काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आंशिक रूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ ।
यो ६ शताब्दीयताकै सबैभन्दा लामो अवधिसम्मको चन्द्र ग्रहण हो । पछिल्लो पाँच सय ८० वर्षमा पहिलो पटक यति लामो खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ ।
यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्चबिन्दुमा पुग्नेछ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुका ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।
खगोलविद्का अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology