देवदह । युगजोति मावि देवदहले २०८१ सालको एसईई परिक्षामा सफल बिद्यार्थिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । देवदहमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट नतिजा हासिल गर्ने ४२ जना विद्यार्थी र विद्यार्थी सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने शिक्षकहरुलाई सम्मान गरेको छ ।
कुल ४७ विद्यार्थी एसईईमा सहभागि गराएको युगज्योतिले परिक्षामा ८९.३६ प्रतिशत बिद्यार्थि उत्तीर्ण बनाउन सफल भएको थियो । जसमा विद्यार्थी ग्रिस पुनले ३.८७ जिपिए प्राप्त गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक यमलाल अर्यालले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराए ।
प्रअ अर्यालले युगज्योतिको सम्पूर्ण टिम उर्जाशिल र डाईनामिक रहेको उल्लेख गर्दै नतिजाले आफुहरुलाई थप चुनौति थपिदिएको बताए । उनले भने, ‘अब हामीले यो नतिजालाई घट्न दिनु भएन, हामीले हाम्रो शाख जोगाउने हो भने थप मेहनत गरेर जानुपर्ने हुन्छ । त्यसको लागि सम्पूर्ण शिक्षकको टिम तत्पर रहेको छ ।’
कार्यक्रममा प्रअ अर्यालले विद्यालयले यसबर्ष ३.६ जिपिएभन्दा भन्दा माथि ५ जना, ३.२ भन्दा माथि १४ जना उत्तिर्ण गराउन सफल भएको र अन्य २३ जना विद्यार्थीले समेत उत्कृष्ट अंक प्राप्त गरेर एसईई उत्तिर्ण भएको जानकारी दिए ।
सो अवसरमा सत प्रतिशत नतिजा प्राप्त गर्ने अनिवार्य बिज्ञान, अनिवार्य गणित, अनिवार्य अङ्ग्रेजी, अनिवार्य नेपाली, अनिवार्य सामाजिक र ऐच्छिक गणित विषयका शिक्षकहरुलाई नगद एक हजार सहित सम्मान पत्रद्धारा सम्मानित गरियो । यसैगरी अन्य विषयमा ७५ प्रतिशत भन्दा माथि नतिजा ल्याउने शिक्षकहरुलाइ समेत नगद ५ सय र सम्मान पत्रले सम्मानित गरियो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले देवदहलाई शिक्षाको हवको रुपका विकास गर्नका लागि यहाँका विद्यालयले खेलेको भुमिकाको सरहाना गरिन् । ‘नगरपालिका शिक्षाको विकासको लागि हरपल तत्पर छ, हामीले के गर्नुपर्छ हजुरहरुले सुझाव दिनुहोस् ।’ उनले भनिन्, ‘नगरपालिकाले शिक्षा सुधारको प्रयास स्वरुप कक्षा ८ को परिक्षा प्रणालीमा गरेको सुधारको नतिजा एसईई २०८१ हो । त्यसमा हामी सवैले गर्व गर्नुपर्छ ।’
कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, नगर शिक्षा प्रमुख लोकराज पन्थी, वडा नं ६ का अध्यक्ष खेमबहादुर थापा, आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, नगर शिक्षा समिति सदस्य मित्रलाल न्यौपाने, केरवानी मावि देवदहका प्र.अ. निर्मल ढुंगाना, सोईया महिला स्वावलम्बन संस्थाका प्रवन्धक मेनुका न्यौपाने, आदर्श बहुमुखुखी क्याम्पसका प्रमुख जयकिशन अधिकारी, शिक्षक होमनाथ शर्मा, दिद्यालयका सल्लाहकार राजन अधिकारी लगाएतले बोलेका थिए ।
उनीहरुले २०८१ को एसईई नतिजाबाट देवदहलाई शैक्षिक गन्तव्यको रुपमा परिचित गराएको उल्लेख गर्दै शिक्षामा थप लगानी आवश्यक रहेको बताए । त्यसका लागि स्थानीय निकायले थप चासो लिने र शिक्षक, अभिभावक तथा शिक्षाप्रेमी बिच सहकार्य भएमा शिक्षाको जग थप मजबुत हुनेमा उनीहरुको जोड छ । बक्ताहरुले यसपटकको नतिजाले सामुदायिक विद्यालयहरु कमजोर हुन्छन् भन्ने भाष्य परिवर्तन गरिदिएको समेत उल्लेख गरे ।
सहायक प्रअ हरिप्रसाद भण्डारीको स्वागत र शिक्षक शिला मल्लको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतिहरु समेत पस्केका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology