देवदह । नेपाल शिक्षक महासंघ देवदह नगर समितिले विद्यालय शिक्षा विधेयकलाई सहमतीअनुरुप परिमार्जन नगरेको भन्दै नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रवार बुझाइएको ध्यानाकर्षण पत्रमा विगतका आन्दोलनका उपलब्धि र सहमतीलाई कमजोर पार्ने गरी विधेयक तयार भएको भन्दै महासंघले असन्तुष्टि जनायो ।
देवदह नगर महासंघले २०७५, २०७८ र २०८० सालका आन्दोलनका क्रममा नेपाल सरकारसँग ३० बुँदा, ५१ बुँदा र ६ बुँदे सहमती भएको तर तीमध्ये महत्वपूर्ण विषय अहिलेको विधेयकमा सम्बोधन नभएको उल्लेख गरेको छ । करिब तीन महिनासम्म सञ्चालन भएको २०८१–८२ को आन्दोलनपछि २०८२ वैशाख १७ गते सरकारसँग भएको ९ बुँदे सहमती कार्यान्वयनमा नआएको र २०८२ असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिबद्धता पनि पूरा नभएको महासंघको गुनासो छ ।
शिक्षकहरूको मुख्य सरोकारका विषयलाई पन्छ्याइएको भन्दै महासंघले अस्थायी शिक्षकको स्थायीत्व, आवधिक बढुवा, सेवा सुविधाको सुनिश्चितता, अन्यायपूर्ण सरुवा रोकथाम, संस्थागत विद्यालयका शिक्षकको पेसागत सुरक्षा, बालकक्षा शिक्षकको पद र सेवा सुविधा, स्वीकृत दरबन्दीमा कार्यरत करार शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धा, सिकाइ अनुदान शिक्षकको कोटा रूपान्तरण, शिक्षण सेवामा प्रवेश उमेर ४० वर्ष कायम गर्ने व्यवस्था, शिक्षण परिषद् गठन लगायतका मुद्दा सम्बोधन नभएको उल्लेख गरेको छ ।
त्यसैगरी विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, प्रधानाध्यापकको ट्रेड युनियन अधिकारमा प्रहार गरिएको, पुनर्बहाली भएका द्वन्द्वपीडित शिक्षकलाई उपदान वा निवृत्तीभरण दिन नसक्ने प्रावधान राखिएको लगायतका विषयसमेत महासंघले आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष निर्मल ढुंगाना र सचिव होमनाथ शर्माले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा प्रतिनिधि सभा र राष्ट्रिय सभाले आवश्यक संशोधन गरेर विधेयकलाई सहमतीअनुसार विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री बनाउन आग्रह गरिएको छ । पत्रमा आन्दोलनका कार्यक्रम सार्वजनिक भइसकेको र हाल प्रचारात्मक चरणमा रहेको उल्लेख गर्दै, माग सम्बोधन नभए दोस्रो चरणमा कडा आन्दोलनमा जाने चेतावनीसमेत दिइएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख ध्रुप्रसाद खरेलले शिक्षा ऐन राष्ट्रिय सरोकार विषय भएको हुनाले देवदह नगरपालिकाले सरोकारवाला सबै पक्षको भावना नयाँ ऐनमा समेटियोस् भन्ने चाहेको बताए ।
ध्यानाकर्षण पत्र नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, शिक्षक महासंघका केन्द्रिय प्रतिनिधि ऋषिश्वर अर्यालसहित शिक्षक महासंघका पदाधिकारी तथा प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology