड ५६ लाख २३ हजार ९ सय ७१ रुपैंया रहेको छ । ५३१ जना शेयर सदस्य रहेको कर्मशीलमा महिला सदस्य ३०५ र पुरुष सदस्यको संख्या २२६ जना रहेको छ । सञ्चालक समितिको संख्या ९ रहेको संस्थामा महिला ३ जना पुरुष ६ जना छन् भने १ जना महिला सहित २ जना कर्मचारी कार्यरत छन् ।

    पानवारी महिला बाख्रापालन सहकारी संस्था लिमिटेड देवदह–५ को सेयर पूँजी २३ लाख ८० हजार ५ सय रुपैंया रहेको छ । कुल बचत रकम १ करोड ३९ लाख २७ हजार ३ सय ९७ रुपैंया रहेको संस्थाले १ करोड ४२ लाख ३१ हजार ४५ रुपैंया सदस्यहरुमा ऋण प्रवाह गरेको छ । संस्थाको कुल सम्पत्ति १ करोड ६७ लाख ९७ हजार ४५ रुपैंया रहेको छ भने संस्थामा १७ लाख ८० हजार अर्थात १०.५८ प्रतिशत रकम तरलताको रुपमा रहेको छ । कुल सदस्य संख्या ४९५ जना रहेको पानवारीमा सञ्चालक समिति ९ जनाको रहेको छ भने २ जना कर्मचारी रहेका छन् । संस्थाको उद्धेश्य बाख्रा पालन गर्ने रहेकाले पानवारीले सेयर सदस्यहरुलाई बाख्रा पैँचोको रुपमा किसानलाई दिने गरेको व्यवस्थापक सुशिला अर्यालले बताईन् ।

    किसान बहुउद्देश्यीय सहकारी संस्था देवदह–२, रुपन्देहीको सेयर पूँजी ६५ लाख ८९ हजार ६ सय ५० रुपैंया रहेको छ । किसानको बचत निक्षेप ३ करोड ४९ लाख ७७ हजार ६ सय ७८ रुपैंया रहँदा उसले २२९ जना सेयर सदस्यहरुलाई ३ करोड २९ लाख ७५ हजार ५ सय ८४ रुपैंया ऋण प्रवाह गरेको छ । संस्थामा तरलता रकम ८४ लाख ६९ हजार २ सय ५१ रुपैंया अर्थात १८.७ प्रतिशत रहेको छ भने २७१ जना महिला र २०२ जना पुरुष सहित ४७३ जना सेयर सदस्य रहेको संस्थाले उपलब्ध गराएको साउन मसान्तसम्मको वित्तिय विवरणमा उल्लेख छ । किसानको कुल सम्पत्ति ४ करोड ५४ लाख ९ हजार ६ सय पचास रुपैंया रहेको छ । ११ जना सञ्चालक रहेको सहकारीमा ६ जना महिला सञ्चालक र ५ जना पुरुष सञ्चालक रहेका छन् । किसानमा एकजना महिला सहित २ जना कर्मचारी रहेको संस्थाका व्यवस्थापक दलबहादुर विरकट्टाले जानकारी दिए ।

    बुद्धमावली सिर्जनशिल कृषि सहकारी संस्था लिमिटेड देवदह–७ रुपन्देहीको सेयर पूँजी १२ लाख ७९ हजार आठ सय रुपैंया रहेको छ ।  यस संस्थाको कुल पूँजी ७५ लाख ७९ हजार ७ सय १६ रुपैंया रहेको छ । संस्थाले साउन मसान्तसम्म १५४ जना सेयर सदस्यहरुलाई ५२ लाख ६७ हजार ४ सय २३ रुपैंया ऋण लगानी गरेको छ । यसैगरी १४ लाख ६० हजार ५ सय १३ रुपैंया तरलता रहेको सहकरीले ३३ लाख ५२ हजार ३ सय ५१ रुपैंया सेयर सदस्यबाट निक्षेप संकलन गरेको छ । ३३१ जना महिला र १३५ जना पुरुष सहित ४६६ जना सेयर सदस्य रहेको संस्थामा सञ्चालक समिति महिला ६ र पुरुष ३ सहित ९ सदस्यीय रहेको छ । संस्थामा महिला १ जना सहित २ जना कर्मचारी रहेका छन् ।

    सारथी कृषि सहकारी संस्था लिमिटेड देवदह–७ को सेयर पूँजी ८० लाख ३१ हजार ६ सय रुपैंया रहेको छ । २२४ जना पुरुष र २११ जना महिला सहित ४३५ जना सेयर सदस्य रहेको सारथीको कुल बचत ९७ लाख ९६ हजार ७ सय ८९ रुपैंया र  लगानीमा रहेको ऋण १ करोड ७५ लाख ६१ हजार २ सय ८६ रुपैंया रहेको संस्थाले उपलब्ध गराएको वित्तिय विवरणमा उल्लेख छ । संस्थाको तरलता रकम १३ लाख ५७ हजार ५ सय १७ रुपैंया रहेको छ भने कुल सम्पत्ति २ करोड २६ लाख ५६ हजार ९ सय ३६ रुपैंया रहेको छ । संस्थाको सञ्चालक समिति ३ जना महिला र ६ जना पुरुषसहित ९ सदस्यीय रहेको छ भने कर्मचारी ३ जना सबै महिला रहेका छन् ।

    भारतिय भुपु सैनिक कल्याणकारी कृषि सहकारी संस्था लि. देवदहको कुल सेयर पूँजी २३ लाख ९९ हजार ९ सय रुपैंया रहेको छ । संस्थाको बचत निक्षेप १ करोड ७८ लाख ७९ हजार ७७ रुपैंया रहेको छ भने १५६ जना सदस्यहरुलाई १ करोड ९४ लाख ७७ हजार ३० रुपैंया ऋण लगानी गरेको छ । १४१ जना महिला र २१४ जना पुरुष गरी ३५५ जना सेयर सदस्य रहेको भारतिय भुपु सैनिक कृषि सहकारी संघमा दर्ता भएको देवदहको एकमात्र सहकारी हो । २ करोड १७ लाख १ हजार ४ सय ९९ रुपैंया कुल पूँजी रहेको सहकारीको तरलता ८.८५ अर्थात १९ लाख २० हजार ६ सय ५६ रुपैंया रहेको छ । ७ जना सञ्चालक समिति रहेको यस सहकारीमा ४ जना पुरुष र ३ जना महिला सदस्य रहेका छन् । २ जना महिला कर्मचारीको व्यवस्थापनमा संस्था सञ्चालित छ । 

    संगिनी महिला बचत तथा ऋण सहकारी संस्था देवदह– ६ को कुल सेयर पूँजी २३ लाख ३७ हजार ५ सय रुपैंया रहेको छ । संस्थामा कुल बचत रकम १ करोड ४२ लाख ४५ हजार ८ सय ९८ रुपैैंया रहेको छ भने १२७ जना ऋणि सदस्यहरुलाई संस्थाले १ करोड ७२ लाख ३९ हजार ७ सय ५० रुपैंया ऋण प्रवाह गरेको वित्तिय विवरणमा उल्लेख छ । ३२७ जना सेयर सदस्य रहेको संगिनीमा तरलता रकम १४ लाख ८१ हजार ९ सय ३३ रुपैंया अर्थात १३ प्रतिशत रहेको छ । संस्थाका कुल सम्पत्ति १ करोड ९३ लाख ३९ हजार ९ सय ७८ रुपैंया रहेको छ । संगिनीमा १ जना महिला कर्मचारी कार्यरत छन् ।

    कोलुवा कृषि सहकारी संस्था लिमिटेड देवदह–५ को सेयर पूँजी २१ लाख ३५ हजार ७ सय पाँच रुपैंया रहेको छ । नियमित वचत नगर्ने गरेको कोलुवाले ३० जना शेयर सदस्यलाई ११ लाख ७९ हजार रुपैंया ऋण लगानी गरेको जनाएको छ । ६६.६७ प्रतिशत अर्थात २४ लाख १५ हजार ८ सय ३ रुपैंया तरलता रहेको संस्थामा १९५ जना शेयर सदस्य रहेका छन् । जसमा महिला १०२ जना र पुरुष ९३ जना छन् । संस्थाको कुल सम्पत्ति ३६ लाख २३ हजार ३ सय ७३ रुपैंया रहेको छ ।  ११ जना सञ्चालक समिति रहेको संस्थामा महिला ५ जना र पुरुष ६ जना रहेका छन् । संस्थामा हालसम्म कुनै कर्मचारीको व्यवस्था नरहेकाले आँफुले समय मिलाएर कार्यालयको काम गर्ने गरेको संस्थाका अध्यक्ष प्रमिला सेढाईले बताइन् ।

    ढोलबजवा कृषि सहकारी संस्था लि देवदह–१२ मा १३५ जना सदस्य रहेका छन् । करिव ८ लाख रुपैंया पूँजी रहेको ढोलबजवाले स्थानीय कृषकहरुलाई मलखाद तथा बिउ बिजन वितरणको कार्य गर्दै आएको छ । एक लाख ३५ हजार सेयर पूँजी रहेको सहकारीमा ९ जना सञ्चालक सदस्य रहेका छन् । जसमा ३ जना महिला र ६ जना पुरुष सदस्य रहेको र व्यवस्थापन गर्ने छुट्टै कर्मचारी नरहेको अध्यक्ष रञ्जित चौधरीले जानकारी दिए ।

    १०१ जना शेयर सदस्य रहेको देवदह–११ स्थित सहोदर कृषि सहकारी संस्था लिमिटेडको कुल पूँजी ७ लाख ५१ हजार २ सय ६ रुपैंया रहेको छ । आर्थिक क्रियाकलाप न्यून रहेको सहोदरले कृषि कार्यका लागि सामान्य लगानी गर्ने गरेको अध्यक्ष रामकुमार चौधरीले बताए । संस्थामा ३६ जना महिला र ६५ जना पुरुष सदस्य रहेका छन् । संस्थामा कुनै कर्मचारीको समेत व्यवस्था गरिएको छैन । ९ सदस्यीय रहेको संस्थाको सञ्चालक समितिमा ३ जना महिला र ६ जना पुरुष रहेका छन् । 

    सरनकालिका कृषि सहकारी संस्था लिमिटेड देवदह– ६ मा महिला ४८ जना र पुरुष ३० जना गरी ७८ जना सेयर सदस्य रहेका छन् । सञ्चालक समिति ९ जना रहेको सरनकालिकामा महिला ६ जना पुरुष ३ जना रहेको कोषाध्यक्ष दुर्गाबहादुर रानाले जानकारी दिए । सेयर पूँजी १ लाख ९४ हजार ७ सय, बचत २० लाख ५ हजार ३ सय ५४ रुपैंया रहेको संस्थाको कुल पूँजी २४ लाख ९१ हजार १ सय २६ रुपैंया रहेको छ । साउन मसान्त सम्मको वित्तिय विवरण अनुसार संस्थाका ४९ जना सदस्यहरुले २२ लाख ५६ हजार पाँच सय रुपैंया ऋण लगेका छन् । संस्थासँग तरलता रकम ३८ हजार १ सय ८३ रुपैंया रहेको कोषाध्यक्ष रानाले जानकारी दिए । कुल पूँजी निरन्तर बढ्दै गएकाले सामान्य कोषको रुपमा सञ्चालिन सरनकालिकाले आफुलाई कम्प्यूटर लेखा प्रणालीमा स्तरोन्नती गर्नुपर्ने देखिन्छ । वडा नं ६ स्थित सरनबारीमा अर्गानिक सेमी र अन्य तरकारीको उत्पादन र बजारीकरणमा यस सहकारीले किसानहरुलाई सघाउँदै आएको छ । 

    शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लि. देवदह–४ ले दुधको कारोवार गर्दै आएको छ । विविध उद्देश्य राखेर संस्था स्थापना गरिएपनि यो संस्थाले दुग्ध सम्बन्धि कारोवार गर्दै आएको व्यवस्थापक ज्ञान प्रसाद भण्डारीले जानकारी दिए । २९ जना महिला र २७ जना पुरुष गरी ५६ जना सेयर सदस्य रहेको संस्थाको सेयर पूँजी ५६ सय रुपैंया, ऋण लगानी ७ लाख रुपैंया र तरलताको रुपमा संस्थामा ९ लाख रुपैंया रहेको व्यवस्थापक भण्डारीले बताए । कुल पूँजी २१ लाख रहेको संस्थाले आंशिक रुपमा रासायनिक मल तथा बिउबिजन को कारोवार गर्ने गरेको छ । संस्थाले औषत रुपमा दैनिक ५०० लिटर दुध संकलन गर्ने र बिक्रि वितरण गर्दै आएको छ । ९ सदस्यीय सञ्चालक समिति रहेको संस्थामा महिला ५ जना पुरुष ४ जना रहेको र एक जना पुरुष कर्मचारी रहेका छन् ।

    बुद्धमावली महिला बहुउद्धेश्यीय सहकारी संस्था लि देवदह–८ मा ४२ जना सेयर सदस्य छन् । महिला सहकारी भएकाले सबै सदस्यहरु महिला भएको र त्यसमा सञ्चालक समिति १३ जनाको रहेको अध्यक्ष जमुना पौडेलले जानकारी दिईन् । मासिक रुपमा २ सय रुपैंया संकलन गर्ने गरेको सहकारीले सेयर सदस्यहरुलाई तत्काल पर्ने स– साना गर्जो टार्नका लागि भुमिका खेल्ने गरेको छ । यु एन डि पि नामक संस्थाको पहलमा संस्था गठन भएको भएपनि आर्थिक रुपमा कारोवार नगरेको सचिव जिया श्रेष्ठले जानकारी गराईन । सामुदायिक वनसँग जोडिएका महिलाहरुलाई आय आर्जनमा जोड्नको लागि करिव डेढ बर्ष जति मेहनत गरेपनि खासै उपलब्धि नभएको उनले बताईन् । संस्थाले सामान्य किसिमले कृषिको काम गरिरहेको उनले बताईन् ।

    प्रगति कृषि सहकारी संस्था लि देवदह–१२ मा ३० जना सेयर सदस्य रहेको र सेयर रकम ३० हजार रहेको विवरण प्राप्त भएपनि त्यसको आधिकारीक पुष्टि हुन सकेन । ९ जना सञ्चालक समिति रहेको र संस्था देवदह नगरपालिकामा दर्ता भएपनि केहि बर्ष यता प्रगति निष्कृय जस्तै रहेको पाईएको छ । यसरी कतिपय सहकारीहरु व्यवस्थापकिय कमजोरीका तथ्याङ्क विहिन भेटिएको हुँदा त्यस्ता संस्था कृषि समुहको रुपमा गठन भई नगरपालिकामा सहकारीको नामबाट दर्ता भएको पाइएको छ । यस्ता संस्थालाई नगरपालिका र सरोकारवाला निकायले नियमित अनुगमन गर्दै सक्रिय बनाउन आवश्यक देखिन्छ ।

    ५५ हजार शेयर सदस्य, झन्डै ३६ करोड शेयर पूँजी : साढे ३ अर्ब बचत

    माथिको तथ्याङ्कलाई हेर्दा देवदहमा रहेका दुग्ध उत्पादक सहकारी बाहेकका ३२ वटा सहकारीहरुमा ५५ हजार ३४५ जना सेयर सदस्यको कुल ३५ करोड ९१ लाख ४९ हजार ६ सय ६० रुपैंया सेयर रकमको रुपमा सहकारीमा जम्मा भएको देखिन्छ । जुन रकमको सेयर लाभांस सहकारीहरुले विगतका बर्षहरुमा अधिकतम १८ प्रतिशत देखि न्युनतम ४ प्रतिशत सम्म बार्षिक रुपमा उपलब्ध गराउने गरेको पाईन्छ ।

    देवदहमा रहेका बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि गरी ३ वटा विषयगत सहकारीहरुमा रहेका बचतकर्ताहरुबाट कुल ३ अर्व ५४ करोड ५१ लाख १५ हजार ५ सय ८ रुपैंया बचत निक्षेप रहेको देखिएको छ । देवदहका सहकारीबाट  ३ अर्व ५४ करोड ३१ लाख ४६ हजार ५ सय २९ रुपैंया ऋण प्रवाह भएको देखिन्छ । भने नियमित कारोबार गर्ने सहकारीहरुसँग न्युनतम ४.१४ प्रतिशतदेखि ६६.६७ प्रतिशत सम्म तरलता प्रतिशत रहेको पाईन्छ । जसको औषत तरलता दर १४.५२ प्रतिशत हुन आउँछ । तथ्याङ्क अनुसार सहकारीहरुमा कुल सञ्चित तरलता रकम ७३ करोड ८८ लाख १७ हजार ३ सय २८ रुपैंया रहेको छ ।

    भाखा नाघेको कर्जा ४० करोड

    देवदहका सहकारीहरूले कर्जा प्रवाह गरेको साढे ३ अर्ब रकम मध्ये ४० करोड बराबरको ऋण भाखा नाघेको छ  । सहकारी संजाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीका अनुसार एक वर्षभन्दा बढि भाखा नाघेको ऋण १५ करोड ७७ लाख ६० हजार ४ रूपैयाँ रहेको छ भने एक महिनादेखि एक वर्षसम्मको भाखा नाघेको ऋण १५ करोड २९ लाख ७९ हजार ४८० रूपैयाँ रहेको छ  । अध्यक्ष पंगेनीले उल्लेखित रकम बचत तथा ऋण सहकारीको मात्रै भएको बताए । अन्य बहुउद्धेश्यीय, कृषिजस्ता विषयगत सहकारीहरुले गरेका ऋणको भाखा नाघेको ऋणसमेत समावेश गर्दा ४० करोड बराबर कर्जाको भाखा नाघेको सहकारीकर्मी बताउँछन  ।

    शेयर सदस्य कर्मचारी सदस्य महिला धेरै, संचालक पुरुष

    यी सहकारीहरुमा ३४ हजार ९५६ जना महिला र २० हजार १७० जना पुरुष र १३ संस्थागत गरी कुल ५५ हजार ३४५ जना सेयर सदस्यहरु रहेको देखिन्छ । यो संख्यालाई हेर्दा सहकारीहरुमा महिला सदस्यको सहभागिता ६३.१७ प्रतिशत देखिन्छ भने सहकारीमा पुरुषको सदस्यको सख्या ३६.८२ प्रतिशत देखिन्छ । सहकारीमा झण्डै दुई तिहाई उपस्थिति देखिएका महिलाहरुको सञ्चालक समितिमा भने न्युन उपस्थिति देखिएको छ । सञ्चालक समितिमा ५ वटा महिला सहकारीमा रहेको ४९ जनाको उपस्थिति बाहेक अन्य सहकारीमा महिला उपस्थिति ४२.५८ प्रतिशत देखिन्छ । अन्य सहकारीको सञ्चालक समितिमा महिला सहभागिता ११२ जना र पुरुषको सहभागिता १५१ जना देखिन्छ । यसले सहकारीको नेतृत्वमा पुरुष सेयर सदस्य हावी भएको देखाउँछ । 

    देवदहका सहकारीहरुले १६७ जनालाई रोजगारी प्रदान गरेका छन् । जसमा १२८ जना महिला र ३९ जना पुरुष रहेका छन् । यि सहकारीहरुमा दुई तिहाई भन्दा बढि महिला कर्मचारी रहेको पाईन्छ । सहकारीहरुमा महिला कर्मचारीहरुको सहभागिता ७६.६४ प्रतिशत रहेको छ ।

    नेतृत्वको हिसावले ३ वटा विषयगत सहकारीहरु मध्ये ९ वटा सहकारीको नेतृत्व महिलाहरुले गरेका छन् भने १२ वटा सहकारीमा कर्मचारीको नेतृत्व समेत महिलाहरुले गरेका छन् ।

    दुग्ध सहकारीमा दैनिक देखि पाँच हजार लिटर दुध संकलन

    बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय बाहेक देवदहमा दुध सम्बन्धि कारोबार गर्ने विभिन्न सहकारी सहकारी संस्थाहरु रहेका छन् । राधाकृष्ण दुग्ध सहकारी संस्था देवदह–६, सीतलनगर दुग्ध उत्पादक सहकारी संस्था देवदह ७, देवदह दुग्ध उत्पादक सहकारी संस्था देवदह–६, जनउत्थान दुग्ध उत्पादक सहकारी संस्था देवदह–२, शान्तिनगर दुग्ध उत्पादक सहकरी संस्था देवदह–७, कामधेनु दुग्ध उत्पादक सहकारी संस्था देवदह–३, सगरमाथा दुग्ध उत्पादक सहकारी संस्था देवदह–७, गुँरास दुग्ध उत्पादक सहकारी संस्था देवदह–३, सिद्ध दुग्ध उत्पादक सहकारी संस्था लि., शुभ सफल दुग्ध उत्पादक सहकारी संस्था देवदह–१ गरी १० वटा दुग्ध उत्पादक सहकारी संस्था अस्तित्वमा रहेका छन् ।

    देवदहका दुग्ध सहकारीहरुले सुख्खा सिजनमा दैनिक ३ हजार लिटर भन्दा बढी र अन्य सिजनमा पाँच हजार लिटर भन्दा बढी दुध संकलन गर्ने सुभ सफल दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक सुर्यकान्त रेग्मीले जानकारी दिए ।

    दैनिक तीन लाखको दुध विक्री, दुई करोड क्यौता उठ्न बाँकी

    किसानहरुले दुध उत्पादन गरेर सहकारी र तिनका संकलन केन्द्रमा दिएको दुधको रकम दैनिक ३ लाख रुपैंया भन्दा बढी मुल्यको हुने गरेको देखिन्छ । देवदहका सहकारीहरुले संकलन गर्ने करिव ७ सय लिटर दुध स्थानीय बजारमा खपत भएपनि अन्य दुध बाहिर बिक्रि गर्नुपर्ने अवस्था रहेको छ । दुध संकलनको लागि छुट्टै सरकारी संयन्त्र वा व्यवस्था नभएकाले यस्ता सहकारीहरुबाट उत्पादित दुध विभिन्न प्राइभेट कम्पनीहरुले खरिद गर्ने गरेको रेग्मीले जानकरी दिए ।  ‘हामीले आ-आफ्नो हिसावले विभिन्न कम्पनीहरुलाई दुध उपलब्ध गराउने गछौं तर हाम्रो समस्या नियमित भुक्तानी नहुने छ ।’ रेग्मीले भने, ‘कतिपय सहकारीको २०८१ चैत यताको भुक्तानी रोकिएको छ ।’

    जिल्ला दुग्ध उत्पादक सहकारी संघका सदस्यसमेत रहेका रेग्मीले करिव २ करोड रुपैंया देवदहका सहकारी संस्थाहरुले दुध खरिद गर्ने कम्पनीहरुसँग बक्यौता रकम लिन बाँकी रहेको बताए ।

    देवदहमा १३ वटा दुग्ध उत्पादक संस्था नगरको तथ्याङ्कमा भएपनि २ वटा सहकारी संस्था जनप्रिय र बुद्धनगर दुग्ध उत्पादक सहकारी संस्था अस्तित्वमा नरहेको नगरपालिकाका आर्थिक विकास अधिकृत गंगा प्रसाद पन्थीले जानकारी दिए ।

    नगरको तथ्याङ्कमा माथागढी दुग्ध उत्पादक सहकारी संस्था उल्लेख भएपनि उक्त संस्थाका पूर्व अध्यक्ष मिनप्रसाद ढुंगानालाई सम्पर्क गर्दा केहि बर्ष अघिनै संस्था खारेज भएको जानकारी दिए । नगरपालिकाको तथ्याङ्कमा रहेको विश्वास स्वास्थ्य सहकारी संस्था लि र केरवानी स.स. लि नाम गरेका सहकारी अस्तित्वमा नरहेको र यसको यकिन विवरण संकलन गरी तथ्याङ्ग अद्यावधिक गर्ने पन्थीले बताए । 

    सहकारीको कुल पुँजी अर्ब १३ करोड : ४४५ जना सञ्चालक, २२९ जना कर्मचारी

    सहकारी सञ्जाल देवदहले पनि सहकारीको तथ्याङ्क अद्यावधिक गरिरहेको जनाएको छ । सञ्चालको पछिल्लो तथ्याङ्क अनुसार नगरका सबै सहकारीहरुको कुल पूँजी ४ अर्ब १३ करोड २८ लाख २२ हजार तीन सय ४८ रुपैया ३० पैसा रहेको छ । त्यसबाट उनीहरुले २ अर्ब ८ करोड ११ लाख ७९ हजार ६ सय ६ रुपैंया सहकारीहरुले सदस्यलाई ऋण लगानी गरेका छन् ।

    देवदहका सहकारीमा ३१ करोड ५४ लाख २६ हजार तीन सय रुपैंया शेयर पूँजी रहेको छ ।  उनीहरुले ३ अर्ब ४५ करोड ८६ लाख ३८ हजार आठ सय ८७ रुपैया ८९ पैसा सेयर सदस्यहरुबाट बचत रकम संकलन गरेका छन् । ४४५ जना सञ्चालकले हाँकीरहेका यस्ता सहकारीहरुले २२९ जना कर्मचारीहरुका लागि रोजगारी सिर्जना गरेका छन् ।

    सञ्जालका अध्यक्ष जागेश्वर पंगेनीका अनुसार कतिपय सहकारीहरु नगरपालिका बाहिर मुख्य कार्यालय भएपनि देवदहमा सेवा केन्द्र मार्फत कारोवार गरिरहेका छन् । त्यस्ता सहकारीहरुको कारोवार रकम भने आँफुहरुलाई जानकारी नगभएको उनले बताए । पंगेनीले भने, ‘देवदहमा कुल ४७ वटा सहकारी दर्ता भएको देखिन्छ, तर अहिले अस्तित्वमा ४३ वटा मात्र पाईन्छ । दुई वटा दुग्ध, एक वटा स्वास्थ्य र एउटा अन्य उद्देश्य भएका सहकारीहरु नविकरण भएको पाईदैन । त्यसबाहेक कतिपय सहकारीहरुले देवदहमा मुख्य कार्यालय नभएपनि सेवा केन्द्र मार्फत कारोवार गरिरहेको पाइन्छ ।’

    देवदहका सहकारीहरुले बार्षिक रुपमा करिव २ करोड रुपैंया सेयर सदस्यहरुलाई यातायात खर्च (भत्ता) वापत वितरण गर्ने गरेका छन् । पंगेनीका अनुसार गत आर्थिक वर्षमा सहकारी संस्थाहरुले कम्तिमा १ करोड ७७ लाख ७५ हजार रुपैंया रकम यातायात भत्ता शिर्षकमा खर्च गरेको पाईन्छ । उक्त भत्ता उपलब्ध गराएका सहकारीहरुले १५ प्रतिशतले हुन आउने रकम २६ लाख २६ हजार रुपैंया करको रुपमा राज्यलाई बुझाएका छन् । यदि सो खर्च नगरेमा विभिन्न कोषमा विभाजन भई संस्थासँग रहने र सदस्यहरुलाई फाईदा पुग्ने उनले बताए । पंगेनीले भने, ‘त्यसैले यो बर्ष सहकारीहरुले सेयर सदस्यलाई यातायात भत्ता वापत रकम उपलब्ध नगराउने निर्णय गरेका छौं ।’ 

    ‘दामासायी रुपमा यातायात खर्च वितरण गर्दा एकातर्फ अनावश्यक रुपमा कर तिर्नुपर्ने हुन्छ भने अर्कोतर्फ नियमित कारोवार गर्ने व्यक्ति र धेरै शेयर पूंजी भएको व्यक्लिाई घाटा पर्छ त्यसैले यो न्याय संगत छैन ।’ पंगेनीले भने, ‘कार्यविधि निर्माण बिना कर जम्मा नगरी उक्त रकम वितरण गर्ने हो भने त्यो गैरकानुनी हुन्छ ।’

    सहकारी मार्फत ठुलो रकम जनस्तरमा परिचालन भएपनि पछिल्लो पटक कतिपय जोखिमयुक्त सहकारीहरुका कारण सर्वसाधारणमा समग्र सहकारी प्रति गलत धारण विकसित भएको पाईन्छ । दिनहुँजसो सञ्चार माध्ययम र सामाजिक सञ्जालमा आउने यस्ता समाचार र सूचनाका कारण सहकारीका वचतकर्ताहरुमा निराशा छाएको राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक टिका न्यौपाने गौतमले बताईन् । त्यसैले सहकारीहरुको विचमा समन्वय सहकार्य र कमी कमजोरीको वारेमा छलफल र जानकारी आदान प्रदान गर्नको लागि नगरमा सहकारी सञ्जाल स्थापना गरिएको उनको भनाई छ । साना किसान कृषि सहकारी संस्था देवदहकी अध्यक्ष समेत रहेकी गौतमले सहकारी संस्थाहरु नीति विधि र पद्धतिले चल्ने हो भने जोखिम स्वतः अन्त्य हुने बताईन् । 

    गतबर्ष ६८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर देवदहका सहकारी संस्थाहरुले देवदह साझा अवधारणा तयार पारेका छन् । नगरपालिकाका प्रतिनिधिहरुको रोहवरमा जिल्ला सहकारी संघ रुपन्देही, बचत संघ, दुग्ध उत्पादक सहकारी संघ, बहुउद्देश्यि सहकारी संघ लगाएत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया गरी सञ्जालले सहकारी व्यवस्थापनका लागि १३ बुँदे साझा प्रतिवद्धता समेत प्रस्तुत गरेको थियो ।

    के छ नगरको योजना  ?

    देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल देवदहमा सहकारी एकीकरण आवश्यक रहेको बताउँछन  । सेतोमसीसंग कुरा गर्दै प्रमुख खरेलले समग्रमा सहकारीको अवस्था राम्रै देखिए पनि केही साना सहकारी एकीकरण जान ढिला गर्न नहुने बताए । कतिपय सहकारीहरूले खरब कर्जा उठाउन नगरपालिकाले सहयोग गर्नुपर्ने आशयसमेत व्यक्त गरेको उल्लेख गर्दै खरेलले सहकारीले कर्जा प्रवाह गर्दा नै सबै पक्षको ख्याल गर्नुपर्ने विचार व्यक्त गरे ।

    'चार्डपर्व मान्नलाई ऋण दिने अनि उठेन भनेर गुनासो गर्ने चलन पनि देखिन्छ  ।' उनले भने, 'उत्पादनमूलक कार्यमा लगानी गर्ने र ऋण प्रवाह गर्नुअघि राम्रो संग अध्ययन गर्ने हो भने कर्जा नउठ्ने भन्ने हुन्न ।'

    कानुन: सहकारीको कर्जा नतिर्नेमाथि आफुहरूले कारवाही गर्न नसक्ने भएपनि सूचना जारी गर्ने र आवश्यक सहजीकरण गर्ने कार्य गरिरहेको उनको भनाई छ  ।

    उल्लेखित तथ्यांक र नगर प्रमुखको भनाईले देवदहका सहकारीहरू राम्रो अवस्थामा रहेको देखिन्छ । तर एउटै व्यक्ति उस्तै किसिमका एक बढी सहकारीमा सदस्य बन्ने देखिएको छ । राज्यको नीतिमै एकै प्रकृतिको सहकारीमध्ये एउटामा मात्र सदस्य बन्ने भन्ने उल्लेख भए पनि यहाँ अझैपनि त्यसको कार्यान्वयन भइसकेको देखिदैन  ।  त्यसो हुन सके र सहकारीहरूले घोषित उद्धेश्य अनुसार काम गर्न सके देवदहका सहकारीहरूको असल अभ्यास हेर्न लायक हुनेछ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।