काठमाडौं । नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले सोमबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । खुसी र तनाव देखाइएको पोस्टरमा चलचित्रका मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकारलाई देख्न सकिन्छ । पोस्टरमा किरणबाहेक सबै कलाकार तनावमा देखिन्छन् । कारण के हो त्यो भने खुलाइएको छैन ।
सँगै एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालमा प्रहरी अधिकृतले बयान लिइरहेका छन् । अर्का एक प्रहरी जवान सुरक्षाका लागि छेउमा उभिएका छन । यो पोस्टरको उद्देश्य कलाकारको लुक्स र थोरै कथाबारे हिन्स दिनु रहेको छ ।
अर्को पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा देखिएका छन । मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू प्रशन्न मुद्रामा छन् । निकै खुसी झल्किएको दुवैको चेहरा र लक्ष्मीको गेटअपले उनीहरू नवविवाहित जोडी जस्तो देखिन्छन । यी दुई पोस्टरले क्यारेक्टर लुक्स, क्यारेक्टर र सम्बन्धलाई थोरै खुलाउँदै सस्पेन्स क्रिएट गर्न खोजेको देखिन्छ । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्डवाइज रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।
पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन । जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology