देवदह रूपन्देही जिल्लाको एक ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको ठाउँ हो । जुन ठाउँ स्थानीयको लागि मात्र होइन, सम्पूर्ण विश्वको लागि एउटा गौरवको केन्द्र बन्न सक्ने आधार बोकेर बसेको छ । कोलिय गणराज्यको राजधानी, र गौतम बुद्धकी आमाको जन्मस्थलको रुपमा चिनिने देवदहमा आज पनि शान्तिको सुषुप्त सन्देश छ। यति समृद्ध ऐतिहासिक पृष्ठभूमि हुँदाहुँदै पनि यहाँको पर्यटकीय विकास भने अपेक्षाकृत रूपमा हुन सकेको छैन ।
देवदह बुद्धकालीन सभ्यता र संस्कृतिको एक अद्वितीय क्षेत्र हो । यहाँका विभिन्न पुरातात्त्विक स्थलहरू, बुद्धकी आमाको माइतघर, प्रजापति गौतमी र यशोधराको जन्मस्थान, सिद्धार्थका नातेदारहरूको वासस्थान, पुराना पोखरी( देवदह) र स्तूपहरूले यो क्षेत्रलाई विश्वस्तरीय गन्तव्य बनाउने पर्याप्त आधार राख्दछ । साथै, कोलिय राजवंशको इतिहास र जीवनशैलीका बारेमा जानकारी दिने संग्रहालय, अनुसन्धान केन्द्र, धार्मिक पदयात्रा मार्गहरू निर्माण गर्न सकिएमा, देवदह नेपालकै मात्र होइन, दक्षिण एशियाकै एक प्रमुख पर्यटन गन्तव्य बन्न सक्छ । यी सम्पदाहरूको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन सक्ने हो भने, देवदहले लुम्बिनीपछि दोस्रो प्रमुख बौद्ध धार्मिक गन्तव्य बन्ने सामर्थ्य राख्दछ ।
तर देवदह क्षेत्रको विकास र प्रवर्द्धनमा खट्किएको सबैभन्दा ठुलो समस्या भनेको राजनैतिक दलहरुमा सामुहिक सोचको संकट हो । देवदहको विकासका लागि आवश्यक मार्गचित्र कोर्न सकिएको छैन । यहाँका स्थानीय राजनीतिक दलहरू र सरोकारवालाबीच एकता र इच्छाशक्तिको ठूलो अभाव देखिन्छ। 'म मात्रै अगाडि बढ्नुपर्छ' भन्ने संकुचित सोच र एक अर्कालाई श्रेय नदिने प्रवृत्तिले विकासको गति रोकिएको छ ।
देवदहको समृद्धिको लागि चाहिएको मुख्य कुरा भनेको, साझा भावना, सामूहिक प्रतिबद्धता र दीर्घकालीन सोच हो । तर यहि सोच र भावनाको यहाँ अभाव छ । कुनैपनि ऐतिहासिक गन्तव्यको पहिचान कायम गर्न केवल सम्पदा मात्रै भएर पुग्दैन, त्यसका लागि संरचना, प्रवर्द्धन र कुशल नेतृत्व चाहिन्छ । तर यहाँ, कोलिय राज्यको ऐतिहासिक महत्त्वलाई समयअनुसार आधुनिक रुपमा प्रस्तुत गर्नेतर्फ समुचित चासो देखिँदैन । स्थानीय तहका जनप्रतिनिधिहरुमा दृष्टिकोणको अभाव छ । यहाँ कृयाशिल राजनीतिक दलका नेतृत्वले ती जनप्रतिनिधिलाई सुझाव, सल्लाह र आवश्यक परे दवाव दिन सक्दैनन । किनकी जनप्रतिनिधिलाई खुशी पारेर आफुले चाहेको बजेट र योजना पार्न उनीहरुले त्यस्तो जोखिम मोल्न चाहदैनन् ।
जनप्रतिनिधिहरूले राजनीति भन्दा माथि उठेर ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता छ । उनीहरुमा अध्ययन गर्ने, छलफल गर्ने र सुझाव तथा आलोचनालाई ग्रहण गर्ने क्षमताको विकास हुन जरुरी छ । त्यस्तै गरि स्थानिय जनतालाई देवदहको ऐतिहासिक महत्वबारे शिक्षित बनाउनु पर्दछ, ताकि उनीहरूले आफैं संरक्षणको पहल गर्न सकुन्, त्यसका लागि अभियान चलाउन सामर्थ्य राखुन।सरकारले निजी क्षेत्र, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय सहयोगीहरूसँग सहकार्य गरेर देवदहको पर्यटन खाका तयार गर्न सक्छ । त्यसका लागि प्रदेश सरकार र संघिय सरकारलाई घच्घचाउनु पर्दछ । त्यसको अगुवाई गर्ने जिम्मेवारी स्थानीय सरकारको हो ।
आजको युग प्रविधिको युग हो । देवदहको इतिहास, पुरातात्त्विक सामग्री, कथा र सम्भावनाहरूलाई डिजिटल माध्यमबाट विश्वभर फैलाउनु आजको अपरिहार्यता हो । त्यसका लागि स्थानीय सरकारले अगुवाई गर्नु पर्दछ । एउटा प्रविधि केन्द्र स्थापना गरि त्यो काम थालिनु पर्दछ ।
देवदह इतिहासको स्मृति मात्र नभई भविष्यको प्रचुर सम्भावना भएको ऐतिहासिक ठाउँ हो । बुद्धकालीन इतिहासको गर्भमा रहेको यो भूमि, सही ढंगले चिनिन र चिनाउन सकियो भने, यहाँ देशभित्र र बाहिरबाट लाखौं लाख पर्यटक भित्र्याउन सकिन्छ । जसबाट प्रत्यक्ष र परोक्ष गरि हजारौँ रोजगारीको सिर्जना हुन सक्छ, । नेपालमा मात्रै नभएर विश्वमै देवदह एउटा उत्कृष्ट पर्यटन केन्द्रको रुपमा विकास हुन सक्छ । तर, त्यसका लागि राजनीतिक इच्छाशक्ति, सामूहिक दृष्टिकोण र दीर्घकालीन सोचको खाचो छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology