देवदह । देवदह जेसीजले अवचेतन मस्तिष्क, त्यसको शक्ति र प्रयोगबारे देवदहका सात वटा शैक्षिक संस्थामा प्रशिक्षण सम्पन्न गरेको छ ।
जनप्रिय माध्यमिक विद्यालयबाट सुरु भएको अभियान स्वर्णिम सगरमाथा कलेजमा पुगेर समापन गरिएको देवदह जेसीजका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।
बिहिवार स्वर्णिम सगरमाथा कलेजका विद्यार्थीको लागि आयोजित प्रशिक्षण कार्यक्रमको औपचारिक समारोहमा बोल्दै देवदह नगरपालिकाका पुर्व नगरप्रमुख हिरा बहादुर खत्रीले सकारात्मक सोच नै सफलताको कडी भएको बताए । अरुको रिस वा इर्ष्या गर्ने काम गलत भएको उल्लेख गर्दै कलेजका अध्यक्ष समेत रहेका खत्रीले अफ्ठेरो परिस्थितिमा पनि हिम्मत हार्न नहुने बताए ।
कार्यक्रममा देवदह जेसीजका अध्यक्ष दीपक अधिकारीले अर्धचेतन मस्तिष्कको शक्तिबारे प्रशिक्षण दिएका थिए ।
पाठक फुडल्याण्डको सभाहलमा संचालित प्रशिक्षणमा कक्षा ११ र १२ मा अध्ययनरत १७९ जना विद्यार्थी सहभागी रहेको जनाइएको छ ।

कार्यक्रममा कलेजका सह-प्राचार्य प्रदीप अधिकारी, देवदह जेसीजका पुर्व अध्यक्ष सुरेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सप्ताहव्यापी प्रशिक्षण अन्तरगत जेसीजले जनप्रिय मावि, देवदह आदर्श बहुमुखी क्याम्पस, देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय, केरवानी माध्यमिक विद्यालय, ग्रीनप्लान्ट आवासीय माध्यमिक विद्यालयमा यस अघि नै प्रशिक्षण दिएको थियो ।
जेसीज सप्ताह अन्तरगतको प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा समापन भएको तर कुनै विद्यालयले अनुरोध गरेको अवस्थामा महिनामा एउटा प्रशिक्षण दिन देवदह जेसीज तयार रहेको अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।
एकहप्ताको बीचमा देवदहका सात वटा शैक्षिक संस्थामा अध्ययनरत ५०० बढी विद्यार्थीलाई प्रशिक्षित गरिएको जेसीजले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology