दाङ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङले क्याम्पस प्रशासनले गर्ने निर्णयहरुमा आफुहरुलाई सहभागी नगराएको जनाएको छ । स्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनका पछिल्ला गतिविधिहरुले स्वतन्त्र विद्यार्थी युनियनसँग कुनै पनि समन्वय नगरी एकलौटी रुपमा क्याम्पसले आफ्ना निर्णय गरेको जनाएको हो ।
'हामीले पटक पटक अपिल गर्दा पनि क्याम्पस प्रशासनले एकलौटी निर्णय गरेर काम अगाडि बढाएको देखिन्छ', विज्ञप्तिमा भनिएको छ, 'यस्ता कार्यहरु रोक्न अपिल गर्दै, स्ववियुलाई जानकारी नगराई विद्यार्थी सरोकारका विषयमा निर्णय नगर्न र गरिएका निर्णहरु फिर्ता लिन अनुरोध गर्दछौं ।'
साथै विभिन्न १२ वटा माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनमा सोमवार ज्ञापन पत्र समेत बुझाएको छ । क्याम्पसमा विद्यार्थीको उपस्थित विना कुनै पनि निर्णय गर्न नमिल्ने र २०८१ चैत्र ५ गतेपछि गरेका सबै निर्णयहरु २ दिनभित्र सार्वजनिक गर्न ज्ञापनपत्र मार्फत माग गरेको छ । विद्यार्थी र स्ववियुको सहभागिता विना गरिएका निर्णयहरु तत्काल खारेज गर्न भनेको छ, भने निर्णय प्रक्रियामा आफुहरुलाई सहभागी नगराए स्ववियु आफ्नै तरिकाबाट चल्ने चेतावनी समेत दिएको छ ।
विद्यार्थीका सहजताका लागि साउन १ गतेकाट डिजिटल (क्युआर)बाट भुक्तानी गर्ने व्यवस्था गर्न माग गर्नुका साथै विषयगत शिक्षकले विषयभन्दा बाहिरका विषयमा अध्यापन नगराउन आग्रह गरेको छ । अवदेखि कुनै पनि शिक्षकले विषयभन्दा बाहिर गएर अध्यापन गराए आफुहरुलाई स्विकार्य नहुने र आन्दोलनमा उत्रिन बाध्य हुने जनाएको छ ।
शिक्षकहरु नियमित उपस्थित नहुँदा पठनपाठनमा अन्यौलता देखिएको भन्दै डिजिटल हाजिरीको व्यवस्था गर्न भनेको छ । विभिन्न संकायमा तोकिएको प्रयोगात्मक पाठ्यक्रमहरु मपदण्डअनुसार अनिवार्य रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । प्रशासनका कर्मचारीहरु शाखामा उपस्थित नुहँदा विद्यार्थी अन्योलमा परेकाले उक्त समस्याको तत्काल समाधान गर्न आग्रह गरेको छ । भने, कर्मचारीले आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप समेत विज्ञप्तिमा जनाएको छ ।
क्याम्पसभित्रका विद्यार्थीका लागि महत्वपुर्ण हुने सूचना विद्यार्थीहरुका लागि नपुगेको भन्दै सूचना अधिकारीको व्यवस्था गर्न माग गरेको छ । प्रशासनिक कामहरु फरक फरक ठाउँबाट हुँदा झन्झटिलो भएको र त्यसलाई एकै ठाउँमा कार्यसम्पादन गर्नको लागि माग गरेको छ । विद्युत आपुर्ति अनियमित हुँदा विहानी कक्षाका विद्यार्थीहरुलाई अध्ययनमा समस्या भएकाले सोलार अथवा जेनेटरको व्यवस्था गर्न माग गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology