देवदह । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा उत्कृष्ट बनेको छ । लिजाको आर्थिक बर्ष २०८०/०८१ को नतिजामा तिलोत्तमाले देशभरका स्थानीय तहमा ९७.२५ प्रतिशत अंक सहित उत्कृष्ट स्थान हासिल गरेको हो । तिलोत्तमा आर्थिक बर्ष २०७९/०८० मा देशभरमै दोश्रो बन्न सफल भएको थियो । उक्त बर्षमा तिलोत्तमाले ९७.०० प्रतिशत अंक प्राप्त गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको सूचनामा आर्थिक बर्ष २०८०÷०८१ मा तिलोत्तमा नगरपालिका देशभरबाट उत्कृष्ट ६ नगरमालिकामा पर्न सफल भएको नगर प्रमुख रामकृृष्ण खाडले जानकारी दिए । उनले भने, ‘तिलोत्तमा नगरपालिका यो सहित लगातार दोश्रो बर्ष लिजामा उत्कृष्ट हुन सफल भएको छ । स्थानीय तहले सम्पादन गर्ने कार्य मुल्याङ्गनको आधार बलियो भएकाले नै हामी उत्कृष्ट भएका हौं ।’
आर्थिक बर्ष २०७९/८० मा तिलोत्तमाले देशभरबाट दोश्रो स्थान हासिल गर्न सफल भएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताईन् । उपप्रमुख चौधरीले नतिजाबाट आफु्हरुलाई थप जिम्मेवार र चुनौती थपेको प्रतिकृया दिईन् । उनले भनिन्, ‘आगामी बर्षमा समेत यसलाई यथावत राख्ने र यो भन्दा अझ माथि जानको लागि नतिजाले हामीलाई चुनौति समेत थपेको छ ।’
यसरी उत्कृष्ट बन्दै सम्मानित हुने देशभरकै पहिलो स्थानीय तह चितवनको खैरहनी नगरपालिका बनेको छ । खैरहनीले आर्थिक बर्ष २०८०/०८१ मा ९९.०० प्रतिशत अंक प्राप्त गरेको छ । खैरहनीले आर्थिक बर्ष २०७९/०८० मा ९८.५ प्रतिशत अंक प्राप्त गरेको थियो ।
देशभरकै तथ्याङ्कलाई हेर्दा लिजामा नीलकण्ठ नगरपालिका धादिङ ९८.५ प्रतिशत अंक सहित दोश्रो बनेको छ । मन्त्रालयले छनौट गरेका उत्कृष्ट ६ मध्ये अन्य स्थानीय तहमा धादिङकै बेनीघाट रोराङ गाउँपालिकाले ९८.२५ अंक सहित तेस्रो स्थान हासिल गरेको छ । त्यसैगरी स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले ९८.०० प्रतिशत र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ९७.२५ प्रतिशत अंक प्राप्त गरेका छन् ।
मन्त्रालयले उत्कृष्ट छानौट गरेका स्थानीय तहले लिजामा पाएको नतिजा प्रतिशत हेर्दा लुम्बिनी प्रदेशका नगरपालिका मध्येबाट रुपन्देहीको तिलोत्तमा र गाउँपालिकामा गुल्मीको रुरुक्षेत्रले समान ९७.२५ प्रतिशत अंक प्राप्त गरेका छन् ।
यसैगरी रुपन्देहीको देवदहले आर्थिक बर्ष २०८०/०८१ को लिजामा ९५.२५ प्रतिशत अंक प्राप्त गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को वेभ साइटमा उल्लेखित नतिजा अनुसार देवदहको नतिजा रुपन्देही जिल्लामा उत्कृष्ट मध्ये तेश्रो हो । देवदहले आर्थिक वर्ष २०७९/०८० मा ७४.५ प्रतिशत अंक प्राप्त गरेको थियो । पछिल्लो नतिजामा देवदहले उत्कृष्ट सुधार गरेको देखिएको छ ।
रुपन्देहीका अन्य स्थानीय तहमा बुटवल उप–महानगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा ९६.०० प्रतिशत अंक प्राप्त गरेको छ । उसको आर्थिक बर्ष २०७९/०८० मा ९४.२५ प्रतिशत अंक रहेको थियो । त्यस्तै ओमसतिया गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ मा ७२.५ प्रतिशत र आर्थिक बर्ष २०७९/०८० मा ७१.०० प्रतिशत रहेको थियो ।
१६ वटा स्थानीय तह रहेको रुपन्देही जिल्लाको लिजा नतिजा अनुसार आर्थिक बर्ष २०८०/०८१ मा गैडहवा गाउँपालिकाको ७६.०० प्रतिशत, कञ्चन गाउँपालिकाको ८८.०० प्रतिशत, कोटहीमाई गाउँपालिकाको ६०.०० प्रतिशत, लुम्बिनी साँस्कृतिक नगरपालिकाको ८३.२५ प्रतिशत, मर्चवारी गाउँपालिकाको ७७.५ प्रतिशत र मायादेवी गाउँपालिकाको ८१.७५ प्रतिशत रहेको छ ।
त्यस्तै सैनामैना नगरपालिकाको ८६.७५ प्रतिशत, सम्मरीमाई गाउँपालिकाको ७७.७५ प्रतिशत, सिद्धार्थनगर नगरपालिकाको ९१.७५ प्रतिशत, सियारी गाउँपालिकाको ९३.७५ प्रतिशत र सुद्धोधन गाउँपालिकाको ९०.२५ प्रतिशत अंक रहेको छ । आर्थिक बर्ष २०८०/८१ को लिजा प्रतिशत हेर्दा रोहिणी गाउँपालिकाले सबै भन्दा कम अर्थात ५४.०० प्रतिशत अंक प्राप्त गरेको छ ।
लिजामा छिमेकी जिल्ला नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा ८६.५ प्रतिशत अंक प्राप्त गरेको छ । सुनवलको आर्थिक बर्ष २०७९/०८० मा ८६ प्रतिशत अंक रहेको थियो । त्यसैगरी रामग्राम नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा ६९ प्रतिशत र अघिल्लो आर्थिक बर्षमा ६८ प्रतिशत अंक लिजामा प्राप्त गरेको वेभसाईटमा उल्लेख छ ।
स्थानीय निकाय अन्तर्गतका नगरपालिका र गाउँपालिकाको कार्य प्रकृयाको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने, सुधारका क्षेत्र पहिचान गर्ने आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्धेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा प्रकाशन गर्ने गरिन्छ ।
गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई संघीय सरकारले सम्मान गर्ने जनाएको छ ।
राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको मन्त्रालयले उल्लेख गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology