देवदह । देवदहका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले पाल्पा जिल्लाका केहि विद्यालयको अवलोकन गर्दै त्यहाँको असल अभ्यासको अध्ययन गरेका छन् । सिकाई आदान-प्रदान अन्तर्गत पाल्पा तानसेनका विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि गरेका प्रयासबारे प्रअहरुले जानकारी लिए ।
सोइया महिला स्वावलम्बी संस्था देवदहले सञ्चालन गरेको ३ बर्षे परियोजना ‘गुणस्तरिय शिक्षाका लागि दिगो सञ्जाल र पैरवी’ कार्यक्रम अन्तर्गत दोश्रो वर्षको कार्यक्रम कार्यन्वयनका लागि योजना निर्माणको क्रममा शुक्रवार र शनिवार पाल्पाका ३ वटा विद्यालय भ्रमण गरे ।
पाल्पाको तानसेनस्थित दमकडा नमुना मावि, जनता विद्यालय र देवबाणी माविका विद्यालय व्यवस्थापन समिति र प्रअहरुले शिक्षा सुधारका लागि आफुहरुले गरेका कामबारे देवदहको टिमलाई अवगत गराए । निकै कमजोर स्थितिबाट माथि उठेका ति विद्यालयका सफलताका कथा वास्तवमै अनुसरण योग्य देखिएको छ ।
पछिल्लो एक दशक यता तानसेनका विद्यालयहरुले गरेका चमत्कारीक परिवर्तन निकै लोभलाग्दो भएपनि विद्यालय सुधारका लागि त्यहाँको व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र समग्र शिक्षक टिमको मेहनत र खटाई चुनौतीपूर्ण लाग्थ्यो । चुनौतीलाई पार गर्दै लक्ष्यमा पुग्नका लागि ति विद्यालयले गरेका प्रयासहरु कुनै चलचित्रका कथा जस्तै छन ।
वि.सं २०६८ सालमा १७ जना विद्यार्थी रहेको तानसेनस्थित देववाणी माविमा अहिले ५ सय बढि विद्यार्थी पढ्छन् । १७ देखि ५ सयको संख्या पुर्याउन विद्यालयका प्रधानाध्यापक कृष्ण थापाको टिमले निकै मेहनत गर्नुपर्यो । आफ्ना अनुभवबारे देवदहको टिमलाई बताउँदै थापाले भने, ‘एउटा समय थियो, बच्चाले दुःख दियो भने पख तँलाई देववाणीमा पठाईदिन्छु भन्यो भने उसले दु:ख दिन छाड्थ्यो । बच्चाले होमवर्क नगर्दा र खाना नखाँदा अभिभावकले देववाणीको नाम लिने अवस्था थियो ।’ शैक्षिक अवस्था जिर्ण बनेको देववाणीलाई हेर्ने दृष्टिकोण यतिसम्म कमजोर थियो कि तानसेनका संस्थागत विद्यालयले कसैलाई सँजाय दिनुपर्यो भने देववाणीको नाम लिने गर्थे ।

विद्यार्थी बढाउन एकबर्ष आफुले दिनरात अनि घामपानी नभनि काम गरेको अनुभव थापाले सुनाए । उनले विद्यालय परिवर्तनका लागि आफुले सबैभन्दा पहिला शिक्षकका छोराछोरी आफैले पढाउने विद्यालयमा भर्ना गर्ने अभियान चलाएको बताए । यो निर्णय गर्दा सुरुमा मसँग मेरै सहकर्मी शिक्षकहरु समेत मन्टो बटारेर हिँड्थे तर अहिले उहाँहरु सहकार्यमा प्रतिवद्ध भएर लाग्नुभएको छ ।
विद्यालयमा विद्यार्थी संख्या बढाउन लागि परेका उनले आफु विद्यालयमा प्रअ भएर आएको पहिलो बर्ष नै १७ जना बाट १०० जना पुर्याउने अठोट लिएको सुनाए । ‘मैले अभिभावक र सरोकारवालासँगको छलफलमा पहिलो बर्ष कम्तिमा १०० विद्यार्थी पुर्याउँछु भनि चुनौति पेस गरेको थिँए, अन्ततः त्यो लक्ष्य पुरा भयो ।’ चुनौतिसँग जुध्न मन पराउने थापा अहिलेपनि १२ घण्टाभन्दा बढि समय विद्यालयकै लागि खर्चिने गरेको बताउँछन् । ‘म शिक्षक भएकोमा गर्व गर्छु, म मेरो पेशाप्रति गौरव गर्छु, राज्यसँग मेरा केहि विमति होलान्, राज्यले गर्नुपर्ने गरेको छैन होला, म शिक्षकको नाताले मेरो हक अधिकारको लागि आन्दोलित पनि छु । तर यो वा त्यो बहानामा मेरो स्वार्थको लागि विद्यालय र विद्यार्थीको भविष्यमा म कहिल्यैपनि खेलवाड गर्दिन ।' उनले भने, म शिक्षण पेशामा खुसी हुन्छु, रमाउँछु र आफुमा इन्जोए पनि गर्दछु ।'
तानसेन नगरपालिकाको व्यस्त बजार क्षेत्रमा रहेको देववाणी जम्मा डेढ रोपनी क्षेत्रफलमा रहेको छ । यसले प्रशस्त क्षेत्रफल र भौतिक संरचना नभएरैपनि शिक्षामा गुणस्तर दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । विभिन्न विद्यालयले शिक्षकलाई तलवको व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेका बेला देववााणीले भने निजि जग्गा लिजमा लिएर विद्यालय चलाईरहेको छ । प्रति महिना विद्यालयले प्रयोग गरेको जग्गा वापत ३० हजार रुपैंया मासिक भाडा तिर्नेगरेको छ । एउटा विद्यालय र त्यहाँका शिक्षकहरुलाई समुदायले विश्वास गर्यो भने विद्यालय परिवर्तन हुन लामो समय लाग्दैन भन्ने एउटा उदाहरण देववाणीलाई लिन सकिन्छ ।
तानसेनकै अर्को विद्यालय दमकडा नमुना मावि हो, जुन विद्यालय २०७४ सालमा नमुना विद्यालयको रुपमा छनोट भएको थियो । पछिल्ला वर्षहरुमा विद्यालयले भौतिक संरचनासँगै शैक्षिक सुधारका लागि धेरै नमुना कामहरु गरेको छ । विद्यालयका अध्यक्ष राजेश अर्याल भन्छन्, 'हामी सबैले छोडेका विद्यार्थी पढाउछौं र ति विद्यार्थीहरुलाई अरु विद्यालयले रोजेर लगेका विद्यार्थीहरुसँग प्रतिष्पर्धी बनाएर निकाल्छौं ।' उनले भने, ‘हामी बुटवलको नजिक छौं, पहिला अभिभावकले बुटवलका नाम चलेका विद्यालयमा इन्ट्रान्सको लागि लैजानुहुन्छ, त्यहाँ फेल भएपछि दोस्रो विकल्पमा हामीसंग आउनुहुन्छ, हामी त्यस्ता विद्यार्थीलाई सहजै भर्ना लिन्छौं र अव्वल बनाएर निकाल्छौं ।’
तानसेन ९ का वडा अध्यक्ष र पूर्व रेडियोकर्मी समेत रहेका अर्यालले दमकडा शैक्षिक संस्था मात्र नभएर एउटा शैक्षिक अभियान भएको दावी गर्छन् । उनी भन्छन्, 'शैक्षिक संस्था राम्रो बनाउन पहिला समुदाय राम्रो हुनुपर्छ, अनुशासित र शिष्ट समुदायका शैक्षिक संस्था स्वतः राम्रा हुन्छन् ।'

आफ्नो शैक्षिक संस्थालाई स्वास्थ्य चौकीभन्दा राम्रो, खेल मैदानभन्दा उत्कृष्ट, रेडियो-टेलिभिजन भन्दा राम्रो वातावरण बनाउनले गरि काम गरिरहेको बताउँछन् । दमकडामा विद्यार्थी करियर गाईडिङ्गको लागि छुट्टै कक्ष निर्माण गरिएको छ । जहाँबाट विद्यार्थीको रुची अनुसार ५ वटा विषयमा विद्यार्थीहरुलाई करियर गाइडेन्स फोकल शिक्षक धनपती गैरेले सहजिकरण गर्नेगर्छन् । गैरेले देवदहका शिक्षकको टिमसँग भने, ‘मैले उनीहरुको चाहना र रुची औंल्याइदिने गर्छु, अन्य काम विद्यार्थी आँफैले गर्नेगर्छन् । हामीसँग यो कक्षबाट काउन्सेलिङ गरेका ननग्रेडिङ्ग स्टुडेन्टले पनि ग्रेड बृद्धि गर्दै गएका थुप्रै उदाहरण छन् । विद्यालयको उक्त कक्षमा कृषि, होटल म्यानेजमेन्ट, इन्जिनियरिङ्ग, स्वास्थ्य लगायत विषयसँग सम्बन्धित सामग्रिहरु राखिएको छ ।
विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले देवदहका प्रअ टिमलाई स्वागत गर्दै भौगोलिक हिसावले पनि तराईमा शिक्षा सुधारका लागि धेरै गर्न सकिने अवसरहरु रहेको बताए । भौगोलिक रुपमा दमकडालाई केहि कठिनताहरु रहेको सुनाउँदै त्यसलाई सहि व्यवस्थापन सहित आफुहरुले विद्यालयमा स्थापना गरेको विज्ञान प्रयोगशाला, ई-लाईब्रेरी, लाइब्रेरी, आईटि कक्ष, रेडियो टेलिभिजनको जस्तै चिटिक्क परेको स्कुल स्टुडियो, शिक्षक बैठक कक्ष, प्रअ र व्यवस्थापन कक्ष, चमेना गृह लगायत अवलोकन गराए ।
अवलोकनको क्रममा पूर्व प्रार्थमिक कक्षामा पुग्दैगर्दा त्यहाँ मुस्किलले १२ जना विद्यार्थी देखिए । ३-४ बर्ष उमेर समुहका जस्ता देखिने ति विद्यार्थी किन थोरै भए भन्ने जिज्ञासामा उनले भने, 'हामीले पूर्व प्राथमिक तहलाई हाम्रो विद्यालय शिक्षाको जग ठानेर त्यसमा विशेष ध्यान दिने गर्छौं । साना कक्षालाई सेक्सनमा विभाजन गरेर थोरै विद्यार्थी राखेर पढाउने गरिएको छ । जसबाट शिक्षकले हरेक विद्यार्थीसँग व्यक्तिगत समय धेरै विताउन सकोस र उ शिक्षकको निकै नजिक रहेर सिक्न सकोस भन्ने हो ।'
शुक्रवार करिव २ बजे देवदहको टिम दमकडा माविमा पुग्दा विद्यालयमा पढाई सूचारु थियो । शुक्रवार पनि पुरै पिरियड अध्ययन अध्यापन हुने दमकडाको अर्को असल अभ्यास थियो ।
दमकडामा कक्षा ९ मा अध्ययनरत १३ बर्षकी विद्यार्थी ओजस्वी आचार्यको ओजपूर्ण शव्दसहितको स्वागतले फरकपन दिलायो । ओजस्वीले आफु सिक्दै गरेकी सानी बालिका भएपनि आफ्नो सिकाइमा परिवार र विद्यालयले अहम भुमिका खेलेको बताईन् । गैर आवासीय नेपाली संघ (एन आर एन)को सद्भावना दुत समेत रहेकी ओजस्वीले विद्यालयले प्रदान गर्ने स-साना अवसरहरुलाई उपयोग गरेर आफ्नो प्रतिभा तिखार्न सफल भएको अनुभव सुनाईन् । पढाईमा समेत अव्वल रहेकी ओजस्वी उनको उत्कृष्ट वाककलाका कारण सामाजिक सञ्जाल र विश्वका विभिन्न कार्यक्रमहरुमा समेत रोजाइको पात्र बन्न सफल छिन् । ओजस्वीका बुवा आमासमेत दमकडा नमुना माविका शिक्षक हुन् । अहिले दमकडामा करिव १ हजार विद्यार्थीले अध्ययन गरिरहेका छन । जहाँ फरक क्षमता भएका विद्यार्थीसमेत अध्ययन गर्छन् । आर्थिक पाटोलाई व्यवस्थित गर्न दमकडाले छुट्टै चार्टर एकाउन्टेनको व्यवस्थासमेत गरेको छ ।
विद्यालयमा सरोकारवालाले देखाउने लगाव र त्यसबाट प्राप्त उत्कृष्ट परिणाम दिन सफल अर्को स्कुल जनता माध्यमिक विद्यालय तानसेन हो । विद्यालयका प्रअ हरि घिमिरेका अनुसार विद्यालय सञ्चालनका लागि अभिभावकका घरघरमा पुगि अन्न संकलन गरेको इतिहास जनतासँग छ ।
विद्यालयको उत्कृष्ट शैक्षिक वातावरणका कारण जनतामा विद्यार्थी अभाव कहिल्यै भएन । हाल १३ सय विद्यार्थी अध्ययन गरिरहेको जनताले २०११ सालबाट एसएलसिमा सहभागिता जनाएको थियो ।

राणाकालमा राजनीति गर्ने विद्यालयको आरोप लागेर पटकपटक निसानामा परेको विद्यालयलाई अग्रजहरुले जोगाएर आफुहरुलाई सुम्पेकाले त्यो विरासत गुम्न नदिन पनि आफुहरु शैक्षिक गुणस्तर वृद्धि अभियानमा लागेको प्रअ घिमिरेले बताए । उनले भने, 'हामीलाई इतिहासले ठुलो जिम्मेवारी सुम्पिएको छ । हामी दृढताका साथ भन्न सक्छौं, अभिभावकले दोस्रो रोजाईको रुपमा जनतालाई हेर्ने दिन हामीले आउन दिने छैनौं ।'
सोइया महिला स्वावलम्वन संस्थाका व्यवस्थापक मेनुका न्यौपाने, गुणस्तरिय शिक्षा परियोजना निर्देशक प्रकाश भुर्तेल, बद्रिनाथ शर्मा लगायतको सहजिकरण र देवदह नगरपालिकाको सहकार्यमा गरिएको तानसेनका विद्यालयको अनुगमन र अन्तरक्रियाले देवदहको सामुदायिक विद्यालय शिक्षालाई फरक ढंगबाट कसरी अगाडि बढाउन सकिन्छ भन्ने मार्ग प्रदान गरेको छ ।
कार्यक्रममा सहभागि महामाया भवानी मावि देवदहका प्रअ ऋषिश्वर अर्यालले तानसेनका विद्यालयले विद्यालय गुणस्तर सुधारका लागि गरेका कामहरु प्रशंसनिय रहेको बताए । 'हामीले पनि उहाँहरुले गरेका मध्ये धेरै काम गरेका छौं, तर कामहरु व्यवस्थित नभएका कारण पनि प्रतिफल नदेखिएको हुन सक्छ ।' उनले भने, 'यो अनुगमन र अन्तरक्रियाले हामीलाई थप आइडिया र हौसला प्रदान गरेको छ । अब यसलाई व्यवहारमा उतार्नुपर्छ ।'
त्यस्तै केरवानी नमुना माध्यमिक विद्यालय देवदहका प्रअ निर्मल ढुङ्गानाले दलगत राजनीति र व्यक्तिगत आग्रह पूर्वाग्रहबाट शैक्षिक संस्थाहरुलाई अलग राख्न सकियो भने परिवर्तनको लागि लामो समय नलाग्ने उदाहरण तानसेनका विद्यालयहरु भएको बताए । नमुना विद्यालयको रुपमा रहेको केरवानीले पनि विद्यालयलाई समुदायसँग नजिक राखेर गतिविधिहरु सञ्चालन गरिरहेको बताउँदै प्रअ ढुङ्गानाले यसको नतिजा आगामी एक दुई बर्षमै देखिने उल्लेख गरे ।
कार्यक्रममा देवदह नगरपालिकाका शिक्षा शाखा अधिकृत परशुराम ढकालले देवदहमा पछिल्ला वर्षका परिक्षाको नतिजाले शिक्षा सुधारको संकेत गरिरहेको बताए । राज्यले सामुदायिक विद्यालयमा लगानी गर्न हिच्कीचाउन नहुने भन्दै उनले तानसेनका सामुदायिक विद्यालयबाट देवदहले धेरैकुरा सिक्ने अवसर मिलेको बताए । हामीले एसइई परिक्षाको नतिजा सुधारका लागि कक्षा ८ को परिक्षामा अपनाईएको फरक प्रयोगका कारण २०८१ को एसईईमा देवदहको नतिजा लुम्बिनी प्रदेशमै उत्कृष्ट रहेको भन्दै सिकाई आदान प्रदानले असल अभ्यासलाई व्यवहारमा उतार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
देवदहमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रअहरुलाई एकठाउँमा जुटाएर सिकाई आदानप्रदान गर्ने वातारण सृजना गरेको सोइयाले देवदहका सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि परियोजना मार्फत शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने प्रयत्न गरिरहेको छ । देवदहका ३० वटा सामुदायिक विद्यलयमा गुणस्तरिय शिक्षाका लागि काम गरिरहेको संस्थाले परियोजनाबाट सन्चालित सम्पूर्ण कार्यक्रमहरुको प्रभावकारी कार्यन्वयन र योजना निर्माणका लागि कार्यक्रम आयोजना आयोजना गरेको हो ।

सोइयाले देवदहका सबै सामुदायिक विद्यालयका शिक्षकलाइ एकपटक तालिम प्रदान गरिसकेको जनाएको छ । जसबाट प्रत्येक विद्यालयमा मेन्टर शिक्षक छनोट गरिएको र उनीहरुलाई समेत थप तालिम प्रदान गरिसकेको व्यवस्थापक न्यौपानेले बताइन् । विद्यालयको भौतिक पाटो स्थानिय सरकारसंग भएपनी हामिले देवदहको गुणस्तरिय शिक्षाका लागि परियोजना मार्फत काम गरिरहेका छौं । जसमा प्रअहरुको भुमिका अमुल्य रहने भएकाले यो कार्यक्रम गरिएको हो ।
यसैगरि परियोजनामै रहेर विद्यार्थीहरुको घरको वातावरण सुधारका लागि अभिभावकहरुसंग समेत अन्तरक्रिया लगायतका कार्यक्रमहरु गर्ने व्यवस्थापक न्यौपानेले जानकारी दिइन । परियोजनाले शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघसंग पनि बैठक र अन्तरकृयामार्फत शिक्षाका समस्या समाधानका लागि पहल गर्ने लक्ष्य राखेको छ । त्यस्तै स्थानीय निकाय र सरोकारवालाहरुलाई एकैठाउँमा राखेर अन्तरक्रिया गर्ने, मेन्टर शिक्षकहरुले आ आफ्नो स्कुलमा तालिम र प्रशिक्षण सञ्चालन गर्ने लगाएतका कार्यक्रमहरु परियोजनामा उल्लेख छन् ।
देवदहका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि परियोजना उपयोगि बनोस । यो परियोजनालाई विद्यार्थीले आफ्नै परियोजना ठान्न सकुन्, शिक्षकले यसबाट सिकेका विषयलाई शैक्षिक सामग्रिको रुपमा प्रयोग गरुन्, अभिभावक, स्थानीय निकाय र सरोकारवालाहरुले यस परियोजनाको मर्म अनुसार शैक्षिक वातावारण निर्माणमा भुमिका खेल्न सकुन् । परियोजनाले संचालन गरेका अन्तरक्रिया, तालिम, भ्रमण आदिले सकारात्मक नतिजा निकालोस, हात्ती आयो, हात्ती आयो फुस्स नहोस ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology