देवदह । रुपन्देहीको देवदहमा ७५ लाख रुपैंया लागतमा शिश महल निर्माण भएको छ । वि.सं २०२८ सालमा स्थानपना भएको दुर्गा मन्दिर संरक्षण समिति देवदह–७ ले धार्मिक धरोहरहरुको विकास र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ शिशमहल निर्माण गरेको हो ।
मंगलवार मन्दिर परिषरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष सि.पी बस्यालले शिश महल निर्माणसँगै परिषर भित्र देवदह मणिदीप धाम निर्माणको परिकल्पना गरिएको जानकारी दिए । ‘मणिदीप धाम निर्माणको परिकल्पना अन्तरगत नै हामिले बालगोपाल शिश महल निर्माण गरेका हौ ।’ उनले भने, ‘यसले देवदह क्षेत्रको धार्मिक पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेल्ने हामिले विश्वास लिएका छौ ।’
देवदह क्षेत्रको पर्यटन विकाससँगै यस क्षेत्रमा धार्मिक पुर्वाधारको विकास, स्थानीय भक्तजनहरुलाई धार्मिक कृयाकलापमा अग्रसर गराउन, देवदहलाई साँस्कृतिक नगरको रुपमा विकास गर्नुपर्ने अध्यक्ष बस्यालले बताए । त्यसको लागि देवदह नगरपालिकाले धार्मिक पर्यटनको गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने उनको भनाई छ ।
देवदहलाई बुद्धमाता मायादेवी, सानीआमा प्रजापति गौतमी र जीवन संगिनी यशोधराको जन्म स्थलका रुपमा परिचित गराउँदै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देवदहमा रात विताउने विश्रामस्थालका लागि पुर्वाधार निर्माण गर्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।

नवनिर्मित बालगोपाल शिश महलभित्र कृष्णको बाल लिला, बाल गोपीनी लिला, कालिनाग मर्दन र कृष्ण विराट स्वरुप लगायतका कलाहरुलाई सुन्दरताका साथ प्रस्तुत गरिएको छ । शिश महलमा कला भर्नको लागि भारतको दिल्लीबाट ३ जना कालिगड झिकाएर २ महिनासम्म निरन्तर काम गरेको मन्दिरका कोषाध्यक्ष दिनानाथ सापकोटाले जानकारी दिए । शिश महल लुम्निनी प्रदेशमै पहिलो पटक देवदहमा निर्माण भएको समितिको दावि छ । करिव २ हजार वर्गफिटमा सिसाका स–साना टुक्रा जोडेर कालिगडले शिश महलमा कला भरेको कोषाध्यक्ष सापकोटाले बताए ।
२०८१ भाद्र १० गते शिलान्यास भएको शिश महल एक बर्षको अवधिमा निर्माण सम्पन्न भएको हो । जसलाई आगामी साउन ३१ गते शनिवारका दिन श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर उद्घाटन गर्ने समितिले तयारी गरेको छ । शिश महलको ‘श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराज’ले उद्घाटन गर्ने समितिले जनाएको छ ।
उद्घाटनको दिन निशुल्को अवलोकनको व्यवस्था मिलाईएको र भाद्र १ गतेबाट सर्वसाधारणको लागि प्रतिव्यक्ति ५० रुपैंया र विद्यार्थीको लागि ३० रुपैंया टिकटदर कायम गरिएको छ । यसैगरी समुहगत रुपमा अवलोकन गर्न आउनेहरुका लागि ३० जनाको संख्यामा आएमा प्रतिव्यक्ति ३० रुपैंया कायम गरिएको समितिले जनाएको छ ।
शिश महलसँगै मन्दिर परिषरमा अर्जुनरथ, बुद्धविहार, वाटर फाउण्डेसन, रमणीय धार्मिक पार्क, विश्राम स्थल, आकर्षक प्रवेश द्धार लगाएतका संरचनाहरु निर्माण गरिएको छ । निर्माणको लागि मन्दिरको आन्तरिक आम्दानीसँगै दान दक्षिणा, स्थानीय चन्दादाता र सहयोगीहरुबाट संकलित रकम तथा देवदह नगरपालिका लगायत निकायबाट रकम प्राप्त भएको अध्यक्ष बस्यालले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology