काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी भएका छन् । सत्ता पक्ष दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानललाई पराजित गर्दै नेकपा माओवादीका उम्मेदवार शेर्पा विजयी भएका हुन । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समेत समर्थन रहेको बुझिएको छ ।
आइतवार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेलले ३४५ मत प्राप्त गरेर विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा मिङमा ग्याबो शेर्पाले ३५९ मत तथा द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३५९ मत प्राप्त गरेर विजयी भएका छन् ।
त्यस्तै महासचिवमा राजेन्द्र लामा ३१८ मत प्राप्त गरेर विजयी भएका छन् भने सचिवमा चन्दन थापा ३५८ मत र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् । मत बराबर भएपछि दुवैले आधा आधा कार्यकाल काम गर्ने सहमति भएको बताइएको छ ।
त्यसैगरी सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology