देवदह । भविष्य निर्माण माध्यमिक विद्यालयले अविरजात्रा गरेको छ । कक्षा १२ को परिक्षामा देवदहका सामुदायिक विद्यालयमध्ये सर्बोत्कृष्ट भएको दावी गर्दै विद्यालयले बाजागाजासहित अविर जात्रा गरेको हो ।
विद्यालयकी छात्रा सन्देह गोतामेले कक्षा १२ को परिक्षामा ३.९४ जीपीए प्राप्त गरेकी छन् । जुन देवदहका सामुदायिक विद्यालयममा सबैभन्दा बढी हो ।
बुधवार आयोजित अविर जात्रामा देवदह नगरपालिका वडा नं २ का मुख्य सडक र चोकमा पुगेर विद्यालयले खुसियाली साटेको छ । विद्यालयबाट सुरु भएको अविरजात्रा भंगेरावारी, लक्ष्मीटोल, छ नं., देवीस्थान, सूर्यपुरा, गुम्बी लगायतका क्षेत्रमा पुगेको थियो । अविरजात्रामा अभिभावक, विद्यार्थी, शिक्षक तथा स्थानीय गरी ३०० जनाको सहभागीता रहेको विद्यालयका प्राचार्य गोविन्द भुसालले जानकारी दिए ।
अविर जात्रामा वडा नं २ का वडा अध्यक्ष दलबहादुर राकस्कोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापा लगायतको उपस्थिति थियो ।
भविष्य निर्माणले केही महिनाअघि सार्वजनिक विद्यालय शिक्षा परिक्षा (एसइई) मा पनि सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी अंक ल्याएको थियो भने कक्षा ८ को नगरस्तरीय परिक्षामा समेत दोस्रो स्थान हासिल गरेको जनाइएको छ । एसइईमा विद्यालयकी ग्रीष्मा भुसाल ३.९६ जीपीए सहित देवदहका सामुदायिक विद्यालयमा उत्कृष्ट भएकी थिइन् ।
२०४१ सालमा स्थापना भएको विद्यालयमा हाल ७५० जना विद्यार्थी अध्ययनरत रहेको प्राचार्य भुसालले जानकरी दिए । जहाँ ४० जना शिक्षक कर्मचारी कार्यरत छन् ।
विद्यालयले २०७२ सालदेखि अंग्रेजी माध्यममा समेत अध्यापन सुरु गरेको छ । सुरुवाती समयमा कक्षा ५ सम्म र त्यसपछि क्रमश: कक्षा १० सम्म नै अंग्रेजी माध्यममा समेत अध्यापन सुरु गरिएको जनाइएको छ । हाल कक्षा ५ सम्म पूर्ण: अंग्रेजी र कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा विद्यालयमा अध्यापन हुने गरेको छ ।
हालै प्रकाशित कक्षा १२ को नतिजामा ग्रीनप्लान्ट आवासिय माध्यमिक विद्यालयकी छात्रा स्वस्तिका गोतामेले ३.९५ अंक ल्याएकी छन् । उनी देवदह प्रथमसंगै व्यवस्थापन विषयमा देशमै सबैभन्दा बढी जीपीए ल्याउने विद्यार्थी भएको विद्यालयले दावी गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology