देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ शैक्षिक सत्रको प्रारम्भमा विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, अनुशासन र भावी अध्ययनको मार्गदर्शन दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले विद्यार्थीहरूलाई सकारात्मक सोचको विकास गर्न आग्रह गरे । ‘हामीले सकारात्मक सोच र उर्जासहित गरेको काम सफल हुन्छ,’ प्रवक्ता डुम्रेले भने, ‘आफ्नो र परिवारको सपना पुरा गर्न विद्यार्थीहरूले अध्ययन र सृजनशील काममा ध्यान दिनुपर्छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीले बुद्ध पब्लिक विद्यालयले देवदहको शैक्षिक विकासमा उल्लेखनीय योगदान दिएको बताए । विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले शैक्षिक गुणस्तरका दृष्टिले बुद्ध पब्लिक उत्कृष्ट रहेको जिकिर गर्दै विद्यार्थीहरूको आचारसंहिता बारे प्रष्ट पारे ।
कार्यक्रममा बोल्दै प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ, नगर शिक्षा समिति सदस्य चक्रपाणी तिवारी, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल लगायतले देवदहका सामुदायिक र निजी विद्यालयहरूको शैक्षिक अवस्था क्रमशः सुधार हुँदै गएको बताए । गुणस्तरीय शिक्षाको खोजी गर्ने विद्यार्थीहरूका लागि देवदह उपयुक्त गन्तव्य रहेको उनीहरुको भनाइ छ ।
कार्यक्रममा विद्यालयका कक्षा ११-१२ इञ्चार्ज अनन्तराम भण्डारी, शिक्षक ढुण्डीराज मरासिनी लगायतले बोलेका थिए ।
नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन गर्दै आएको देवदह बुद्ध पब्लिकमा १ हजार ८ सय बढी विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology