देवदह । लायन्स क्लव अफ देवदह पाकरी वृक्षले आठौं स्थापना दिवस मनाएको छ । आइतवार एक समारोहका बिच क्लवले आठौं स्थापना दिवस मनाएको हो ।
स्थापना दिवस कार्यक्रम उद्घाटन गर्दै लायन्स डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले सामुहिक सहकार्य लायन्स क्लवको मुल मन्त्र रहेको बताए । उनले लायन बर्ष २०२५÷०२६ लाई डिष्ट्रिकले ‘खुसी मन, सहयोगी हात’ भन्ने नाराका साथ अघि बढाइरहेको बताउँदै क्लवहरुले गर्ने हरेक कार्यक्रमलाई नारासँग जोडेर लैजान आग्रह गरे ।
उनले लायन्स क्लवले यसबर्ष सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिदैं डिष्ट्रिक अन्तर्गतका क्लवहरुले गर्ने हरेक गतिविधिहरुलाई आफु्ले नियालिरहेको उल्लेख गरे ।
कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिराबहादुर खत्रीले क्लवको नाम पाकरीबृक्ष भएकाले नामकै कारण पनि यसले देवदहको ऐतिहासिकता उजागर गरेको बताए । क्लवले महिलाहरुको क्षमता अभिवृद्धि तथा सामाजिक कार्यमा अग्रसरता देखाएर नेतृत्व क्षमता प्रदर्शन गरेको बताउँदै खत्रीले नेतृत्वमा सेवा भाव बृद्धि गर्न सुझाव दिए ।
उक्त अवसरमा क्लवका पुर्व डिष्ट्रिक गभर्नर सुनिल ओझा, अर्जुनमान सैंजु, ३२५ पि का ग्लोबल एक्सन टिम संयोजक दिपक कुमार श्रेष्ठ, प्याव्सन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरुङ, पाकरीबृक्षका संस्थापक अध्यक्ष मीना गुरुङ लगाएतले बोल्दै क्लवले शिक्षा, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा गरिरहेको कामको प्रशंसा गरे ।
क्लवका अध्यक्ष उषा सुवेदीको अध्यक्षता, प्रथम उपाध्यक्ष विनिता श्रीसको स्वागत र सचिव निशा गुरुङको सञ्चालनमा भएको कार्यक्रममा संस्थापक सदस्यहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । वि.सं. २०७५ सालमा स्थापना भएको क्लवले यस क्षेत्रमा अग्रणी सामाजिक संस्थाको रुपमा काम गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology